माटो खेल्दै हुर्केको ठिटोको कथा बुनिँदै छ, यहाँ । तनहुँ भिमाद गाउँको एउटा परिवारको पेसै थियो, किसानी । कुटोकोदालोसँगै लपक्कै भिजेको त्यो परिवारमा जन्मिए, निराजन प्रधान । आज उनको अनुहार काँचको पर्दामा नदेख्नै कमै होलान् ।
हेक्कै राख्नुपर्दा निराजनको जन्म सन् १९८६ भयो । सानैदेखि कलाकारितामा रुचि पालेका उनमा गायक ठूलै धोको थियो । तर, आज उनी स्वर हैन, अभिनयका कारण दर्शकमाझ प्रिय बन्दै छन् । उनलाई अचेल म्युजिक भिडियोमा ‘मोडल नायक’का रूपमा देख्न सकिन्छ ।
हरेक ‘अफर’ अनुभव सँगालेर दरो ‘प्लटफर्म’मा आफूलाई उभ्याएका छन्, निराजनले ।
‘अझै पनि गायक बन्ने सपना मेरेको छैन,’ ‘ह्यान्सी’ देखिने निराजन सुनाउँछन्, ‘एकदिन आफ्नै स्वरमा गीत रेकर्ड गर्नेछु ।’
उनको बाल्यकाल काठमाडौंमै बित्यो । यहीँको हावापानी र संगतले कलाकारिता क्षेत्र उनका लागि न्यानो बन्दै गएको छ ।
…
२०६८ सालतिर पहिलोपटक नेपाल चलचित्र विकास बोर्डले आयोजना गरेको महोत्सवमा भाग लिएका थिए, निराजनले । साथीभाइको आग्रहमा भाग लिएको महोत्सवमा ‘उत्कृष्ट’ कोटीमा परे । त्यसपछि उनको यात्रा औपचारिकतातिर ढल्किन थाल्यो । ‘त्यसपछि मेरो कलायात्रा निरन्तर जारी छ,’ भन्छन्, ‘अब यसैमा जम्ने योजना बनाएको छु ।’
म्युजिक भिडियोमार्फत उदाएका प्रतिभा हुन्, निराजन । म्युजिक भिडियोमा चाख राख्ने जोकोहीले उनको प्रतिभाको मूल्यांकन गरेकै हुनुपर्छ ।
कला क्षेत्रमा करिब दशकदेखि उनको निरन्तरता जारी छ । म्युजिक भिडिओमार्फत चर्चा कमाएका उनको अब भने फिल्मी दुनियाँमा देखिने धोको छ । हुन पनि ‘तिमीसँगै हुने मन छ’मार्फत नायकका रूपमा ‘डेब्यु’ गर्दै छन्, निराजन ।
यी व्यस्त मोडल ‘करिअर’को आठ वर्षमा हजारभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् । ‘यिनै अनुभव अब फिल्ममा उपयोग गर्ने सोचमा छु,’ उनी भन्छन् । ‘थिउटर क्रियटर’ अनुप बरालबाट अभिनय प्रशिक्षणसमेत लिएका छन्, निराजनले ।
पहिलो म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङबाट थालेका उनी त्यो क्षण कहिल्यै बिर्सन सक्दैनन् । ‘दाइले मलाई लिन्न भन्दा पनि ८ हजार रुपैयाँ पारिश्रमिक दिनुभएको थियो,’ उनले सम्झिए, ‘त्यो अफर र पारिश्रमिक मेरो लागि वरदान साबित भएको छ ।’ अधिकांश निर्देशक तथा नयाँ पुस्ताका वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, स्वतिमा खड्कालगायतसँग काम गरिसकेका छन्, उनले । ‘मलाई काम गर्ने अवसर नजुरेको भनेको नम्रता श्रेष्ठसँग मात्र हो,’ उनले भने, ‘उहाँसँग अभिनय गर्ने ठूलो धोको छ ।’

मोडल निराजनको पहिलो चर्चित म्युजिक भिडियो ‘लभ ट्रेजिडी’मा आधारित थियो । गायक प्रकाश तिमल्सिनाको ‘खल्ली’ नामक भिडियोमा उनले नायिका वर्षा राउतसँग अभिनय गरेका थिए ।
पछिल्लो समय गायक शिव परियारको ‘नभेटी नभेटी’ मानायिका स्वस्तिमा खड्कासँग अभिनय गरेका छन् । जुन, अहिले पनि चर्चामै छ । जसमा लाखौं दर्शकले उनको अभिनयको प्रशंसा गरेका छन् ।
‘दिल तोडेर गयौं,’ राजेश पायल राईको ‘अर्खौली बजार’लगायत उनी अभिनित म्युजिक भिडियो हुन् । मिहिनेत र अनुशासनमा रहेर काम गर्न रुचाउने निराजनले म्युजिक भिडियोमा धेरै वर्ष काम सुखदुःख अनुभूत गरे । कुनैबेला ८ हजार पारिश्रमिकमा काम गरेका उनी अहिलेका महँगा मोडलमध्ये हुन् । एउटा म्युजिक भिडियोमा १ लाखसम्म लिन्छन्, उनी ।
सन् २०१७ मा ‘नेपाल म्युजिक अवार्ड’ (पोस्ट मोडल मेल मोर्डन एवं पप ), सन् २०१८ मा ‘सुन्दरतादेवी पब्लिक च्वाइस अवार्ड, सन् २०१८ मा ‘बक्स अफिस म्युजिक भिडियो अवार्ड’ र सन् २०१९ मा ‘नेपाल भाषाको म्युजिक भिडियो अवार्ड’ उनको पोल्टामा परिसकेका छन् । निराजन कर्पोरेट विज्ञापनमा पनि उत्तिकै सक्रिय छन् । अभिनयमा रुचाइएका मोडल उनलाई धेरै दर्शकले ठूलो पर्दामा हिरोका रूपमा हेर्न चाहेका पनि छन् ।






