काठमाडौं । वैकल्पिक ऊर्जाबाट ५ सय ३५ मेगावाटभन्दा बढी बिजुली उत्पादनका लागि विभिन्न आयोजना प्रक्रियामा रहेका छन् । सरकारले वैकल्पिक ऊर्जाबाट पनि बिजुली निकाल्न अनुमति दिन सुरु गरेसँगै हालसम्म ५५ दशमलव शून्य ९ मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।
वैकल्पिक ऊर्जाका रूपमा मकवानपुर र मोरङमा १४ दशमलव ४१ मेगावाट र ३९ मेगावाटका दुईवटा थर्मल प्रोजेक्ट सञ्चालनमा रहेका छन् । भने सौर्य ऊर्जाबाट १ दशमलव ६८ मेगावाटका दुईवटा आयोजना सञ्चालनमा रहेको विद्युत् विकास विभागकी प्रवक्ता निशा रिजालले बताइन् । सौर्य ऊर्जा उत्पादन कम भएको भए पनि उत्पादनको प्रक्रियामा रहेका ५ सय ४ मेगावाट जतिका विभिन्न आयोजनाले उत्पादन र अध्ययनको अनुमति माग गरेको रिजालले बताइन् ।
वैकल्पिक ऊर्जामा सबैभन्दा बढी हिस्सा सौर्य ऊर्जाको छ । विद्युत् विकास विभागले सौर्य ऊर्जा उत्पादन गर्न हालसम्म ४१ कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको छ । ती कम्पनीले करिब ४ सय २२ दशमलव २८ मेगावाट विद्युत् उत्पादन गर्नेछन् ।
सौर्य ऊर्जा उत्पादनका लागि २०७३ सालदेखि विद्युत् विकास विभागले अनुमतिपत्र दिन सुरु गरेको हो । यस अवधिमा जम्मा ५० वटा आयोजनाले अध्ययन अनुमतिपत्र लिएको विद्युत् विकास विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये नौवटा आयोजना निमार्णाधिन अवस्थामा रहेका छन् । ४१ वटा आयोजनाको अध्ययन अझै जारी छ । भने हाल दुईवटा आयोजना सञ्चालनमा रहेका छन् । बाँकी चारवटा आयोजनाले निर्माण र अध्ययनका लागि अनुमति माग गरेका छन् । माघ तेस्रो सातासम्ममा अध्ययन अनुमति लिने ४१ वटा आयोजना रहेको विभागको तथ्यांकमा उल्लेख छ । जबकि, २०७३ सालमा ६ वटा आयोजना, २०७४ सालमा तीनवटा आयोजना, २०७५ सालमा १३ वटा आयोजनाले अध्ययन अनुमति लिएका थिए ।
पछिल्लो समय सौर्य ऊर्जाका लागि अध्ययन अनुमति लिएका आयोजनामा १२० मेगावाटको एक, ५० मेगावाटको एक, ३० मेगावाटको एक, २० मेगावाटको एक र १० मेगावाटका ११ अयोजनाले अध्ययन अनुमति पाएका छन् भने बाँकी सबै १० मेगावाटभन्दा आना आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि सौर्य ऊर्जा प्रवद्र्धनका लागि प्रत्येक प्रदेशसँग कार्यगत समझदारी (एमओयू) गरिसकेको छ । लक्ष्यअनुरूपको विद्युत् उत्पादन गर्ने गरी सरकारले सौर्य ऊर्जालाई पनि सहज वातावरण बनाउन थालेको छ । त्यस्तै, विभागले चिनीको उत्पादन गरेपछि आउने बगासबाट ६ मेगावाटका दुई आयोजनालाई निर्माणको अनुमति र १५ मेगावाटको एक आयोजनालाई अध्ययन अनुमति दिएको छ । विभागले हावाबाट बिजुली उत्पादनका लागि ८ मेगावाटका चारवटा आयोजनालाई अध्ययन अनुमति दिएको छ भने एक आयोजनाले अध्ययनको अनुमति माग गरेको छ ।