‘लौ भन्नूस्, के भन्नुप-यो ? सोध्नूस्’
एकैछिनअघि घरको झ्यालमा खाजा खाँदै देखिएका ८६ वर्षीय मानबहादुर महर्जन ‘साक्षात’ हुन आइसकेका छन् ।
‘चिया खानु न बा,’ उनीअघिल्तिर पुरानोखाले ‘ठाडो धर्के’ काँचको गिलास पसार्दै हामीले अनुरोध बिसायौं ।
‘कति खाने ? बिहानदेखि चार गिलास चिया खाइसकें,’ यति भन्दैगर्दा चम्किला आँखा भएका मानबहादुर ‘चापटै’ हाँस्न थाल्छन् । चिया पसलमा उनका ‘गफ’ सुन्न केही स्थानीय पनि झुम्मिएका छन् ।
भर्खरै ‘इन्द्रजात्रा’ सकाएको प्याङगाउँ दुलहीझैं सिंगारिएको छ । फल्चा (पाटी)मा गाउँले बसिबियाँलो गरिरहेका छन् । हामी चिया पसलमा छौं । पाका मानबहादुर तेजिला आँखा र धारिला सम्झना बिस्कुन लगाइरहेका छन् ।
‘धेरै रमाइलो, कति रमाइलो–रमाइलो,’ उमेरले आठ दशक पार गरिसक्दा पनि उनीबाट ‘उही जोश’ सुनिइरहेको छ, ‘बाँस खोज्न मकवानपुर चारकोसे झाँडीसम्म पुगियो । दुई–तीन दिन लगाएर त्यहाँ पुग्थ्यौं ।’
मानबहादुरका कुरामात्रै ‘रसिला’ छैन, स्वभाव पनि ‘रसिक’ लाग्छन् । जति बोल्दै जान्छन्, उनका कुरा चाख लाग्दा हुँदै जान्छन् । झन्डै दुई हजारभन्दा बढी जनसंख्या रहेको प्याङगाउँमा मानबहादुर ज्येष्ठमध्येमै पर्छन् ।
‘एकपटक त हामीलाई चारकोसे झाँडीमा पुलिसले समात्यो,’ प्याङ भाँडो बनाउन मकवानपुरका जंगल चहार्ने गरेका दिन सम्झन थाले उनी, ‘पछि, गाउँकै एकजनाले छुटाइदियो । त्यसपछि जानै छोेडिदियौं ।’
विगतमा कुनै काल ‘गरिखानु’ भनी ‘लालमोहर’ लगाइदिएको चारकोसे झाँडीमा ‘मानबहादुर’हरू किन पक्राउ परे त ?
कारण रहेछ, ‘भूमि सुधार’ व्यवस्था । २०२१ सालमा भूमि सुधार लागू भएपछि ‘बाँस काट्न’ बन्देज लगाइयो । त्यसपछि मकवापुरतिरको बाटो प्याङगाउँलेका लागि पातलिँदै गयो । र, कालान्तरमा ठप्पै हुन पुग्यो ।
‘यहाँबाट जाँदा हलुका हुन्थ्यो, घर फर्किंदा भारी गहु्रंगो हुन्थ्यो,’ बाँस लिन मनवानपुर जाँदा ‘प्याङ भाँडो’ बोकेर जाने स्मरण मानबहादुरको स्मृतिमा ताजै छन्, ‘भाँडोसँग अन्न साटेर ल्याउँदा भारी बोक्नै नसक्ने हुन्थ्यो । हामी प्याङ भाँडो अन्नसँग साट्थ्यौं, अहिलेजस्तो पैसाले किन्ने चलन थिएन ।’
समय बद्लियो । चारकोसे झाँडी पातलिसक्यो । तर, मानबहादुरमा कुनै परिवर्तन आएको छैन । उनी अझै ‘हापा’सँग (प्याङ बनाउने प्रयोग गरिने बाँस) रमाइहेका भेटिन्छन् ।
‘अहिले पनि बनाउँछु, मेरो पुर्खाको पहिचान हो, छोड्ने कुरै भएन नि †’ प्याङबाहेक अरु सोच्न नभ्याएका मानबहादुर सुनाउँछन्, ‘पहिलेजस्तो धेरै हुन्न, अलिअलि बनाउँछु । गाउँमा नौलो मान्छे आउँदा खोज्ने गर्छन् । उनीहरूकै लागि भए नि बनाएर राख्ने गरेको छु ।’

प्याङ बेच्नकै लागि ‘मानबहादुर’हरू ललितपुरबाहेक काठमाडौं, पाटन, बनेपा, दाप्चा र गोरखासम्म पुगे । तिनै ताका मकवानपुर छिचोल्दै गर्दा बाटाका सम्झनाले मानबहादुरलाई अझै सुम्सुम्याइरहन्छ ।
‘धेरै रमाइलो, कतिकति !’ अतीतमा मग्न हुँदा पुलकित देखिने उनी बारम्बार सुनाइरहन्छन्, ‘गर्मीले लखतरान भएको बेला प्युटारको घलेगाउँमा दिइने चिसो छ्याङ अमृत नै हुन्थ्यो । त्यसमाथि कोदोको ढिँडो हा..हा…(हाँसो) !’
उतिबेला चारकोसे झाँडी पुगेर प्याङका लागि बाँस संकलन गर्नेमध्ये ‘जिउँदो इतिहास’मा मानबहादुर, पूर्णबहादुर महर्जन र जीतबहादुर महर्जनमात्रै छन् । उनीहरूमध्ये पूर्ण र जीतले प्याङ बनाउन छोडिसके । सक्रिय मानबहादुरमात्रै हुन् ।
पाका पुस्तामध्ये गाउँमा प्याङभाँडा बनाउन अझै पनि सक्रिय सम्भवतः मानबहादुर एक्ला हुन् । गाउँमा कोही नौलो मानिस प्रवेश गरे, लोपोन्मुख भाँडो खोज्दै उनीसम्म नपुगी धरै पाउँदैनन् ।

मल्लकालमा मानापाथी, गरगहना वा पूजा सामग्री राख्न प्रयोग गरिने प्याङ अहिले संकट चरणमा पुगेको छ । ‘दुःख गरेअनुसार परिणाम नआएकै’ कारण युवापुस्ताको रुचि प्याङप्रति विमुख भएको पाइन्छ ।
‘धेरै समय र मेहनत लाग्छ, त्यसअनुसारको आन्दामी छैन,’ स्थानीय बुद्धिजीवि माइला महर्जन भन्छन्, ‘यस्तो भाँडो कहीँ पनि बन्दैन, यहीँमात्रै हो । मल्लकालमा यसैलाई मानोपाथीका रूपमा प्रयोग गरिन्थ्यो ।’
नेवारी कला, संस्कृति, परम्परामा स्नातकोत्तर महर्जनका अनुसार मल्लकालमा अन्न तौलेर दिने प्रचलन प्याङबाटै सुरु भएको हो ।
‘प्याङलाई शुद्ध भाँडोका रूपमा लिइन्छ,’ महर्जन थप्छन्, ‘पहिले–पहिले पशुपतिनाथको गरगहना राख्नसमेत प्याङ नै प्रयोगमा थियो । प्याङमा किरा पर्दैन, त्यसैले पनि यसको प्रयोग गहन मानिन्छ । वैद्यकहाँ औषधिसमेत यसैमा राख्ने चलन छ ।’
पृथक भाँडा ललितपुर प्याङगाउँ (चापागाउँ)मा मात्रै बनाइन्छ र पाइन्छ । पाटनबासी अहिले पनि प्याङ खोज्दै प्याङगाउँ पुग्ने गरेका छन् । पाटनका वैद्य औषधि राख्न प्याङ प्रयोग गर्न रुचाउने सुनाउँछन, ७६ वर्षीय जीतबहादुर महर्जन ।
‘अहिले पनि खोज्न आउँछन्,’ तिनताका चारकोसे झाँडी पुग्ने गरेका जीतबहादुर भन्छन्, ‘म पनि धेरै पल्ट बाँस खोज्न मकवापुर पुगें । पछि, यो सीप नै छोडेर पाटनतिर साहुहरूकोमा काम गर्न गएँ ।’
दुःख धेरै र थोरै आम्दानी हुने देखेपछि जीतबहादुरले ‘प्याङ’लाई नै जीविकोपार्जनको माध्यम बनाउन सकेनन् । अनि, हान्निए पाटनतिर । झन्डै दस वर्ष त्यतै बिताए । अहिले गाउँमा छन् तर प्याङ बनाउँदैनन् ।
‘उहिले–उहिले पाप लाग्यो कि जस्तो पनि लाग्छ,’ सात दशक पार गर्दासमेत हट्टाकट्टा देखिने जीतबहादुर अलि निरश सुनिए, ‘कलिलो मुनामै बाँस काट्नुपर्छ, फेरि त्यो नकाटी नहुने । भाँडा बनाउन मुनै बाँस चाहिने ।’
किन पाप गरेजस्तै लाग्यो र ?
उत्तरमा जीतबहादुर भन्छन्, ‘मुनामै बाँस काट्नुपर्ने अनि, मलाईचाहिँ त्यस्तो लाग्ने के ! त्यतिखेर जति दुःख गरे पनि खानै नपुग्ने, अहिले दुःख नगर्दा पनि भइराखेकै छ ।’
कस्तो बाँस प्रयोग गर्ने ?
यो भाँडो तामा बाँसबाट मात्रै बन्छ । त्यो पनि कलिलो ‘मुना’ अवस्थाको हुनुपर्छ । बाँस काट्ने ‘सिजन’ हो, मंसिर, पुस र माघ । यी महिना अघिपछिका बाँसबाट बनाइएका ‘प्याङ’मा किरा पर्ने समस्या हुन्छ । त्यसैले यही महिनाका बाँस रोजिन्छ, प्याङ बनाउन ।
कसरी बनाइन्छ, प्याङ ?
प्याङका लागि ‘हापा’ पहिलो खुड्किलो हो । यही चरणबाट भाँडा बनाउने प्रक्रिया थालनी हुन्छ । कलिलो बाँसको बोक्रा ताछेर भित्रि भाग रहने पाटो नै ‘हापा’ हो । ताछिएको हरियो बाँसको ‘चोया’ पछि भाँडो सिलाउन प्रयोगमा ल्याइन्छ ।
‘हापा’लाई काठे चिप्टाको सहयोगमा दुईतिरबाट च्यापेर मज्जाले आगोमा सेकाइन्छ । ‘हापा’छेउको दुईतिरबाट पानी निस्कन्छ । त्यो निस्कन नछोडेसम्म सेकाइरहनुपर्छ । र, विस्तारै गोलाकारमा ल्याइन्छ । पछि, यसैलाई विभिन्न आकारमा ‘प्याङ भाँडा’ बनाउन प्रयोग गरिन्छ ।
मेहनत धेरै, प्रतिफल थोरै
एउटा प्याङ भाँडा तयार हुन झन्डै साता दिन लाग्छ । बाँस संकलनबाटै गणना गर्ने हो भने अझ त्योभन्दा बढी समय खर्चिनुपर्ने हुन्छ । तर, प्रतिफल नगण्य छ । बनाए पनि बिक्री भइहाल्ने अवस्था छैन । बिक्री भइहाले पनि सन्तोषजनक मूल्य पाइँदैन ।
बजारीकरण अभाव
भाँडा बनायो, घरमै थन्किन्छ । बनाएपछि बजारीकरण आवश्यक पर्छ, त्यो पनि हुन सकिरहेको छैन । अहिले बजारमा प्लास्टिकका आकर्षक विभिन्न भाँडाकुँडा आएका कारण पनि ‘हातैले निर्मित’ प्याङ लोपोन्मुख अवस्थामा पुगेको हो ।
प्याङ जोगायन युवापुस्ता
बाबुबाजेले प्याङ बनाए पनि नानीछोरी महर्जनले अहिलेसम्म बनाएकी छैनन् । जान्नेबुझ्ने भएदेखि नै उनले पुर्खाको ‘प्याङ मोह’ देखिइन् । तर, बनाइहाल्ने हिम्मतचाहिँ गरिनन् । अहिले आएर बल्ल उनलाई लागेको छ, ‘पुर्खाको बिँडो थाम्नुपर्ने रहेछ !’

जन्मथलोको नामै भाँडोबाट राखिएको थाहा पाए त नानीछोरीलाई ‘प्याङको माया’ले बिछट्टै पा-यो । अनि त, गाउँठाउँमा हुने प्रत्येक प्रशिक्षण उनले छुटाउने गरेकी छैनन् ।
‘सिकेपछि के गर्ने योजना छ त ?’
‘अरुलाई पनि सिकाउँछु, पुर्खाको पौरख बचाउनु नै हाम्रो कर्तव्य हो,’ नानीछोरी भन्छिन्, ‘एकपछि अर्कोले सिक्दै गए एकदिन त राम्रै हुने विश्वास छ ।’
महादेव युवा क्लबको अगुवाइमा जारी ‘वर्कशप’मा अहिले नानीछोरीलगायत आठ स्थानीय ‘प्याङ’ बनाउने प्रशिक्षण लिइरहेका छन् । ‘प्रत्येक वर्ष वा बेलाबेला प्रशिक्षण दिँदै आएका छौं,’ क्लब अध्यक्ष मदन महर्जन भन्छन्, ‘गाउँमै संग्रहालय बनाउने योजना हो । जहाँ प्याङलाई प्राथमिकता दिनेछौं ।’

यसअघि, गोदावरी नगरपालिकाले पनि दुई पटक ‘प्रशिक्षण तथा तालिम’ व्यवस्थापन गरिसकेको छ । आगामी दिन पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने योजना रहेको नगरप्रमुख गजेन्द्र महर्जन बताउँछन् । ‘स्थानीय कला, संस्कृति, परम्परा सम्बद्र्धनमा नगरपालिकाको सहयोग र साथ हरदम रहनेछ,’ प्रमुख महर्जनले भने, ‘मौलिकता नै हाम्रो पहिचान हो, यसलाई जोगाइराख्नु प्रत्येक नागरिकको कर्तव्य पनि हो ।’
ब्रिटिस काउन्सिलको ‘फन्डिङ’मा पाँच वर्षका लागि ‘ब्याम्बु क्राङ्खट वर्कशप’ स्वीकृत भएको छ । जसलाई ‘सहजकर्ता’ एलिना मानन्धर र अमन शाहीले संयोजन गरिरहेका छन् ।
‘चलिआएको प्याङको मौलिकता नहराउनेगरी बजारीकरण कसरी गर्न सकिन्छ ? भन्ने योजना बनाएका छौं,’ मानन्धर भन्छिन्, ‘विशेषगरी यसको बनोट र फिनिसिङमा ध्यान दिन्छौं । र, बजारमा स्थापित गराउन हाम्रो भूमिका रहनेछ ।’
‘ग्राफिक कम्युनिसकेसन’मा ग्र्याजुयट मानन्धरका अनुसार वर्कशपमा प्याङमात्रै हैन, बाँसजन्य सामग्री बनाउनसमेत स्थानीयलाई अभिप्रेरित गरिनेछ । त्यसो त, प्याङ संरक्षण र बजारीकरण ‘वर्कशप’को मुख्य उद्देश्य रहेको मानन्धर सुनाउँछिन् ।
हातकै भरमा प्याङ बनाउने चलन रहेको बताउँदै उनले ‘वर्कशप’मा भने ‘स्केलले नाप्ने’ र ‘स्केच’ बनाएपछि मात्रै बनाउन प्रशिक्षण दिइने उल्लेख गरिन् । ‘यसो गर्दा हापा खेर जाँदैन र पछिसम्म पनि सजिलो हुन्छ,’ मानन्धर भन्छिन्, ‘अर्को कुरा वातावरणमैत्री सामग्री उत्पादन हाम्रो मुख्य उद्देश्य हो ।’






