काठमाडौँ । चिनी उद्योगीले उखु किसानको व्याज सहित बाँकी रकम तत्काल भुक्तानी नगरे संघर्षमा उत्रने किसान संगठनले चेतावनी दिएको छ । आइतबार किसान संगठनले संयुक्त प्रेस वक्तव्य निकाल्दै सो चेतावनी दिएका हुन् । अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान युनियन अखिल र नेपाल प्रगतिशील किसान संघले संयुक्त प्रेस वक्तव्य निकालेका छन् ।
संयुक्त प्रेस वक्तव्यमा भनिएको छ ‘केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनु पर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन ।’ नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ भन्दै पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ ‘वर्तमान सरकारले ओली सरकारले जस्तै बेइमानी नगरी उखु किसानहरूले चिनीमिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा सरकारको तर्फबाट प्रदान गरिनु पर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँ ।’
यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिए उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने संघले जनाएको छ ।






