‘तत्काल निर्वाचन समिति गठन गरियोस्’

काठमाडौं । नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि निर्वाचन समिति तत्काल गठन गर्न संघर्ष समितिले नेपाल सरकारसमक्ष माग गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । विगत एक दशकदेखि नेपाल स्काउटको केन्द्रदेखि तल्लो तहसम्म निर्वाचविहीन समिति रहेकाले तत्काल निर्वाचन समिति गठन गरेर केन्द्रदेखि तल्लो तहसम्म समिति निर्माण गर्नुपर्ने संघर्ष समितिको माग छ ।

नेपाल स्काउटको तदर्थ समिति गठन भएको २८ महिना बितिसक्दा पनि अहिलेसम्म उक्त समितिले निर्वाचन नगरी मनोमानी ढंगले स्काउटलाई चलाएको संघर्ष समितिको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक पुण्यराम गोथेले स्काउटमा गैरस्काउटको हाबी भएको भन्दै तत्काल निर्वाचनमार्फत समिति गठन गर्नुपर्नेमा जोड दिए । उनले स्काउटभित्र विकृति तथा विसंगति मौलाएको भन्दै अहिले कायम रहेको तसर्थ समिति विघटन गर्नका लागि सरकारसमक्ष माग गरेका छन् ।

कार्यक्रममा संघर्ष समितिका सदस्य तरुणरञ्जन दक्तले अहिले रहेको तदर्थ समिति नै अवैधानिक भएको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरे । उनले भने, ‘यो तदर्थ समितिले पाएको म्यान्डेटअनुसार काम गर्न सकेन । निर्वाचन गरेर नयाँ नेतृत्व ल्याउनका लागि गठित तदर्थ समितिले २८ महिना व्यतित गर्दा पनि अहिलेसम्म निर्वाचन गर्न सकेको छैन । यो आफंैमा अवैधानिक समिति हो ।’ दक्तले स्काउटमा तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले सातवटै प्रदेशमा रहेको प्रदेश स्काउट तदर्थ समितिमा पनि नेकपा (एमाले)का नेतालाई प्रदेश संयोजक बनाएको दाबी गरे । उनका अनुसार यसरी भण्डारीले प्रदेश संयोजक बनाएका प्रदेश १ का रवि खनाल, प्रदेश २ का सरोजकुमार यादव, बाग्मती प्रदेशका केशरत्न बज्राचार्य, गण्डकी प्रदेशका आर्शीवाद सुवेदी, लुम्बिनीका दिनानाथ भट्टराई, कर्णालीका कमल बोहरा र सुदूरपश्चिमका नरेन्द्र थापा रहेका छन् ।

त्यस्तै, पत्रकार सम्मेलनमा संघर्ष समितिका सदस्य राजिव खत्रीले अहिले विद्यमान पाँच तहको राष्ट्रिय तदर्थ समितिमा भौगोलिकता र क्षेत्रियतालाई लिएर सदस्य होच्याउने, अन्य सदस्यको अभिमतको कदर नगरी तानाशाही तवरले एकल निर्णय गराउने व्यवहार देखाइएको आरोप लगाए ।

उनले भने, ‘स्काउटको तदर्थ समितिका संयोजकको एकल निर्णय गर्दा आज स्काउट बदनाम भएको छ । र, दिनप्रतिदिन खस्किँदो छ । यसबाट पनि मुक्ति दिलाउन सरकारले तत्काल निर्वाचन समिति गठन गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ ।’ उनले समितिले जारी गरेको विज्ञप्ति वाचन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वमा प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार