काठमाडौं । पर्यटकीय नगरी पोखरामा अर्काे महिना आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो दिन दुई खेल हुनेछ ।
उद्घाटन खेलमा दि राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब काठमाडौंबीच खेल हुनेछ । लिग स्वास्थ्य मापदण्ड अपनाई पोखराको बहुउद्देशीय कभर्ड हलमा २ देखि २२ असोजसम्म हुनेछ । सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउनेछ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
१ देखि २२ जेठसम्म हुनुपर्ने फुटसल लिग दोस्रो चरणको कोरोना भाइरसको संक्रमणसँगै देशभर निषेधाज्ञा लागू भएपछि स्थगित भएको थियो ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला÷पिभोट), डिफेन्डर (फिक्सो), उदीयमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् । फुटसल लिगको व्यवस्थापकका रूपमा टर्नपाइक इभेन्ट प्रालि रहेको छ । लिगको कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ । लिगका लागि एन्फाले गत वर्षको चैतदेखि गत ५ वैशाखसम्म सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बाग्मती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमूल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स् फुटसल काठमाडौं छनोट भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल प्रालि, सविन मेमोरियल फुटसल क्लब प्रालि पोखरा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् । लिगबाट एसियाली फुटबल महासंघ (एएफसी)द्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका खेलाडी छनोट गरिनेछ ।