लिन खोजेनन्, दिएरै गए

मूलधारको पत्रकारिता यात्रा सुरु गरेर १० वर्ष बिताएको छु मैले राजधानी दैनिकमा । मैले थाहा पाएसम्म राजधानी दैनिक प्रकाशन गर्नुअघिको महेन्द्र शेरचनको परिचय रोजगार व्यवसायी हो । रोजगार व्यवसायमा लाग्नुअघि जिल्लाबाट पत्रकारिता पनि गरेको र त्यस क्रममा अनेकौं समस्या झेल्नुपरेको औपचारिक कार्यक्रममा उहाँ सुनाउनु हुन्थ्यो ।

विशुद्ध नाफामूलक व्यवसायको पृष्ठभूमिबाट आएका व्यक्तिले चरम प्रतिस्पर्धाको अवस्थामा साझेदारले छाडेर हिँडेको राष्ट्रियस्तरको पत्रिकालाई एक्लै निरन्तरता दिनु कठिन थियो । पत्रकारिता क्षेत्रमा योगदानको हिसाबले यो निकै ठूलो घटना हो । शेरचनको एकल लगानीको राजधानीले अब्बल पत्रकार उत्पादन गरेको छ । राजधानीले लेख्न सिकाएका व्यक्ति मूलधारका दर्जनौं सञ्चार माध्यमको सम्पादकीय नेतृत्वमा छन् । सञ्चारमाध्यमको संख्या सीमित रहेको तथा पत्रकार÷कर्मचारीलाई तलब खुवाउन पनि मुस्किल पर्ने प्रतिकूल समयमा शेरचनले राजधानी बन्द गरिदिएका थिए भने कैयौं प्रतिभा कोपिलामै ओइलाउन सक्थे । उहाँले उपयुक्त प्लेटफर्म दिएर ती कोपिलालाई झांगिने अवसर प्रदान गरेका छन् ।
अध्यक्ष शेरचन राजधानी दैनिकसँग सम्बन्धित छलफलमा पारदर्शी रूपमा प्रस्तुत हुनुहुन्थ्यो । नाफाघाटाको अवस्था प्रस्ट रूपमा राख्दै भन्नु हुन्थ्यो, ‘मलाई राजधानीको नाफा एक पैसा चाहिँदैन । जति कमाउँछ त्यो सबै यसकै उन्नति र प्रगतिको लागि लगानी गर्छु ।’

उहाँले व्यवहार पनि त्यस्तै देखाउनु भयो । कम्पनी ब्रेक इभनबाट माथि लाग्नेबित्तिकै पत्रकार÷कर्मचारीको तलब, सुविधा पुनरावलोकन गर्नुहुन्थ्यो ।

मैले चिनेको शेरचन दयालु स्वाभावका मान्छे हुनुहुन्छ । अहं वा म ठूलो मान्छे भन्ने भाव उहाँमा पटक्कै थिएन । मेरो बुझाइमा सामान्य प्रोफाइलमै उहाँ सन्तुष्ट हुनुहुन्थ्यो । सामान्य परिचरलाई पनि उत्तिकै स्नेह र आदरका साथ व्यवहार गर्नु हुन्थ्यो । तर, भदौ २ गते नेपाली पत्रकारिता जगत्का लागि कालो दिन बनेर आयो । आफूले वर्षौं घाटा सहेर पनि अब्बल पत्रकार उत्पादनमा योगदान गर्ने व्यक्तित्व पत्रकारिता क्षेत्रले गुमायो । यो बिन्दुमा उभिएर सूक्ष्म अवलोकन गर्ने हो भने त अझ पेचिलो वास्तविकता देखा पर्छ । शेरचनले राजधानीका हरेक पत्रकारलाई विशिष्ट स्थानमा उभ्याएर संसारबाट बिदा लिनु भएको छ । राजधानी दैनिकका हरेक पत्रकार सूचना विभागको परिचयपत्र बोकेर हिँड्छन् । जुन कुरा मूलधारका अन्य मिडियामा काम गर्ने पत्रकारका लागि केही वर्षदेखि दुर्लभ वा अप्राप्य वस्तु बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै