१६ वर्षअघि गोपीकृष्ण हलबाट अलिमाथि राजधानीनगरस्थित राजधानीको केन्द्रीय कार्यालय छिर्दा ढाकाटोपी, कोट पाइन्ट र छालाको चुच्चे जुत्ता लगाएका रातोपिरो गाला भएका व्यक्तिसँग एक झुल्को भेट र दुई शब्द बोलिएको थियो ।
त्यसताका राजधानी दैनिकका कार्यकारी सम्पादक थिए कुमार यात्रु । मेरो उद्देश्य यात्रु दाइलाई भेटेर जागिर माग्नु थियो । तर, यात्रुभन्दा पहिला भेट भयो ‘चेयरम्यान’साब अर्थात् महेन्द्र शेरचनसँग ।
राजधानी दैनिक कार्यालयको दोस्रो तलाको देब्रे कोठामा बसिरहेका व्यक्तिसँग छिर्दाछिर्दै आँखा जुध्यो । ‘नमस्कार सर !’, मेरो अभिवादन सकिनेबित्तिकै आधा मतिर आधा छेवैमा बसेका अर्को व्यक्तितिर हेर्दै ‘चेयरम्यान’साबले भन्नुभयो, ‘नमस्कार ।’
त्यसपछि ६ महिनासम्म चेयरम्यान साब अर्थात् राजधानी दैनिकका संस्थापक अध्यक्ष महेन्द्र शेरचनसँग मेरो भेट भएन ।
यात्रु दाइसँग यसअघि सामान्य चिनजान भएकाले देख्नेबित्तिकै कार्यकक्षको कुर्सीको देब्रेतिरको प्लास्टिकको कुर्सीमा देखाउँदै उहाँले मसिनो स्वरमा बस्न भन्नुभयो ।
एकदमै कम बोल्ने र गम्भीर विषय बोल्नुअघि र बोलेपछि मुसुक्क हाँस्ने यात्रु दाइले यति मात्र भन्नुभयो, ‘भोलिदेखि नै आउनुहोला । अहिलेलाई तपाईँ स्ट्रिन्जर है । काम गर्दै जानुहोला नि ।’
यात्रु दाइलाई तत्काल कसैले बोलायो । म पनि उठेर हिँडें ।
यसरी स्ट्रिन्जरबाट जोडिएको राजधानीसँगको पत्रकारिता यात्रा १३ वर्ष बढी समयसम्म काम गरेर बिदा हुँदा मेरो हैसियत सम्पादकको थियो ।
यो बीचमा धोबीखोला र बाग्मतीमा धेरै पानी बगे । राजधानी दैनिक, त्यसका सञ्चालक महेन्द्र शेरचन र व्यक्तिगत रूपमा मैले पनि पत्रिकाका लागि धेरै संघर्ष गरेको छु । आज महेन्द्र शेरचन हामीमाँझ हुनुहुन्न ।
म पहिलो दिनदेखि नै उहाँलाई ‘चेयरम्यान’साब भन्थे । उहाँको स्मृतिमा लेख्न बस्दा सोच्दै छु, तपाइ’bout के लेखौँ ? ‘चेयरम्यान’साब ?
मैले मेरा सुख दुःख मेरा बासँग त्यति साटिन, जति ‘चेयरम्यानसाव’सँग हुन्थे । यस्ता कैयन रमाइला प्रसंग छन् उहाँसँग जोडिएका जुनकुरा यो संस्मरणमा मात्रै अट्दैन । उहाँका व्यक्तिगत जीवनदेखि सामाजिक र व्यावसायिक जीवनसम्मलाई नजिकबाट बुझेको नाताले तपाइलेलाई श्रद्धाञ्जली दिँदै गर्दा हात कामेका छन् लेख्न ।
जागिरको सुरुवाती दिनमा हातले लेखिन्थ्यो समाचार । मेरो अधिकांश समाचार टाइप गरिदिन्थे राजेन्द्र श्रेष्ठले । उनी अहिले पनि राजधानीमै छन् । त्यसबेला सम्पादक र डेस्कका ‘हाकिम’भन्दा बढी गाली गर्थे राजेन्द्रले मलाई ।
यो भएन, त्यो भएन, तपाईँको समाचार जाँदैन…(पछि दोस्ती बढेपछि राजेन्द्रले तिमी भन्न थाले) ।
यसरी केही महिना बितेपछि मेरा समाचारमा राजेन्द्रदेखि डेस्क हुँदै सम्पादकसम्मले खोट देखाउन छाडे । मलाई लाग्यो अब पक्का पत्रकार भइएछ ।
युमाश शेर्पा, रोशन श्रेष्ठदेखि ध्रुव लम्सालसम्म, नवराज खतिवडादेखि विष्णु शर्मासम्म, कुमार यात्रुदेखि राजन शर्मासम्मका एक दर्जन सम्पादकसँग काम गर्दा राजधानीसँग जोडिएका कैयन रमाइला र दुःखका कहानी छन् । आज सम्झने पालो ‘चेयरम्यान’साबको । तर, चेयरम्यान साब ! तपाईंका ’bout म के लेखू ?
मैले राजधानीमा काम गरेको सुरुवातीताका इन्द्रेणी भन्ने पृष्ठ खुब हिट थियोे । चिनेगुनेका पत्रकार इन्द्रेणीमा लेख्न मरिहत्ते गर्थे ऊ बेला । इन्द्रेणी हेर्ने ध्रुव लम्साल र मनोरञ्जन पृष्ठ हेर्ने डव्बु क्षेत्रीले जागिर छाडेपछि अब मलाई ती पेजको संयोजन गर्ने जिम्मेवारी पनि आइलाग्यो । वातावरणदेखि जनजातिका इस्यु, अर्थदेखि मधेश आन्दोलन, मनोरञ्जनदेखि अर्थ, राजनीति हुँदै सबै बिटमा काम गरियो राजधानीमा ।
६ महिनापछिबाट अलिअलि गर्दै बाक्लियो ‘चेयरम्यान’सँगको भेटघाट । अलराउन्डर भएर काम गर्दा ‘चेयरम्यान’साबसँग झन् बढी जोडिनुपर्ने भयो । उहाँसँग नजिक हुनुपर्ने भयो ।
राजधानी दैनिकको दोस्रो इनिङपछि भने झन् नजिक भइएछ ‘चेयरम्यानसाब’सँग ।
दोस्रो इनिङको प्रसंग पनि गजबको छ । त्यसबेला सम्पादक हुनुहुन्थ्यो जीवेन्द्र सिंखडा । एकदिन उहाँले बोलाएर भन्नुभयो, डिल्ली अब मेरो स्ट्रिन्जर राख्ने योजना छैन, तिमी भोलिदेखि नआऊ ।
भोलिपल्टबाट करिब तीन महिना म राजधानी गइनँ । एकदिन मेरो घरबेटीको ल्यान्डलाइनमा फोन आयो । युमाश शेर्पाको रहेछ । ‘डिल्ली, जीवेन्द्र दाइले भेट्न खोज्नु’भाछ, अफिस आउनु परो रे ।’
फोनपछि राजधानी पुग्ने बित्तिकै जीवेन्द्र दाइले ६ हजार रुपैयाँ तलब उल्लेख भएको नियुक्तिपत्र दिँदै भन्नुभयो, ‘अब तिमीले डेस्क धान्ने है, गजबले काम गर्नुपर्छ ।’ अफसोच ! नियुक्ति दिने मेरा सम्पादक दुई दिन नबित्दै जागिर छाडेर हिंड्नुभयो । उहाँसँग अलिपछि छोटो समय मात्र काम गर्ने अवसर पाइयो ।
साँझ परेपछि दूधमा बिस्कुट घोलेर खाने, रिपोर्टरलाई बोलाएर यस्तो लेख, यसरी लेख भनेर सिकाउने जीवेन्द्र दाइ, युवराज घिमिरे, मोहनकुमार दाहाल, प्रकाश अधिकारी, राजन शर्मालगायतका सम्पादकको कक्षामा खरो उत्रिएका थियौं म/हामी राजधानी सहकर्मीहरू ।
‘चेयरम्यान’साब र जीवेन्द्र दाइ जोडिएको एउटा प्रसंग छ । एकदिन चेयरम्यानसाबले पूर्व सम्पादक’bout गफ हुँदा मलाई सोध्नुभयो । जीवेन्द्रले बेलुका बेलुका दूधमा बिस्कुट घोलेर खाइरा’छ कि छोड्यो दिल्ली ? (उहाँले मलाई कहिल्यै डिल्ली भनेर बोलाउन जान्नुभएन) ।
राजधानी दैनिकमा काम गर्ने सिलसिलामा मैले पनि धेरै उतारचढाव भोगेको छु, राजधानी दैनिक र त्यसका मालिकले पनि भोग्नु परेको छ । तर, जस्तोसुकै उतार चढाव आउँदा पनि मैले ‘चेयरम्यानसाब’लाई कहिल्यै हतास देखिनँ । उहाँमा राजधानीप्रति अगाध माया र स्नेह थियो । राजधानीलाई पत्रकारिताको विश्वविद्यालय बनाउनु भएको थियो उहाँले । कसैले यो विषयमा कुरा गर्दा उहाँ खुसीले पुलकित हुनुहुन्थ्यो । लामो समय काम गर्दा व्यक्तिगत रूपमा कसैप्रति आग्रह देखिन मैले ।
म राजधानी दैनिकमा लामो समय रिपोर्टर, चिफ रिपोर्टर हँुदै कार्यकारी सम्पादकसम्म भएँ । नेतृत्व तहमा पुगेपछि हामीबीच पत्रिकालाई कसरी राम्रो बनाउने विषयमा लामै कुरा हुन्थे । कुराकानीकै सिलसिलामा व्यवस्थापनका तर्फबाट मैले के गर्नुपर्छ, लेखेर ल्याउनु, म गर्छु भन्नुहुन्थ्यो । पारिश्रमिक वृद्धि, बिदामा काम गर्ने पत्रकार कर्मचारीलाई सुविधा दिने, हरेक वर्ष पारिश्रमिक बढाउने जस्ता विषयमा उहाँ गम्भीर हुनुहुन्थ्यो । उहाँ राम्रो काम गर्ने पत्रकारलाई मोटरसाइकल सुविधा दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर म हुँदासम्म यो काम भने भएन । यो काममा प्रशासनले भाँजो हालेको भन्ने मेरो बुझाइ छ ।
दुःखको कुरा, हट्टाकट्टा उमेरमै कोरोनाले ‘चेयम्यनसाब’लाई हामीबाट चुँडेर लग्यो । राजधानी दैनिकको उन्ननयनमा मात्र होइन, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नेदेखि लिएर न्यूनतम पारिश्रमिक निर्धारणको अवधारणा हुँदै पछिल्ला दिन विज्ञापन बोर्डमा बसेर आफ्ना अनुभव र विशेषज्ञता दिने उहाँको योजना अधुरै रह्यो ।
केही अघिको भेटमा संविधान निर्माणका क्रममा उहाँले नजिकबाट देखेको राजनीतिक विकृति, मिडिया लगानीकर्ताबीचको अस्वस्थ्य प्रतिस्पर्धाजस्ता विषयमा निकै लामो कुराकानी भयो ।
उहाँ आफ्ना अनुभवलाई पुस्तकको रूप दिन चाहनुहुन्थ्यो । मिडिया उद्योग, वैदेशिक रोजगार, विज्ञापनमा हुने अस्वस्थ्य प्रतिस्पर्धा व्यक्तिगत जीवन भोगाइका उतारचढाव जस्ता विषय बाहिर ल्याउने मन भएको भन्दै उहाँले सोध्नुभएको थियो, ‘दिल्ली भन त यीमध्ये के लेखौं ? कसरी लेखौं ?
उहाँको लेख्य चाहना यतिबेलाको थिएन । बाग्लुङ बसाइका क्रममा पत्रकारिताको भोकले उहाँले कसरी सम्पादकलाई चिठीदेखि लिएर वाग्लुङवाट काठमाडौंका पत्रिकाका लागि लेखेर हुलाकबाट पठाउनुभयो भन्नेसम्मका विषय सुनेकोे नाताले मैले केही सल्लाह दिएको थिएँ ।
नेपालमा बसेर मजदुरका दुःख समेटेर पहिलोपटक पत्रिका प्रकाशन गर्ने, संस्थापक अध्यक्षका हैसियतमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, पहिलोपटक पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारणको मापदण्ड बनाउनेलगायतका थुप्रै कामको जग बसाउने मेरा ‘चेयरम्यानसाब’को विषयमा अब म के लेखौं ?
उहाँ नै नरहेपछि अब ‘चेयरम्यानसाब’को राजधानी दैनिकलाई उचाइमा लैजाने, कतारबाट प्रकाशित राजधानी अन्तराष्ट्रिय साप्ताहिकलाई निरन्तरता दिने, अंग्रेजी पत्रिका प्रकाशनलाई निरन्तरता दिने, डिजिटल मिडियालाई प्रभावकारी रूपमा सञ्चालन गर्नेजस्ता सपना पूरा गर्ने जिम्मेवारी उहाँका उत्तराधिकारी (आशिष र सचिन)को काँधमा आएको छ ।
….
मैले मेरा सुख दुःख मेरा बासँग त्यति साटिन, जति ‘चेयरम्यानसाव’सँग हुन्थे । यस्ता कैयन रमाइला प्रसंग छन् उहाँसँग जोडिएका जुनकुरा यो संस्मरणमा मात्रै अट्दैन । उहाँका व्यक्तिगत जीवनदेखि सामाजिक र व्यावसायिक जीवनसम्मलाई नजिकबाट बुझेको नाताले तपाइलेलाई श्रद्धाञ्जली दिँदै गर्दा हात कामेका छन् लेख्न ।
बस ‘चेयम्यानसाब’ एउटा कुराको सधै मिस गरिरहने छु । तपार्इँको गोजीमा एउटा आयुर्वेदिक औषधिको धूलो सधैं हुन्थ्यो । धूलो औषधि सुँघेपछि मज्जाले हाच्छिँयू आउने ।
एकदिन तपाइले दिएको त्यो नस सुघेर हाच्छिँयू गर्दा तपाईँको कोटको देब्रे बाहुलामा गएर अड्किएको सिंगान राजधानी पत्रिका च्यातेर तपाइले कसरी फाल्नुभयो, त्यसपछि ‘अब रुँघा चट’ भन्दै तपाईँबाट छुटेको त्यो उन्मुक्त हाँसो र दिल्ली मलाई भेट्न आउँदैनौ, अब राजधानी कहिले फर्कन्छौ त ? भन्दै बेलाबेलामा गरेको फोनले मलाई सधैँ सताइरहनेछ । तपाइलेलाई सम्झाइरहनेछ ।
अलबिदा ‘चेयरम्यान’साब !






