महेन्द्र शेरचन एक अथक र इमानदार सञ्चार उद्यमी हुनुहुन्थ्यो, उहाँ नेपाली मूलधारका निजी सञ्चार माध्यमका एक त्यस्ता व्यक्तित्व हुनुहुन्थ्यो जसले सधैं नेपाली मूलधारका निजी सञ्चार माध्यमको संस्थागत विकासका लागि तथा सञ्चार माध्यममा रहने सबै श्रमजीवी पत्रकार, कर्मचारी , सञ्चार उद्यमीको सर्वाङ्गीण हितका लागि सधंै एकजुट हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । मैले जहिले जहिले महेन्द्र दाइलाई भेटे कहिल्यै पनि अरू कुनै विषयमा भेटिनँ, सधैं सञ्चार क्षेत्रमा रहेका समस्या, सञ्चारका समष्टिगत विकास र विस्तारका अन्तक्रिया र छलफलमा मात्रै उहाँलाई भेटें ।
उहाँ सधैं यी विषयमा चिन्तित हुनुहुन्थ्यो । उहाँसँग एक्लाएक्लै भेट्दा पनि ‘भाइ नेपाली सञ्चारक्षेत्र कहिल्यै एक हुन सकेन, कहिल्यै पनि यो क्षेत्र व्यावसायिक बन्न सकेन, यसका लागि हामी सबै सञ्चालक एकमत र एकजुट भएर अघि बढ्नुपथ्र्यो तर त्यस्तो हुन सकेन भन्दै गम्भीर चिन्ता र चासो व्यक्त गरिरहनु हुन्थ्यो । हामीले धेरैप्रयास गरिरहँदा पनि केही पक्ष यो एकता खलबलाउने कार्यमा लागिरहेका छन् । हामीले एक भएर अघि बढ्न नसक्दा यसमा समाहित सबै कर्मचारी, श्रमजीवी पत्रकार, सञ्चालकलगायत हामी सबै व्यावसायिक बन्न सकेनांै र यस क्षेत्रको संस्थागत विकास गर्न सकेनांै ।
जसका कारण हामीले यसबाट अपेक्षित प्रतिफल प्राप्त गर्न सकेनांै भन्ने विषयलाई उहाँले सधैं उठाइरहनुहुन्थ्यो । मिडिया सोसाइटीको गठनमा उहाँ आउनुभयो र त्यसमा म पछि मात्रै सहभागी भएँ । म त्यसअघि टेलिभिजन ब्रोडकास्ट नेपालमा थिएँ । पछि टेलिभिजन ब्रोडकास्ट नेपाल र मिडिया सोसाइटीलाई नै एक गर्न पनि उहाँले संस्थापकका हैसियतले स्वीकृति प्रदान गर्नुभयो । यी दुईलाई एकीकृत गर्न उहाँको महत्वपूर्ण भूमिका छ । हामीले उहाँकै प्रयासमा यी दुईलाई एकीकृत गर्न सफल भयौं । एकीकृत भएपछि पनि सबै जना महेन्द्र दाइ जस्तो निःस्वार्थ रूपमा अघि बढ्न सकेनन् । सबै जना आ–आफ्नो स्वार्थमा रुमलिन पुग्दा केही समस्या भयो । स्वार्थ बाझिन पुग्दा सबै जना एकजुट भएर अघि बढ्न सक्ने अवस्था रहेन ।
पछि हामीले मिडिया एलाइन्स नामक संस्था अघि बढाउने निधो ग¥यांै र अघि बढाउनु अघि मैले महेन्द्र दाइसँग सल्लाह गरे । महेन्द्र दाइले ‘ल भाइ तिमी अघि बढ’ बरु म उपाध्यक्ष बनेर तिमीलाई सहयोग गर्छु, भन्नुभयो । उहाँ मिडिया सञ्चालकको संस्थाको अध्यक्ष भइसकेको व्यक्तिले पछि म उपाध्यक्ष हुन्छु तिमी अघि बढ भनेर मलाई जसरी हौसला र प्रेरणा दिनुभयो त्यसले मलाई निकै खुसी र उत्साहित बनायो ।
मिडिया एलाइन्सको स्थापना भएपछि हामी जसरी व्यावसायिक रूपमा अघि बढिरहेका छौं त्यसमा महेन्द्र दाइको ठूलो भूमिका छ । मेरो अग्रज भए पनि महेन्द्र दाइले मिडिया एलाइन्सको विकासमा उपाध्यक्षका रूपमा खेल्नुभएको भूमिका कहिल्यै पनि बिर्सन सकिँदैन। उहाँ अनवरत रूपमा सधैं आमसञ्चार माध्यम निजी सञ्चारको विकास विस्तारमा सधंै निरन्तर रूपमा लागिरहनु हुन्थ्यो त्यसका लागि सम्बन्धित विषयमा उहाँले त्यतिकै अध्ययन समेत गर्नुहुन्थ्यो । एकदमै दुःखद परिवेश के हो भने महेन्द्र दाइकै सपनाबमोजिम मिडिया एलाइन्सले आफ्ना मुद्दालाई स्थापित गर्ने, सञ्चार जगत्लाई व्यावसायिक बनाउने र यसमा आश्रित श्रमजीवी पत्रकार, कर्मचारी र लगानीकर्ता सञ्चार उद्यमी समेत सबैलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण मुद्दालाई स्थापित गराउन नपाउँदै उहाँलाई गुमाउनुपरेको छ ।
त्यो मुद्दालाई हामीले उठाएको सात÷आठ महिना मात्रै भयो । यी मुद्दालाई कसरी स्थापित गर्ने भन्ने सम्बन्धमा हुने हरेक बैठकमा महेन्द्र दाइ आउनुहुन्थ्यो । उहाँ मिडिया एलाइन्सको प्रतिनिधित्व गरेर विज्ञापन बोर्डमा पनि जानुभएको थियो । उहाँले सधैं विज्ञापन बोर्ड’bout पनि हामीलाई आएर ब्रिफिङ गर्नुहुन्थ्यो । उहाँ विभिन्न मुद्दालाई स्थापित गर्न निरन्तर रूपमा लागिरहने व्यक्तित्व हो । उहाँमा एउटा विशिष्ट प्रकारको आफ्नै अडान हुन्थ्यो । उहाँको अडानभित्र सामूहिक स्वार्थको विषय समेटिएको हुन्थ्यो ।
उहाँको अडानमा सबैको हित समाविष्ट हुन्थ्यो । एकै टिममा रहेका हामी सबैलाई राम्रो भयो भने मलाई पनि राम्रो भइहाल्छ नि भन्ने भावना उहाँमा अभिप्रेरित थियो । त्यसैले उहाँको यो असामयिक निधनले हामीलाई दुःखित बनाएको छ । हामी संस्थागत रूपमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछांै । उहाँप्रतिको यो शब्दको श्रद्धाञ्जली मात्रै होइन उहाँले देखेको भोगेको त्यो सपना उहाँले थाल्नुभएको त्यो अभियानलाई हामीले पूरा गर्ने छौं । उहाँले थुप्रै काम र व्यवसाय गर्नुभयो होला तर महेन्द्र शेरचनलाई आमनेपालीले नेपालको एउटा इमानदार सञ्चार उद्यमीका रूपमा सम्झिरहने छन् । विशेषगरि छापामाध्यमको वृद्धि विकास र व्यावसायिकताका लागि उहाले गर्नुभएको अथक परिश्रम र मिहेनतलाई हामी सधैं नमन गरिरहने छौं ।






