काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्ने गरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले आगामी १ असोजबाट नियमित व्यावसायिक उडान सुरु हुने बताए । थापाका अनुसार यस वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुरका लागि भर्नेछ । सो एयरलाइन्सका अनुसार पहिलो दिनको उडान आगामी १ असोजमा बिहान साढे १० बजेटबाट सुरु भएको छ । त्यसपछि सोही दिन काठमाडौंबाट पोखरा उडान भर्ने गरी उडान तालिका तय गरिएको उनले जानकारी दिए ।
गुणले हाल दुईवटा गन्तव्यबाट आन्तरिक व्यावसायिक उडान सुरु गर्ने र आगामी दिनमा यात्रुहरूको मागबमोजिम विस्तारै आफ्नो उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको छ । नियमित व्यावसायिक उडान तयारीसँगै गुण एयरलाइन्सले तीनवटा जेटस्ट्रिम र एउटा बिचक्राफ्ट विमानलाई तयार पारिसकेको छ । आगामी दिनका लागि पनि छिट्टै थप तीनवटा विमान तयार पार्ने सो एयरलाइन्सले जनाएको छ । थापाले अब यो वायुसेवाले दसैंका यात्रुलाई सहज रूपमा हवाई सेवा उपलब्ध गराउन सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान भर्नेगरी तयारी पूरा भएको जानकारी दिए ।
टिकट बुकिङ खुला
अहिलेको यो उडान सेवा सञ्चालनका लागि यो वायुसेवाले यात्रुको सेवा र सुविधालाई उत्कष्ट बनाउका लागि एक वष भन्दा लामो समयदेखिको तयारी गरिरहेको जनाएको छ । कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले ११ चैत २०७६ देखि गरेको लकडाउन र निषेधाज्ञाका कारण थन्किएको वायुसेवा क्षेत्रमा यो कम्पनीले नयाँ ब्रान्डमा र बलियो उपस्थिति देखाउने गरी आफू प्रस्तुत भएको बताएको छ ।
गुण इरलाइन्सले आठ वर्षअघिको आफ्नै ब्रान्डमा आगामी उडान सेवा सुरु गर्न लागेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्रान्डमा विमान उडान सुरु गर्ने भएको छ । यो कम्पनीले हाल वायुसेवासँग भएका दुईवटा बिच क्राफ्ट र थप पाँचवटा जेटस्ट्रिम विमान थप गरेको हो । यो वायुसेवाले आगामी दिनमा काठमाडौैंबाट माउन्टेन फ्लाइट, लुक्ला, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, जोमसोम, तुम्लिङटार, नेपालगन्ज, राजविराज, रामेछाप, सिमरा र सुर्खेतमा नियमित व्यावसायिक उडान भर्ने लक्ष्य लिएको जनाएको छ ।






