देउवा पाँचौंपटक प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सर्वोच्चको सो आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी हुन् ।

योपटकसँगै देउवा पाँचौंपटक प्रधानमन्त्री हुने नेता भएका छन् । यसपटक भने उनी विपक्षी गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन् । उनी यसअघि २६ भदौ २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

यसैगरी, ७ साउन २०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए भने २० जेठ २०६१ मा उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि चौंथोपटक २३ जेठ २०७४ मा प्रधानमन्त्री बनेका देउवालाई पाँचौंपटक प्रधानमन्त्री बन्ने अवसर जुटेको हो ।

संविधानको धारा ७६ (५) अनुसार शपथ

देउवाले प्रधानमन्त्री नियुक्त भएसँगै सानो आकारको चुस्त मन्त्रिमण्डलसमेत बनाएका छन् । मन्त्रिपरिषद्मा सत्ता साझेदार दल माओवादी केन्द्रबाट र आफ्नो दलबाट उनले तत्काल दुई÷दुई मन्त्री बनाएका हुन् ।

गृह र कानुन कांग्रेस तथा अर्थ र ऊर्जा माओवादी केन्द्रले लिनेगरी शीर्ष तहमा भएको सहमतिअनुसार देउवाले हाल कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएका हुन् । यसैगरी, माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुषाललाई देउवाले ल्याएका छन् ।

देउवाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटको साटो पूरक बजेट ल्याउनेमा भन्दा निर्वाचनमा नै जाने मनसायसहित गृह र कानुन मन्त्रालय आफूसँग राखेको उनीनिकट नेताहरू बताउँछन् ।

‘अहिले देउवाजीको प्राथमिकता फरक छ, एमालेले ल्याएको बजेटको सट्टा पूरक बजेट ल्याउने सोच छैन, मन्त्रालयको सुरुवाती बाँडफाँडले पनि त्यही देखाउँछ, सरकार चुनाव केन्द्रित छ,’ प्रधानमन्त्री देउवा निकट कांग्रेसका एक नेताले भने ।

देउवाले मन्त्रिमण्डलमा ल्याएका खाँण पूर्वरक्षामन्त्रीसमेत हुन् । उनी तरुण दलका पूर्वअध्यक्षसमेत हुन् । उनको नेतृत्वका तरुणदल अनुशासित र बलियो संगठनका रूपमा स्थापित भएको थियो । गृहमन्त्रीमा देउवाले ल्याएका खाँण हक्की स्वभावका कांग्रेस नेता हुन् । उनलाई गृह मन्त्रालयको नेतृत्व दिनुमा लामो समय कम्युनिस्ट धारमा हिँडेको गृह प्रशासनलाई सुधार्ने पनि देउवाको लक्ष्य हो ।

यसैगरी, कानुनमन्त्रीमा ल्याइएका कार्की पूर्वअर्थमन्त्री हुन् । उनलाई कानुनी मन्त्रालयमा ल्याएर निर्वाचनका विषयलाई समेत कानुनी रूपमा सहज बनाउने लक्ष्य देउवाको रहेको बताइन्छ ।

यसैगरी, अर्थमन्त्रीमा आएका शर्मा पूर्वगृहमन्त्री पनि हुन् । उनलाई ल्याएर शक्ति सन्तुलनमा पनि माओवादी नेतृत्वसँगको सम्बन्ध देउवाले दह्रो बनाउने खोजेका छन् ।

यसैगरी ऊर्जामन्त्री भुषालसमेत सरकार सञ्चालनमा अनुभवी मानिन्छन् । उनलाई पहिलोपटकमा नै मन्त्रीमा ल्याउँदा महिला सहभागितामा पनि देउवाले अर्थपूर्ण सन्देश दिएका छन् ।

देउवाले आगामी मन्त्रिपरिषद् विस्तार गर्दा पनि सशक्त पात्र रोज्न चाहेका छन् । त्यसका लागि उनले पार्टीभित्र र गठबन्धनमा छलफल गरेर योग्य र दाग नलागेका अनुहार ल्याउन चाहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी