स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा विकासे अड्डाका उजुरीको चाङ् बढ्न थालेको छ । आर्थिक अपचलनदेखि कमजोर विकास निर्माण विरुद्ध उजुरी दर्ता भएपनि अहिले सम्म कारर्वाही भएको भने देखिएको छैन ।
आयोगको पोखरा स्थित कार्यालयमा आर्थिक बर्ष २०७७/०७८ मा ९ सय ३२ उजुरी दर्ता भएका छन् । ति मध्ये अहिलेसम्म आयोगले ५ सय उजुरी फछ्र्यौट भएको जनाएको छ । गण्डकी प्रदेशस्तरीय आयोगमा पुर्वी नवलपुर जिल्ला बाहेक १० जिल्लाबाट परेको उजुरीमा सबै भन्दा बढी संघिय मामिला अन्तर्गतका रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघराज रिजालले आयोगमा दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी स्थानीयतहको रहेको जानकारी दिए । उनका अनुसार संघ, प्रदेश र स्थानीयतहका सबै भन्दा बढी कास्की जिल्लाका उजुरी दर्ता भएका छन् ।
आयोगको पोखरा स्थित कार्यालयमा कास्कीका ४११, तनहुँका १०७, स्याङ्जाका १०२, गोरखाका ५३, पर्वतका ७२, लमजुङ्का ५७, बागलुङ्का ६८, मुस्ताङ्का ६, मनाङ्का ७ र म्याग्दीका ४९ गरी ९३२ उजुरी गएको आर्थिक बर्षमा दर्ता भएका थिए ।
उजुरी मध्ये संघिय सरकारका २९५, प्रदेश सरकारका १४७ र स्थानीयतहका ४९१ उजुरी दर्ता भएका छन् । तहगत हेर्दा संघिय ३३, प्रदेश २१ र स्थानीयतहको ४६ प्रतिशत उजुरी देखिएको छ । गएका आर्थिक बर्षको तुलानात्मक हेर्दा प्रवृत्तिगत रुपमा संघिय निकायका भन्दा स्थानीयतहका उजुरी उच्च रहेको पोखरा स्थित आयोगका सुचना अधिकारी रिजालले बताए । ‘कतिपय उजुरी दुःख दिनका लागि हालेको पनि भेटिएको छ’ सुचना अधिकारी रिजालले भने, ‘त्यस्ता उजुरीलाई तामेलीमा राखेर अनुसनधान गरेका छौं ।¦ फछ्र्यौट भएका मध्ये ३० ओटा उजुरी मुद्धा चलाउने अवस्थामा रहेको उनको भनाई छ । ‘७० उजुरीलाई सुझाव, ८६ सम्वन्धित निकायलाई अनुसन्धानको जिम्मेवारी र ७६ उजुरीलाई गृहले हेर्नेगरी पठाएका छौं ।’ उनले भने । तीन तहको सरकार बनेसगै स्थानीयतहमा सबै भन्दा बढी उजुरी दर्ता हुनु रिसिवी पनि भएको हुनसक्ने अनुमान अख्तियारको छ । प्रदेशको उजुरीमा कमी आएपनि अब शुरु हुने आर्थिक बर्षमा उजुरी बढ्न सक्ने अनुमान आयोगले गरेको छ ।
दुई आर्थिक बर्ष २०७६/०७७ मा ८४२ उजुरी परेकोमा ४१५ फछ्र्यौट अथवा ४९.२९ प्रतिशत र २०७७/०७८ मा ९३२ उजुरी परेकोमा ५ सय फछ्यौट अथवा ५३.६२ प्रतिशत फछ्र्यौट भएका छन् । तुलनात्मक अवस्थामा गएको आर्थिक बर्षमा ४ प्रतिशत उजुरी बढी फछ्र्यौट भएको देखिएको छ । उजुरी फछ्र्यौट भएको तथ्याङ्क सार्वजनिक गरेपनि अहिले सम्म परेका उजुरीहरुमा कारर्वाही भएको भने सार्वजनिक भएको छैन । उजुरी माथी कारवाही भएको खबर बाहिर नल्याउदा उजुरी पर्नेको चाङ् अझै बढ्ने तर अख्तियारप्रतिको विश्वास घट्ने देखिन्छ । अख्तियारमा उजुरी परेको खबर बाहिर आउछ तर कुनै उजुरीको न कारवाहि न सफाईको सार्वजनिक नहुँदा अन्योलता छाएको सर्वसाधरणहरु बताउछन् ।






