विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप आयातलाई प्राथमिकता दिइनेछ भन्ने सबैको अपेक्षा भए पनि त्यसलाई सरकारले उच्च प्राथमिकतामा राख्न सकेको छैन । जनताले जीविकोपार्जनका समस्या आफंैले समाधान गरिरहेका छन् । तर, महामारी नियन्त्रण भने उनीहरूको काबुभित्र छैन । त्यसैले, पनि महामारी नियन्त्रणका लागि आमनागरिकले सरकारको सहयोगको अपेक्षा गरिरहेका छन् । अहिले जनतालाई विकासभन्दा पनि कोरोनाविरुद्धको भ्याक्सिन चाहिएको छ । मानिसको सबैभन्दा ठूलो चाहना भनेकै आफ्नो जीवनको रक्षा हो । त्यसैले यतिबेला कोरोनाविरुद्ध भ्याक्सिन लगाएर जीवनलाई सुुरक्षित बनाउने आमनागरिकको मुख्य चाहना हो ।
पहिलो कुरा त महामारी आफैंमा विश्वव्यापी र आक्रामक छ । दोस्रो कुरा यसको नियन्त्रणका लागि आवश्यक खोपको मात्रा अझैं पनि अभाव छ । कोरोना महामारीले दर्जनौं डरलाग्दा भेरियन्ट विकास गर्दै नयाँनयाँ लहरमा मानवमाथि आक्रमण गर्दै अगाडि बढे पनि यसको नियन्त्रणका लागि बनाइने खोप धिमा गतिमै रह्यो । महामारीविरुद्धको खोप निर्माण भए पनि विश्व स्वास्थ्य व्यापारका कारण गरिब देशका लागि पहुँचभन्दा बाहिर रहन गयो । यसले विश्व जनस्वास्थ्य संकटमा पार्दै लग्यो । व्यापारिक प्रतिस्पर्धाका बाबजुद खोप निर्माता विकसित देशहरूले अनुदान सहयोगको हात भने अघि बढाउन छोडेनन् । त्यसैले पनि अविकसित देशहरूले सहयोग पाउने क्रम जारी नै रह्यो । नेपालले पनि विश्वका विभिन्न देशबाट खोप सहयोग प्राप्त गर्दै आयो ।
अनुदान सहयोग प्राप्त गर्ने क्रममा विशेषगरी चीन, भारतबाट नेपालले खोप सहयोग पायो । यसलाई जनस्तरमा पनि लगियो । प्राथमिकता क्रम तोकेर खोप दिइने कार्य अभियानका रूपमा अगाडि बढाइयो । तर, महामारीले परिवर्तन गरेको स्वरूपअनुसार सबै जनतालाई खोप दिनुपर्ने आवश्यकता बढेर गएको छ । यस्तो अवस्थामा देशमा रहेको जनसंख्याको आधारमा खोपको उपलब्धता अत्यावश्यक छ । तर, देशमा पटकैपटक सरकार परिवर्तन हुँदै गए पनि जनस्वास्थ्यको विषय भने प्राथमिकतामा पर्न सकेन । यो विडम्बनाको कुरो हो । अन्य देशहरूमा सरकार परिवर्तन हुनासाथ जनताको स्वास्थ्य प्राथमिकतामा पारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आउनेबित्तिकै आमजनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने र सबै जनताले अटेरी नगरीकन खोप लिनुपर्ने कुरा प्राथमिकतामा राखेका थिए । हाल नेपालमा कोरोना महामारीको दोस्रो लहरपछि सम्भावित तेस्रो लहर आउने सक्ने हल्ला चल्दै गर्दा देउवा नेतृत्वको सरकार निर्माण हुन पुगे पनि सरकारले जनस्वास्थ्यलाई सोचेअनुसार उच्च प्राथमिकतामा राख्न सकेको छैन । यसले जनतालाई चिन्तित बनाएको छ । अन्य काम अघिल्लो सरकारले गरेकालाई निरन्तरता दिए पनि महामारीविरुद्धको खोप मगाएर जनस्वास्थ्यलाई प्राथमिकता दिन सक्नुपर्छ । छिटोभन्दा छिटो सबै नागरिकलाई खोप लगाउने गरी दु्रत गतिमा काम अघि बढ्नुपर्छ ।
अब नयाँ सरकारले आफ्ना प्राथमिकताका काम सार्वजनिक गर्दै जनस्वास्थ्यको कुरालाई प्राथमिकताका साथ अग्रस्थानमा राख्न सक्नुपर्छ । आवश्यक खोप पनि भित्री नसकेको र अनुदान खोप पनि आइनसकेको अवस्थामा जनस्वास्थ्यको विषय बढी गम्भीर हुन गएको छ । त्यो गम्भीरतालाई महसुस गरी अनुदान खोप तथा खरिद गरी ल्याउन सकिने खोपको विषयलाई प्राथमिकतामा राखी सरकारले तत्काल पहल गरोस् । यसैमा देश, जनता र सरकारको भलो देखिन्छ ।






