काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपाल टेलिकमले कर र गैरकरबापत २५ अर्ब ७६ करोड र डिभिडेन्डबापत ७ अर्ब ५५ करोड गरी ३३ अर्ब ३१ करोड रुपैयाँ सरकारी राजस्वमा दाखिला गरेको छ ।
नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं वार्षिकोत्सव बुधबार मनाउने क्रममा सो जानकारी दिएको हो । कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे । उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवामा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकूल विभिन्न स्मार्ट सेवा वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवा गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नुपर्ने बताए । उनले यसका लागि बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने र गुणस्तरीय सेवा उपलब्ध गराइने जानकारी दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौताअनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधार सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था’bout जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महŒवाकांक्षी र चुनौतीपूर्ण लक्ष्यअनुरूप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पु¥याइएको बताए । उनले स्थानीय टेलिफोन सेवाको रूपान्तरणका लागि एफटीटीएच परियोजनालाई अघि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवासमेत एफटीटीएचमार्फत प्रदान गरिने बताए ।
नेपाल टेलिकमले वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि विभिन्न छुट तथा अफर उपलब्ध गराएको छ । त्यसैगरी कम्पनीले थप नयाँ सुविधा र विशेषता समेटिएको नवीन अफिसियल वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीको नयाँ वेबसाइट प्रयोग गरी कम्पनीद्वारा प्रदत्त सम्पूर्ण सेवा सहजै प्रयोगमा ल्याउन, रिचार्ज गर्न, शुल्क बुझाउन सहज हुनेछ । ग्राहकलाई अतिरिक्त सुविधा उपलब्ध गराउन कम्पनीले नबिल बैंकसँगको सहकार्यमा मास्टर कार्ड, भिसा कार्डबाट नेपाल टेलिकमका मोबाइल सेवामा रिचार्ज गर्न तथा बिल भुक्तानी गर्न सकिने सुविधा ल्याइएको छ ।
नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपाल’ अभियानअन्तर्गत सूचना र सञ्चार प्रविधिको क्षेत्रमा नेपाल टेलिकमले एक सशक्त र जिम्मेवार साझेदारका रूपमा आफ्नो योजना तथा कार्यक्रम अघि बढाएको छ । डिजिटल नेपालको अभियान तथा नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि भौगोलिक जटिलताका बाबजुद देशभरका पर्यटकीय क्षेत्रमा नवीनतम दूरसञ्चार सेवा पु¥याई ती स्थानलाई पर्यटकहरूका लागि थप आकर्षक बनाउन पनि कम्पनी प्रयासरत रहेको उल्लेख गरेको छ ।