एथलेटिक्स परिवार गठन

काठमाडौं । नेपाली एथलेटिक्स खेलको विकास र विस्तारमा निरन्तर सहयोग पु¥याउने उद्देश्यका साथ एथलेटिक्स परिवारको गठन भएको छ । साउनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको एथलेटिक्स परिवार नेपालले मंगलबार आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमसमेत घोषणा गरेको छ ।

तदर्थ समितिका अध्यक्ष राजन खत्रीले यस आर्थिक वर्षका लागि चार खेलकुद प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखिएको र विस्तारै प्रतियोगिताबाहेक अन्य गतिविधि पनि अगाडि बढाउँदै लैजाने बताए । एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यू–१६÷यू–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता–२०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौडलाई वार्षिक क्यालेन्डरमा समावेश गरेको छ । झिल्टुङसँग एथलेटिक्स परिवारको सहकार्य रहनेछ । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवारले जनाएको छ ।

एथलेटिक्स परिवारका अध्यक्ष खत्रीले नेपाल एथलेटिक्सका अध्यक्षलगायत पदाधिकारीलाई खबर गरे पनि उनीहरू के कारणले नआएको बुझ्न नसकिएको बताए । ‘एथलेटिक्स परिवारमा गुट, उपगुट र राजनीति केही पनि हुँदैन । यहाँ नेपाली एथलेटिक्सका लामो समय योगदान दिएका पूर्वखेलाडीलगायतका टोली छन् । हाम्रो लक्ष्य नेपाली एथलेटिक्सलाई माथि उठाउने नै हो ।’ अध्यक्ष खत्रीले पत्रकार सम्मेलनमा भने, ‘हामी एथलेटिक्स संघसँगको प्रतिद्वन्द्वीका रूपमा आएका होइनौं ।

संघले गर्न नसकेको कामलाई हामीले हाम्रो योजनामा राखेका छौं । यस कार्यका लागि हामीलाई संघले बधाई दिनुपर्दछ । विगतमा विभिन्न प्रतियोगिता आयोजना गरेको अनुभव भएकाले प्रतियोगिता गर्न गाह्रो हुने छैन ।’ मंगलबार मात्रै एथलेटिक्स परिवारको सल्लाहकारमा नियुक्त भएका सुशील नरसिंह राणाले एथलेटिक्स परिवार ड्यासमा बस्ने समूह मात्रै नभई यो एथलेटिक्सलाई माया गर्ने संगठन बनेको र यसले एथलेटिक्समा सञ्जीबिनीको काम गर्ने बताएका छन् ।

सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय तदर्थ समितिको नामवली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रञ्जित, सचिवमा मञ्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सीताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् । सल्लाहकारमा मोहन नेपाल, सुशीलनरसिंह राणा, सुनिल राजवंशी र सञ्जिव तुलाधरलाई मंगलबारै चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली