भगवान् श्रीकृष्णको महिमा र गीता

भगवान् श्रीकृष्ण यो जगत्को उत्पत्ति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णलाई सबैले वन्दना गर्नुपर्छ, मान्नुपर्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।

करिब ५२ सय वर्षअघि भाद्रकृष्ण अष्टमी बुधबारका दिन रोहिणी नक्षत्रमा उत्तर भारतको शुरसेन नामक देशको राजधानी मथुराको झ्यालखानामा राति १२ बजेको समयमा वासुदेवका श्रीमती देवकीको गर्भबाट परमेश्वरका पूर्ण अंश लिएर श्रीकृष्ण अवतारका रूपमा अवतरण हुनुभएको हो ।

शास्त्रमा श्रीकृष्णका तीनवटा स्वरूपको वर्णन गरिएको देखिन्छ । त्यो हो सत्, चित्त, आनन्द । सत्को अर्थ भूत, भविष्य र वर्तमान तिनै कालमा निरन्तर रूपमा रहेको अविनाशी नित्य हो । त्यस्तै, चित्तको अर्थ चैतन्यस्वरूप सम्पूर्ण पदार्थको ज्ञान हो । जड वस्तुमा सत् मात्र हुन्छ तर चित्त आनन्द हुँदैन । जीवमा भने सत्, चित्त र आनन्द तीनवटै तत्व प्रकट हुन सक्छ तर परमानन्द भने प्रत्यक्ष रूपमा प्रकट नभए पनि अप्रकट रूपमा रहिरहेको हुन्छ । अझ भनूँ अव्यक्त रूपमा रहिरहेको हुन्छ । परमानन्द भनेको आफ्नै आत्मामा नै हुन्छ तर मानिसले आनन्द खोज्न बाहिर बाहिर दौडिरहन्छ अर्थात् भोग, विलास र धनसम्पतिमा आनन्द खोजिरहन्छ तर सफल हुँदैन ।

आनन्द भनेको दुईथरी छन्ः एउटा साधनाजन्य आनन्द, साधनाजन्य आनन्द भनेको पद, मान, प्रतिष्ठा, प्रशस्त धन, सम्पति, सुन्दरी पत्नी, पुत्रादिबाट प्राप्त हुने आनन्द हो । वास्तवमा यो आनन्द क्षणिक हुन्छ । पछिसम्म सही रहँदैन । अन्त्यमा यस्तो आनन्द दुःखदायी नै हुन्छ । दोस्रो आनन्द भनेको स्वयंसिद्ध आनन्द हो । स्वयंसिद्ध आनन्द भनेको आफ्नो आत्मामा स्वतः प्राप्त हुने आनन्द हो । यो जगत्मा भोग, विलास, तृष्णा, त्याग गरेर सन्तोषी भएर भगवत् प्राप्तिको मार्गमा गएर भगवान्तर्फ नै आशक्ति भएमा मात्र यो आनन्द प्राप्त गर्न सकिन्छ । यसैबाट मात्र लोककल्याण हुने हो ।

‘कृष्णस्तु भगवान् स्वयं’ भनी शास्त्रमा वर्णन गरिएअनुसार सच्चिदानन्द परब्रह्म परमात्मा सर्वेश्वर भगवान्को श्रीकृष्ण अवतार नै अन्य अवतारमध्ये परिपूर्ण अवतार मानिएको छ । युग युगान्तर, कल्पं कल्पान्तरमा भक्तजनको इच्छा पूरा गर्न नै भगवान्ले श्रीकृष्णको अवतार लिएका हुन् । श्रीकृष्ण सगुण–सत्कार, निर्गुण निराकार आदि परस्पर विरोधी धर्म देखिए तापनि समान रूपमा विद्यमान भइरहेको छ । ‘कर्तुम कर्तु मन्यथा कर्तु सर्व समर्थवान् ईश्वर’ यसमा पनि भगवान् श्रीकृष्णको सर्वेश्वरत्वको स्वतः सिद्ध भइरहेको छ ।

सत्ताका लागि मात्र लडिरहने हो भने देश दिन परदिन अधोगतिमा पर्नेछ र जनताले कुकुरले नपाउने दुःख पाउने हुन्छ

भगवान् श्रीकृष्णले लीला गर्ने क्रममा देखाउनुभएको माधुर्यले भरिपूर्ण भएको ऐश्वर्यहरू धेरै छन् । श्रीकृष्णले बालककालदेखि जीवनभर देखाउनुभएका विभिन्न लीला र घटना अलौकिक भएर पनि अत्यन्तै अद्भ्ूत देखिन्छ । त्यसैले त श्रीकृष्णलाई लीलाधारी पुरुषोत्तम पनि भन्ने गरिन्छ । अदभूत लीला गर्ने श्रीकृष्णसँग १६ वटी पत्नी छन् । असम्भावनालाई पनि सम्भव गर्न सक्ने विभिन्न किसिमका चमत्कार गर्न सक्ने हुन्, श्रीकृष्ण ।

भगवान् श्रीकृष्णले लीला गर्ने क्रममा देखाउनुभएका लीलामध्ये मख्खन चोरेर खानु, ओखलमा बाँधिएर बस्नु, माटो खाएर देखाउँदा आमा यशोदालाई ब्रम्हाण्डको दर्शन गराउनु त्यस्तै जुन हातले ढुंगा हानी गोपिनीको माटोको गाग्री फुटाएको हो त्यही हातको आंैलामा गोवद्र्धन पर्वत पनि उचालेर देखाउनु र सुदर्शन चक्र पनि धारण गरेर देखाउनु जस्ता लीला यहाँ उल्लेखनीय हुन आएको छ । त्यस्तै, नै कालीका नागको शिरमा ताण्डव नृत्य गरेर लोककल्याण पनि गर्छन् भने गोठाला भइरहेका उही कृष्णले सारथि भई रथ हाँकेर महाभारतको युद्धमा पनि भाग लिन्छन् ।

दुःख कष्टमा परेका भक्तजनलाई कृपा गरेर आवश्यक सहयोग गर्ने कार्यमा पनि भगवान् श्रीकृष्ण जहिले पनि अगुवा बन्नुहुन्छ । भक्तजनको पुकार सुन्नेबित्तिकै कृपा गर्नेमा श्रीकृष्णजस्ता कोही छैनन् भनिन्छ । चीरहरणको समयमा पनि द्रौपदीले पुकार गर्नेबित्तिकै तुरुन्तै वस्त्रावतार लिएर श्रीकृष्णले हजारौं गज चीर (सारी) बढाएर द्रोपदीको लाज राखी दिएका हुन् । त्यस्तै, अत्यन्तै दुःख भएर जब सुदामा कृष्णको दरबारमा गएर ढोकाबाहिर पुगेपछि पुकार गर्छन्, बोलाउँछन् । तब तुरुन्तै श्रीकृष्ण दरबारभित्रबाट दौड्दै आएर बाहिर पुगेर सुदामालाई अंगाल्छन् । श्रीकृष्णको अत्यन्तै भक्ति गर्ने भक्त शिरोमणि मीराको भाँडोमा भरिएको विषलाई पनि अमृत बनाई दिन्छ ।

श्रीकृष्णले साथ दिएर नै पाँच पाण्डवले सयौं कौरवलाई हराएर युद्ध जित्न सफल भएको हो । श्रीकृष्णका लागि संहार गर्ने कार्य पनि एक किसिमले खेल नै हो । श्रीकृष्णको वध गर्ने कार्यमा पनि एक किसिमको उदारता लुकिरहेको पाइन्छ । चाहे त्यो पुतना, बकासुर, यमर्लाजुन वा कंस नै किन नहोस् सबैको वध गरेर पनि श्रीकृष्णले उनीहरूको उद्धार नै गर्नुभएको छ ।

महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनलाई निमित्त बनाएर दिनुभएको भगवद् गीताको ज्ञान विश्वमा अत्यन्तै महत्वले भरिएको धर्मग्रन्थ हुन गएको छ । गीताको ज्ञान एकपक्षीय ज्ञान होइन, बहुपक्षीय ज्ञान हो । गीतामा कर्मयोग, ज्ञानयोग, सन्यासयोग र भक्तियोगमा समन्वयात्मक एकता देखिन्छ । गीता परमात्मा भगवान्लाई बुझ्ने ज्ञान हो भने भगवान् प्राप्त गर्न गरिने कर्म भक्ति हो । गीताले कर्तव्य कर्मका लागि आदेश दिइरहेको छ । आजका मानिसले आफ्नो कर्तव्य बिर्सेर अधिकारका लागि मात्र लडिरहेको देखिन्छ । आफ्नो कर्तव्यको भने वास्ता नगर्ने खाली अधिकार मात्र खोजिरहने मानिसका लागि गीताले दरिलो ज्ञान दिइरहेको छ ।

परमानन्द आत्मामा नै हुन्छ तर मानिस आनन्द खोज्न बाहिर बाहिर दौडिरहन्छ भोग, विलास र धनसम्पतिमा मिथ्या आनन्द खोजिरहन्छ

राम्ररी अध्ययन गर्ने हो भने अधिकार प्राप्तिका लागि सबैले कोशिस गरिरहेका हुन्छन् तर आफ्नो कर्तव्य बिर्सिरहेका हुन्छन् । तर, गीताले भनिरहेको छ कि आफ्नो कर्तव्य कर्मको अधिकार र फलको आशा नगर्नू, ‘कर्मण्येव धिकारस्ते मा फलेशुकदाचन’ जुन दिनदेखि मानिसले आफ्नो कर्म कर्तव्यलाई महत्व दिएर कर्म गर्छन् उही दिनदेखि मानिसले सत्ता प्राप्त गर्ने, धन सम्पत्ति जम्मा गर्ने र जायज नाजायज संघर्ष गर्ने काम रोकिन्छ । गीताको उपदेशअनुसार जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल भोग्नुपर्नेहुन्छ । अर्थात् असल कर्म गरेमा असल नै फल पाइन्छ अनि नराम्रो कर्म गरेमा नराम्रै फल पाइन्छ ।

हामी सबैले पढिराखेकै हुनुपर्छ, धार्मिक कथा, रामायण, महाभारत र विभिन्न किसिमका पुराण त्यसमा उल्लेख गरेअनुसार भगवानले दुःखमा परेकालाई नै साथ दिइरहेको देखिन्छ । कृपा गरिरहेको हुन्छ । जस्तो कि पञ्च पाण्डव जबसम्म दुःखमा परेका थिए त्यसबेलासम्म श्रीकृष्णले उनीहरूलाई साथ दिइरहेका थिए, सहयोग गरिरहेका थिए । जब महाभारत युद्ध समाप्त भयो, पाण्डवहरू सिंहासनमा बस्न गए त्यसबेला श्रीकृष्णले उनीहरूको साथ छोडिदिए । भगवान् श्रीकृष्णलाई त्यसै दयाका सागर भनिएको होइन । दुःखमा परेका सबैलाई साथ दिएर उद्धार गर्ने भएरै त्यसो भनिएको हो । मानिसहरूको जीवनमा सुखमा मात्र साथी धेरै भइरहन्छन् तर दुःखमा भने भगवान्ले मात्र साथ दिन्छन् ।

श्रीकृष्ण सत्य, त्रेता, द्वापर र कलि चारवटै युगमा सम्पूर्ण जीवमा विराजमान भइरहनुहुन्छ । तर, जजसलाई दुःख हुन्छ उसँग स्नेहपूर्वक बस्न आउनुहुन्छ । दुःखको समयमा नै भगवान्लाई सम्झिने भएर पनि भगवान्ले साथ दिने हो । त्यसैले होला नाटककार बालकृष्ण समले भनिराख्नुभएको, ‘दुःखीको घरमा मात्र बास तेरो हुने भए, हे ईश्वर दया राखी अझ मलाई दुःख दे ।’

जुन समयमा श्रीकृष्णले अर्जुनलाई मोह हटाउन कर्मयोगको ज्ञान दिनुभयो त्यो उपदेश अर्जुनका लागि मात्र होइन, सम्पूर्ण मानव कल्याणका लागि हो । वास्तवमा गीतामा उल्लेख गरिएका कर्मयोग, ज्ञानयोग र भक्तियोग सबैभन्दा पहिला श्रीकृष्णले सूर्यलाई सुनाउनुभएको थियो । त्यसपछि सूर्यले मनुलाई बताउनुभयो । मनुले पछि इक्ष्वाकुलाई यो ज्ञान दिनुभएको हो । यसरी सुन्ने र सुनाउने अर्थात् ज्ञान दिने र लिने गुरु शिष्य परम्पराअनुसार मानव समाजमा पनि प्रस्तुत भएको थियो तर पछि यो परम्परा तोडिएको देखिन्छ ।

देशमा शासन गर्ने राज नेताहरूले यदि गीताको ज्ञान लिएर व्यवहारमा प्रयोग गर्न सकेमा देशको विकास अवश्य हुनेछ । जनताले पनि सुख पाउँछन् । तर, सत्ताका लागि मात्र लडिरहने हो भने देश दिन परदिन अधोगतिमा पर्नेछ र जनताले कुकुरले नपाउने दुःख पाउनेहुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी