बागलुङ । बागलुङका अधिकांस स्वास्थ्य चौकीमा प्रसुती कक्ष स्थापना गरिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य चौकीमा दक्ष जनशक्तिसहित ‘बर्थिङ सेन्टर’ सञ्चालन गरिएको हो । जिल्लाको ५७ वटा स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना गरिएको छ ।
गाउँ गाउँका स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना भए पछि घर हुने सुत्केरीको संख्याकमी हुँदै गएको छ । नेपाल सरकारले तयार गरेको मापदण्ड पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा प्रसुती गृह संचालन गरिएको हो ।
आफ्नै गाउँ ठाउँको स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना हुँदा गर्भवती नियमित गर्भ परीक्षणको लागि आउनुका साथै संस्थागत सुत्केरीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिए ।
उनका अनुसार बागलुङ नगरपालिकामा छ, काठेखोला गाउँपालिकामा सात, ताराखोला गाउँपालिकामा चार, तमानखोला गाउँपालिकामा तीन, ढोरपाटन नगरपालिकामा पाँच, निसीखोला गाउँपालिकामा पाँच, बडिगाड गाउँपालिकामा आठ, गलकोट नगरपालिकामा छ, बरेङ गाउँपालिकामा तीन र जैमिनी नगरपालिकामा आठ वटा प्रसुती गृह स्थापना गरिएको छ ।
नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुरा गरी सम्बन्धित स्थानीय तहले प्रसुती गृह संचालन गर्न पाउँछन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पछि भौगोलिक कठिनाईन तथा सहज स्वास्थ्यको पहुँचमा नभए, आफ्नै वडामा भएको स्वास्थ्य संस्था पनि पायक नपर्ने व्यवहारिक कठिनाइलाई ध्यानमा राखेर स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी प्रसुती गृहसमेत संचालन गरेका छन् ।
स्वास्थ्य चौकीमा नेपाल सरकारले जनशक्ति व्यवस्थापन गरे पछि सामुदायिक स्वास्थ्य इकाईमा सम्बन्धीत स्थानीय तहले जनशत्तिmको व्यवस्थापन गर्दै आएका छन् । प्रसुती गृह संचालन गर्न एनम र स्टार्फ नर्स गरी दुई जना प्राविधिक जनशक्ति र एक जना सहयोगी कर्मचारी हुनुपर्छ ।
जिल्लामा ५८ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य चौकी ४१ वटा सामुदायिक तथा सहरी स्वास्थ्य केन्द्र छन् । स्वास्थ्य चौकीमा भएका प्रसुती गृहले सामान्य प्रकृतिको प्रसुती सेवा दिन्छन् । अप्रेसन गर्नुपर्ने बिरामी प्राथमिक स्वास्थ्य केन्द्र वा धौलागिरि अस्पतालमा रिफर हुन्छन् ।






