‘सेनाका मान्छे आएका छन्, तपाईंलाई भेट्ने रे, महेन्द्र सरको कोठामा, जानु रे’ कपनस्थित राजधानी दैनिकको कार्यालयमा अध्यक्ष तथा प्रकाशक महेन्द्र शेरचनकी निजी सहायकले इन्टरकमबाट कल गरिन् ।
‘नमस्कार है, म सम्पादक’ यसले कोठामा प्रवेश गर्दै परिचय दियो । यसलाई लागेको थियो, शाही नेपाली सेनाको एउटा समूह नै शेरचनजीको कार्यकक्षमा खाँदिएको छ । तर, त्यहाँ एक जना पाको उमेरका व्यक्ति सादा पोसाकमा बसेका थिए । ढोकामा र तल मूलगेटनजिकै केही सैनिक पोसाक र हतियारका साथ देखिन्थे ।
‘यहाँलाई म चिन्छु, केही वर्षअघि सिरहाको लहानमा पत्रकार तालिम कार्यक्रमको उद्घाटनसत्रमा शाही नेपाली सेनाको जिल्लास्थित गणको प्रतिनिधित्व गर्दै म उपस्थित थिएँ,’ सैनिक अधिकारीको हाउभाउ शाही सेनाको जस्तो थिएन, निकै नरम थियो । उनले आफ्नो सिटबाट उठेर नै यसको अभिवादन स्वीकार गरेका थिए ।
तर, व्यवहार जतिसुकै भद्र देखाए पनि काम अत्यन्त आपत्तिजनक थियो । १४ वर्षे किशोर अवस्थाको प्रजातान्त्रिक अभ्यासमाथि सेनाका बुट बज्रिएका थिए । २०६२ सालको फागुन महिनाको त्यस साँझलाई सैनिक अधिकारीको व्यक्तिगत भद्रताले सन्तुलित गर्न सक्ने अवस्था थिएन । तर, पनि सरकारले सेनालाई खटाएको थियो प्रकाशन–प्रसारण गृहहरूमा । उनीहरू जागिरे, अह्राएको काम तामिल गर्नु उनीहरूको कर्तव्य थियो । त्यसैले सैनिक हाकिमको व्यक्तिगत व्यवहारलाई यसले सकारात्मक रूपमा लियो । बोल्ने लेख्नेजस्ता अभिव्यक्ति स्वतन्त्रतामाथिको अपहरणलाई कुण्ठित पारिएको त्यो साँझ प्रजातन्त्रविरुद्ध कालरात्रिको प्रारम्भ थियो ।
अध्यक्ष शेरचन आफ्नै कुर्सीमा हुनुहुन्थ्यो, मलाई देखाउँदै भन्नुभयो, ‘सम्पादनको कुरामा अल–इन–अल उहाँ नै हो, मेरो कुनै हस्तक्षेप र आग्रह हुँदैन ।’
उहाँको भनाइ सत्य थियो । यसको तीन वर्ष लामो सहकार्यमा उहाँले सम्पादन कक्षमाथि प्रकाशकका हैसियतले कुनै बन्देज लगाउनुभएन । संस्थागत नीति, व्यावसायिक प्रवद्र्धनका योजना र रणनीतिक शैलीमा प्रकाशन र सम्पादन विभागबीच सहकार्य हुनु आवश्यक थियो । त्यसमा अध्यक्ष शेरचनले सम्पादक र पुराना पत्रकारलाई राखेर आफ्नो अवस्था बताउने र प्रस्ताव राख्ने गर्नुहुन्थ्यो । यस्तै हुनुपर्छ भन्ने दबाबपूर्ण शैली अध्यक्ष शेरचनले यसका अगाडि कहिल्यै राख्नुभएन ।
‘भोलि के–कस्ता सामग्री कसरी प्रस्तुत हुँदै छन्, के छापिँदै छ ? यहाँले मलाई पनि देखाइदिनुभयो भने आभारी हुने थिएँ,’ सैनिक अधिकारीले अनुरोधको भाकामा आदेश दिए । अरू त पर्दैन, खासगरी श्री ५ को कदम’bout, सरकारी विषयवस्तुमा सैनिक अधिकारीले नागरिकको प्रेस स्वतन्त्रता खोसिरहेका थिए तर हाँसीहाँसी । मानौं, बगरे खसीको मृत्युमा धरधरी रुँदै थियो र त्यसलाई निरन्तर छप्काइरहेको थियो ।
यस अवस्थामा अध्यक्ष शेरचनको महानता यसले कहाँनिर देख्यो भने, ‘सरकारले राजा ज्ञानेन्द्रको कदममा साथ देऊ, संकटकालको विरोध नगर, बहुदलीय व्यवस्थाको विरोध गर, विज्ञापन छापेर पैसा कमाऊ’ भनेको थियो । सबै सम्पादक–प्रकाशकहरूलाई यस्ता प्रस्ताव आएका थिए । खासगरी टेलिभिजन र ठूला पाने दैनिक अखबार मिडियामा लगानी गर्दागर्दा थाकेका थिए । ‘मरुभूमिमा हात्ती पालेको’ अनुभव भइरहेको थियो उनीहरूलाई । राजा ज्ञानेन्द्रको सरकारले हात्ती पाल्न पुग्ने खर्च दिन्छ भने उनीहरू प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका विपक्षमा सम्झौता गरिदिनसक्थे ।
‘ठीक छ, शाही कदमलाई लिएर म एक विशेष सम्पादकीय लेख्दै छु पहिलो पृष्ठका लागि, मुख्य समाचार पनि यसमै हुन्छ । अरू त तपाईंको रुचिको विषय होलाजस्तो मलाई लाग्दैन’ यसले आश्वस्त गरायो र आफ्नो कार्यकक्षमा फर्किनुअघि ‘अलिकति समय लाग्छ, यहाँ यतै बस्नुहुन्छ कि ?’ भनेर पछि नलाग्न संकेत ग¥यो । सम्पादन कक्षमै अपरिचित व्यक्तिको उपस्थिति त्यसमाथि कमान्डरका रूपमा, अत्यन्त असहज अवस्था सिर्जना हुन सक्थ्यो ।
‘ठीक छ, म महेन्द्रजीसँगै हुन्छु, यहाँ आफ्नो काम गर्नुभए हुन्छ,’ सैनिक अधिकारीमा व्यक्तिगत शिष्टताले निरन्तरता पाइरहेको थियो । अध्यक्ष शेरचनले ‘अतिथि प्रधान सम्पादक’लाई आफ्नै कार्यकक्षमा अलमलाइदिने र सम्पादकलाई आफ्नो काम गर्न दिने रणनीति त्यसबेला सबैभन्दा उपयुक्त विकल्प थियो ।
‘राजा त्रिभुवनले २००७ सालमा ठूलो जोखिम लिइबक्सेको थियो, मौसुफका नाति श्री ५ ज्ञानेन्द्रले पनि त्यस्तै जोखिम लिएर सरकार सञ्चालनको जिम्मेवारी आफ्नो हातमा लिने, प्रत्यक्ष शासन चलाउने काम गरिबक्सेको छ,’ विशेष सम्पादकीयको शैली आलोचना हो कि समर्थन, ‘अतिथि सम्पादक’ले पत्तै नपाउनेगरी यसले लेख्यो, ‘हजुरबुबा त सफल होइबक्सेको थियो, नातिले सफलता पाउने÷नपाउने निश्चित छैन ।’
मुख्य समाचार ‘हार्ड न्युज’ थियो, ‘औपचारिक शैलीको समाचारमा पत्रकारले विचार दिनु व्यावसायिकता हुँदैनथ्यो । त्यसमा श्री ५ ले प्रत्यक्ष शासनको जिम्मेवारी लिइबक्स्यो, यसो भयो, उसो भयो मात्र थियो । ‘प्रकाशन गृहमा सुरक्षाकर्मीको उपस्थिति’ शीर्षकको समाचारलाई ‘अतिथि सम्पादकले ‘नराख्दा हुन्न ?’ भने । शाही कदमलाई नेताहरूले कसरी लिएका छन् भन्ने टिप्पणीयुक्त समाचार चिफ रिपोर्टर रामप्रसाद दाहालले लेख्नुभएको थियो, त्यसलाई पनि उनले रुचाएनन् ।
त्यसपछि अध्यक्ष शेरचनजीलाई एक्लै बोलाएर यसले सहमति लियो, ‘यो ऐतिहासिक बेला हो, जोखिम लिए इतिहास बनाउन सकिन्छ, सेनालाई ठीक छ भन्ने बनाएर पठाउने अनि आन्तरिक रूपमा मिलाउने र अखबार छाप्ने †’
‘लौ जे गर्नुहुन्छ, तपाईंहरू स्वतन्त्र हुनुहुन्छ, सम्पादनमा मेरो हस्तक्षेप छैन,’ अध्यक्षले भन्नुभयो ।
‘भोलि सेनाले बोलायो भने हामी जान्छौं नि’ यसले आश्वस्त बनायो ।
नभन्दै भोलिपल्ट सेनाले बोलायो, जाने कि नजाने भन्ने विषयमा छलफल गर्न सम्पादक मण्डलको बैठक बस्यो । सम्पादकलाई थुनिदियो भने अखबार चलाउन असजिलो पर्छ, नेतृत्वको संकट पर्छ भनेर न्युजरुमका अर्का वरिष्ठ पत्रकार रेवती सुवेदीलाई पठाउने निर्णय भयो ।
सेना निकै रिसाएछ, बन्दुक नै तर्साएछ । उहाँ फर्किदा निकै रन्थनिनुभएको थियो । तर, यता, शेरचनजीको उदारताका कारण राजधानीले इतिहास बनाइसकेको थियो ।






