थकाली समुदाय शोकमा

पोखरा । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उनको योगदान थियो । नेपालमै पहिलोपल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा उनको प्रत्यक्ष–अप्रत्यक्ष योगदान रहेको थियो । २०११ सालमै स्थापना भएको थकाली सेवा समितिमा हाल ३ सय ८० सदस्य आबद्ध छन् ।

थकाली समितिका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं थकाली समिति पोखराको निवर्तमान अध्यक्ष विश्वमोहन गौचन शेरचनको निधनले सिंगो थकाली समुदाय मर्माहत भएको बताउँछन् । राष्ट्रले नै समाजप्रति समर्पित, समाजसेवी, मिहिनेती, कर्मठ र इमानदार व्यक्ति गुमाएको उनको भनाइ छ ।

‘पछिल्लो समय प्रतिनिधिसभा सदस्य बनेर उहाँले जनताप्रति निष्ठाको भावसहित सदा समाजसेवामा समर्पित हुनुभयो, पथप्रदर्शकका रूपमा हुनुहुन्थ्यो । धेरै संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो,’ गौचन स्मरण गर्छन्, ‘आफ्नै लगानी खन्याएर भए पनि उहाँले जन्माएका राजधानी पत्रिका र अनलाइन सधैं अग्रपंक्तिमा रहे ।’

मानिसको अल्पायुमै ज्यान जानेगरी डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रणमा नेताहरू कुर्सीको लडाइँ छोडेर यसमा लाग्नुपर्ने उनको सुझाव छ । नातामा आफू फुपाजु रहेको बताउने गौचनले यस्तो प्रकारको अप्रिय घटना कसैलाई पनि नपरोस् भनी सदीक्षा व्यक्त गरेका छन् ।

थकाली सेवा समिति क्षेत्रीय कार्यालय पोखराका सचिव इ. रुजिन्द्र तुलाचनले थकालीको एक सदस्यको नाताले एक अग्रज व्यक्ति गुमाएको स्मरण गर्छन् । ‘उहाँले अल्पसंख्यक व्यक्तिको अगुवाइ गर्नुभएको थियो । बागलुङजस्तो विकट ठाउँबाट पनि आफ्नो पहिचान देखाउनुभएको थियो ।

समाजका निम्ति उहाँको एकदमै खाँचो थियो,’ समितिका प्रवक्तासमेत रहेका इ. तुलाचन शोक व्यक्त गर्दै भन्छन्, ‘थकाली सेवा समिति स्व. शेरचनको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी महागुरु नरिझिव र चार इस्ट देवतासँग प्रार्थना गर्दछौं ।’ नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली उनलाई निकै राम्रोसँग मिडियाको महत्व बुझेको व्यक्तिका रूपमा स्मरण गर्छन् ।

उनी भन्छन्, ‘मानिसले विल्कुलै मिडियाको महत्व नबुझेको अवस्थामा पनि उहाँले मिडिया क्षेत्रमा लगानी गर्नुभएको र जुन सञ्चारउद्यमीका रूपमा हाइट हासिल गर्नुभएको थियो, त्यो सबैको लागि स्मरणीय हुनेछ ।’ विगतमा तत्कालीन राजा वीरेन्द्रको वंशनास हुँदा राजधानी दैनिकले जनतालाई जुन रूपमा सुसूचित गर्ने काम ग¥यो, त्यो सधैंका लागि उदाहरणीय रहने ज्ञवाली बताउँछन् ।

नेपालमा ठूलो आर्थिक संकटमा पनि उहाँले कुनै पनि निहित स्वार्थ नराखी आफ्नै पैसा लगानी गरी निरन्तर पत्रिका सञ्चालन गर्नुभएको कुरा जगजाहेर छ । उहाँको जीवनकालमा कुनै पनि गलत सोच राखी लबिङ गरेको घटना बाहिर सुन्नुपरेन । यो कुरा नेपाली पत्रकारिताले कहिल्यै भुल्नुहुँदैन ।

उहाँको निधनले सिंगो पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । सबैभन्दा बढी क्षति राजधानी न्युज पब्लिकेसनमा परेको हुँदा विरासत धान्न उहाँको सन्तान अघि सर्नुपर्छ, उनको सुझाव छ । थकाली महिला परिवारको पूर्वसचिव एवं थकाली सेवा समितिका पूर्वसचिव आत्मा तुलाचनले अध्यक्ष शेरचनको निधनप्रति आफू विक्षिप्त बनेको बताइन् ।

नातामा भिनाजु पर्नुपर्ने शेरचनको निधनले सिंगो थकाली परिवारमा शोक परेको उनको भनाइ छ । उनी भन्छिन्, ‘भिनाजु (महेन्द्र शेरचन) निकै मिलनसार, असल र समाजसेवी हुनुहुन्थ्यो । उहाँको योगदानको सधैं स्मरणीय हुनेछ ।’ यसैगरी, पोखरामा लामो समयदेखि बसोबास गर्दै आएका ७३ वर्षीय इन्द्रप्रसाद गौचन आफूले असल मित्र गुमाएको बताउँछन् ।

मुस्ताङ कोवाङका इन्द्र १६ वर्षको उमेरदेखि पोखरा बसिरहेका छन् । उनका अनुसार पोखरामा हाल करिब ३ सय घरधुरी थकाली समुदायको बसोबास छ । ४ चन (गौचन, तुलाचन, शेरचन र भट्टचन)कै प्रतिनिधित्व गर्ने थकाली सेवा समिति अलावा तीनगाउँले थकाली समाज, मार्फाली थकाली समाजलगायत संस्था थकाली समुदायको हकहितमा लागिपरेका छन् ।

महेन्द्र शेरचनको जन्म बागलुङमा भएको हो । मुस्ताङ थातथालो रहेको थकाली समुदायको विशेषगरी बसोबास, बागलुङ, म्याग्दी, पोखरा, बुटवल, भैरहवा, नेपालगन्ज, बागलुङ, काठमाडौं, चितवनलगायतमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक