काठमाडौंबाट राजधानी दैनिक राष्ट्रिय पत्रिका प्रकाशनको शुभारम्भ २०५८ जेठ २२ गतेबाट सुरु भएको हो । पत्रिकाको स्थापना कालदेखि नै सप्तरी जिल्ला समाचारदाताका रूपमा म अनवरत काम गर्दै आएको छु ।
पत्रकारितामा सबै पत्रकार सधैं एकै प्रकाशन गृहमा काम नगरी अन्यत्र सरेका उदाहरण पनि धेरै होलान् । तर, कतिपय पत्रकार दसकौंदेखि एकै प्रकाशन गृहमा नियमित रहेर काम गरेका पनि छन् । हाम्रोजस्तो मोफसलबाट पत्रकारिता गर्नेहरूका लागि प्रकाशन गृहका प्रमुखले गर्ने व्यवहारले पनि निकै ऊर्जा दिँदो रहेछ भन्ने कुराको अनुभूति मलाई यस प्रकाशनका अध्यक्ष महेन्द्र शेरचन सरको व्यवहारबाट मिलेको छ ।
समय समयमा फोन गरेर सत्यतथ्य समाचार लेख्न नडराउन भन्दै उहाँबाट पाएको ढाडसले पनि मलाई आफ्नो कर्म क्षेत्रमा डटेर लाग्न प्ररेणा मिलेको हो । मनमा डर, त्रास नलिई निष्पक्ष ढंगबाट समाचार लेख्न हौसला दिने शेरचन सरको व्यवहार निकै ऊर्जावान् रहेको मैले महसुस गरेको छु ।
‘तपाईं हाम्रो प्रकाशनको पुरानो र जिम्मेवार साथी हो,’ भन्दै यस वर्ष आयोजना गरिने पत्रिकाको वार्षिक उत्सवमा सम्मान गर्ने भनेर उहाँले बताएको कुरा मेरा कानमा अहिले पनि गुन्जी नै रहेका छन् । विगत केही महिनादेखि मुटुमा समस्या आएर म महिना दिनमा काठमाडौंस्थित शहीद गंगालाल हृदय केन्द्रमा उपचारका लागि पुग्ने तथा आवश्यक औषधि लिने गरेको छु । यस्तो अवस्थामा पनि उहाँको हौसलाले म पत्रकारिता क्षेत्रमा अझै उत्तिकै क्रियाशील छु ।
डाक्टरसित सल्लाहका लागि काठमाडौं आएको समयमा पनि फोन गरेर पत्रिकाको कार्यालयमा बोलाई सँगै चिया पिउँदै, ‘चिन्ता लिनुपर्दैन, केही हुँदैन समस्या परे हामी छौं, भन्ने उहाँको हौसला र आश्वासनले मलाई कर्म क्षेत्रका अभिभावक नै पाएको जस्तो महसुस हुने गरेको थियो ।
चार महिनाअघि पनि म कोरोना संक्रमित हुँदा उहाँले फोन गरेर भन्नुभएको थियो, ‘माझी भाइ नडराउनु केही हुँदैन, आत्मबल बढाएर राख्नु, योगा गर्नु अनि घरमै सुरक्षित साथ बस्नु चाँडै निको हुन्छ ।’ उहाँले म कोरोना संक्रमित भएको खबर मार्केटिङ शाखाका प्रमुख विनोदजीबाट प्राप्त भएको लगत्तै फोन गरेको बताउनुभएको थियो ।
नियतिका अघि कसैको केही लाग्दो रहेनछ । शेरचन सरलाई गुमाउनुपर्दाको पीडा यतिबेला मैले शब्दमा व्यक्त गर्न सकिरहेको छैन । भौतिक रूपमा उहाँ अब हामीबीचबाट बिदा भए पनि मेरो पत्रकारिता अनुभवमा उहाँको अभिभावकत्व सदा स्मरणीय रहनेछ ।
पत्रिकाको वार्षिकोत्सवमा सम्मान गर्ने भने पनि उहाँको बाहुलीबाट सम्मानित हुने अवसर गुमाउनु मेरा लागि दुर्भाग्य भएको छ । स्व. शेरचन सरप्रति हार्दिक श्रद्धाञ्जलीका साथ म उहाँको बैकुण्ठ वासको कामना गर्छु ।