चक्रपथ सुधारमा सरकारको थप चासो

काठमाडौं । सरकारले चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहिल धोबीखोलासम्मको सडक विस्तारमा थप चासो देखाएको छ । सो सडकखण्डमा अहिले साइट खाली गराउने काम धमाधम भइरहेको छ । सरकारले काममा गति दिलाउने उद्देश्यले काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गरेको छ ।

गत १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो पदावधि सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा चक्रपथ विस्तारको कामलाई तीव्रता दिएको बताएका थिए ।

मन्त्री नेम्वाङले चक्रपथ विस्तारका लागि साइट खाली गराउने काम तीव्र रूपमा अघि बढेको बताएका थिए । राज्यमन्त्री मानन्धरले आधुनिक सहरको सौन्दर्य झल्कने गरी अकासे पुल, अन्डरपास बनाउने विषयमा छलफल भइरहेको बताएका थिए । त्यस क्षेत्रमा अहिलेसम्म सडक विस्तारका लागि २ हजार बढी रूख कटान भएको छ । कलंकीदेखि नयाँ बसपार्कसम्म बिजुलीको पोल हटाउने काम सम्पन्न भएको छ भने बाँकी भागमा तार भूमिगत गर्ने काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ । चक्रपथ सुधार आयोजना प्रमुख अमृतमणि रिमालले वैशाखसम्म साइट खाली गर्ने गरी काम तीव्र रूपमा भइरहेको बताए ।

राज्यमन्त्री मानन्धरले चक्रपथ विस्तारका क्रममा महाराजगन्ज क्षेत्रमा करिब ४० वटा घर अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको जनाएका छन् । साइट खाली गर्ने क्रममा स्वयम्भूको चैत्य भत्काउनुपर्ने भएको छ ।

सीतापाइलास्थित नेपाली सेनाको ब्यारेकको पर्खालसमेत सार्नुपर्नेछ । ३१ मिटर आवश्यक पर्नेमा २५ मिटरमा हाल पर्खाल रहेकाले ६ मिटर सार्नुपर्ने भएको हो । त्यसका लागि नेपाली सेनाले अहिले हालको पर्खालको भित्रपट्टि पर्खाल निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ ।

कोटेश्वर–कलंकी सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीबाट महाराजगन्जसम्मको सडक विस्तार गर्न लागेको हो । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स