स्रजल र प्रिजाको जोडी ती आँखा गायन प्रतियोगितामा उत्कृष्ट

काठमाडौं । ती आँखामा…गीतको कोभर गायन प्रतिस्पर्धामा स्रजल महर्जन र प्रिजा मिश्राको जोडी प्रथम भएको छ । प्रतियोगितामा सहभागी १७३ जोडीमा यो जोडी उत्कृष्ट भएको हो ।

केही समय अघि दिवंगत भएका बरिष्ठ गायक संगीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुपमा एशियन म्यूजिक प्रा.लि.द्धारा प्रधानको यो गीतको कोभर गायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको परिणाम बिहिबार बेलुका सार्वजनिक गरिएको हो । दिवँगत गायक प्रधान र गायिका केन्जुमा सुब्बाको स्वरमा ६ वर्ष अघि रिलिज भएको यो गीतमा जुगल डँगोलको संगीत र डब्बु क्षत्रीको शब्द रहेको थियो ।

बिजेता महर्जन र मिश्रले पुरस्कार स्वरुप युगल स्वरमा एउटा गीत रेकर्ड गर्न पाउने भएका छन् । उनीहरुको त्यो गीतको भिडियो पनि आयोजक संस्थाले निर्माण गर्ने भएको छ ।

यसैगरी सुमित श्रेष्ठ र युनिशा शेर्पा देशारको जोडी यो प्रतियोगितामा द्धितीय भएका छन् । आयोजक कम्पनीको तर्फबाट रेकर्ड द्धितीय जोडीले पुरस्कार स्वरुप युगल स्वरमा एउटा गीत गर्न पाउने भएका छन् ।

यो प्रतियोगिताका बिजेता र उत्कृष्ट ११ पर्न सफल प्रतिस्पर्धीलाई चाँडै काठमाडौंमा एक समारोह आयोजना गरेर प्रमाणपत्र प्रदान गरिने भएको छ । बिजेताहरुको स्वरमा गीत पनि चाँडै रेकर्ड गरिने भएको छ ।

यो प्रतियोगिताको फाईनलका लागि ११ जोडी गायक गायिका चयन भएका थिए । उनीहरु मध्येबाट निर्णायकको अँकको आधारमा महर्जन र मिश्रको जोडी प्रथम भएको आयोजक संस्था एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले बताएका छन् । प्रेमध्वज प्रधानको सम्झनामा यो गायन प्रतियोगिता आयोजना गरिएको हो ।

यो गीतका गीतकार डब्बु क्षत्री, संगीतकार जुगल डंगोल र गायिका केन्जुमा सुब्बा यो प्रतियोगिताको निर्णायकमा रहेका थिए । यही तीन जनाको टोलीले प्रतियोगिताको बिजेता चयन गरेको हो । अन्तिम प्रतिस्पर्धामा चयन भएका उत्कृष्ट ११ जोडी मध्यबाट बिजेतालाई आफूहरुले छानेको निर्णायक डब्बु क्षत्रीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका