सहाराको रोमाञ्चक जित

पोखरा । आयोजक सहारा क्लब पोखरा ‘ए’ डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि रोमाञ्चक जित निकाल्दै बिहीबारदेखि सुरु भएको १८औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको सहाराले अतिरिक्त समयमा बीबीसीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । खेलको २६औं मिनेटमै १० खेलाडीमा सीमित बनेको सहाराले अतिरिक्त समयमा जित निकालेको हो । सहाराको जितमा त्रिदेव गुरुङले दुई तथा अलरिच सिवेले १ गोल गरे । बीबीसीका राजेश परियार र विजय गुरुङले गोल गरे । बीबीसीले खेलमा दुईपटक अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन पुगेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा त्रिदेव गुरुङले गोल गर्दै घरेलु टोलीलाई अन्तिम आठमा स्थान दिलाए । खेलको २६औं मिनेटमा सहारा १० खेलाडीमा समेटिएको थियो । सहाराका जीवन रायमाझी दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । तर, त्यसको फाइदा बीबीसीले उठाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५८ मिनेटमा राजेश परियारले गोल गर्दै बीबीसीलाई अग्रता दिलाए । ६२औं मिनेटमा सहाराका अलरिच सिवेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै ६३औं मिनेटमा विजय गुरुङले गोल गर्दै बीबीसीलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । दुई गोल गरेका त्रिदेव खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा शुक्रबार नेपाल एपीएफ क्लब र झापा–११ फुटबल क्लबबीच प्रतिपर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य सुरक्षावारे सकारात्मक संकेत