आधुनिक विश्व लोकतन्त्रको पक्षमा आफ्नो प्रतिबद्धता जाहेर गर्दै छ । सर्वसत्तावाद, तानाशाहीतन्त्र र साम्यवाद क्रमशः लोप हुँदै गएका छन् । राजतन्त्र भएका धेरै देशले यस संस्थालाई सामन्तवादको प्रतीकका रूपमा आत्मसात् गर्दै गणतन्त्रउन्मुख भइराखेका छन् । राजनीतिक प्रणालीका सबल र दुर्बल पक्षभन्दा पनि त्यसबाट देश र जनताले प्राप्त गर्न सकेको उपलब्धि’bout विश्लेषण गर्ने प्रवृत्ति बढ्दै गएको छ । विश्वका अधिकांश देशले स्वीकार गर्दै गएका लोकतन्त्रवादी व्यवस्था समेत संकटमा पर्दै गएको स्थिति छ । लोकतन्त्रका खराबीलाई यथा समयमा नियन्त्रण गर्न नसक्दा कतिपय देशले असल शासनको अनुभूति गर्न पाएका छैनन् ।
स्वतन्त्र र उन्मुक्त वातावरणमा बाँच्न पाउने अधिकारका कारण मानव जातिको आकर्षण बन्दै गएको लोकतान्त्रिक प्रणालीको नेतृत्व गर्ने कुपात्रका कारण यो असफल हुँदै गएको र आलोचित बन्दै गएका उदाहरण विश्व परिवेशमा सघन रूपमा देखिन थालेका छन् । त्यसैले देशमा कस्तो प्रकारको शासन प्रणाली छ भन्नेभन्दा यसलाई नेतृत्व प्रदान गर्नेहरू कस्ता शासकीय शैलीमा अभ्यस्त छन् ? भन्ने विषय बढी निर्णायक भएको पाइन्छ । लोकतन्त्रकै आधारमा शासन प्रणाली सञ्चालन गर्दै देशको भलाइका लागि तानाशाहकै रूपमा प्रस्तुति दिने शासक समेत अपवादकै रूपमा भए पनि सफल प्रमाणित भएका छन्, यद्यपि तुलनात्मक रूपमा अन्य शासन प्रणाली अवलम्बन गर्नेभन्दा लोकतान्त्रिक प्रणालीलाई आत्मसात् गर्ने देश नै समृद्धिको गन्तब्यतर्फ अघि बढेको स्थिति छ ।
भारतमा मुगलहरू र ब्रिटिसको शासन लामो समयसम्म रह्यो, देश स्वतन्त्र भएको लामो अवधि व्यतित हुँदा समेत त्यस देशमा भ्रष्टाचार र सामाजिक विकृतिका खासै सुधार आउन सकेको छैन । अपवादबाहेक लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएकाहरू अत्यन्त भ्रष्ट देखिँदै गएका छन् । लामो समय सम्मको दासत्व शैलीमा अभ्यस्तमा आफ्नो संस्कारमा सुधार ल्याउने कार्य प्रभावकारी रूपमा वर्तमान समयसम्म आइपुग्दा पनि हुन सकेन । उपनिवेशमा रहेका, विदेशी हस्तक्षेपबाट आक्रान्त भएका देशमा दासत्व प्रवृत्ति ज्यादा हुन्छ, यस्तो दासत्वले सबै प्रकारका विकृति आमन्त्रण गर्दछ । यही सन्दर्भमा हाम्रो सामाजिक परिवेश, राजनीतिक प्रणाली, सुशासनको अवस्था सबै निर्धारित हुन पुगेको परिवेशलाई स्मरण गर्नुपर्ने हुन्छ । हामी सधै राजनीतिज्ञ र सरकारमा रहनेहरूलाई दोषारोपण गर्न अभ्यस्त छौं, हाम्रै बीचबाट शक्तिमा पुगेका सबै खराब र उनैलाई जिम्मेवारीमा पु¥याउने हामी नागरिक सबै इमानदार र कर्तव्यनिष्ट एवं चरित्रवान् हुनसक्ने स्थितिको कल्पना गर्नु अत्यन्त असान्दर्भिक र अपरिपक्वता देखिनेछ ।
राजनीति गर्नेहरू मात्र हामीभन्दा विशुद्ध पृथक पात्र हुन सक्दैनन् । हामी सर्वसाधारणजस्तै हाम्रा प्रतिनिधि पनि बेइमान, स्वार्थी र भ्रष्टाचारीका रूपमा रूपान्तरित भएका छन् । गलत प्रवृत्तिको दास बनेका छन् । देशको जनसंख्याको मूल प्रवाह यसैमा अभ्यस्त छ । मतदाता नागरिक र राजनीति गर्नेका बीच अधिकारको भिन्नता छ, मतदाताहरू आफ्नो सार्वभौम अधिकारको सदुपयोग नगरी आफ्ना प्रतिनिधिका रूपमा गलत पात्रलाई छनोट गर्न पुग्दछन्, नागरिकले प्रशिक्षित गरी पठाएका यिनीहरू नेतृत्वमा पुगेर शक्ति आर्जन गर्दछन्, सबै प्रकारका अधिकारको दुरूपयोग गर्दछन् र भ्रष्टाचारमा लिप्त हुन पुग्दछन् । मतदाता एक दिन मतको दुरूपयोग गरेर आफ्नै मतबाट शक्तिमा पुगेकाको आलोचना गर्दै मूल्यावान् समय व्यतित गर्दछन्, अर्को निर्वाचनमा तिनै आलोचित पात्रलाई मत दिन सहज महसुस गर्दछन्, आफ्नो गलत निर्णयको आत्मसमीक्षा गर्दै अधिकारको सदुपयोग गर्दैनन्, आफंैले निर्वाचित गरी पठाएका प्रतिनिधिको बदनाम गरेर सन्तुष्टि लिन्छन्, यो चक्रीय प्रणालीका रूपमा नेपालमा विकसित भइरहेको छ, हाम्रा प्रतिनिधि र हामी मतदाता दुवैले आफ्नो अधिकारको दुरूपयोग गरेको अवस्था प्रस्ट भएको छ ।
हामी सर्वसाधारणजस्तै हाम्रा प्रतिनिधि पनि बेइमान, स्वार्थी र भ्रष्टाचारीका रूपमा रूपान्तरित भएका छन्
हामीहरू कतिपयले पटक पटक देशले अवलम्बन गरिआएको लोकतान्त्रिक प्रणालीको समेत खुलेर आलोचना गरिरहेको स्थिति छ । निर्वाचनमा नेपाली मतदातालाई राजनीतिज्ञले ध्रुवीकृत गराएका छन् भन्ने आरोप राजनीतिज्ञमाथि लागेको छ । हामीले अरूको अधिकार, स्वतन्त्रता, धर्म, रीतिरिवाज र संस्कृतिको सुसभ्य नागरिकको पहिचान दिँदै पूर्णसम्मान गर्ने दृढता व्यवहारमा गर्न सक्नु पर्दछ । समाजमा जातपात छुवाछुत आदिका आधारमा विभेदपूर्ण व्यवहार गर्दा हामीलाई थोरै मात्र पनि असहज हुँदैन । हामीले सम्पन्न कुलिन ब्राह्मण परिवारको सदस्यले गरीब दलित परिवारको कन्यासँग मागी विवाह गर्न सक्ने साहस गर्न सक्दा मात्र छुवाछुतजस्तो सामाजिक अन्धविश्वासमा सुधार गरी सामाजिक परिवर्तन गर्न सक्दछौँ, विभेदपूर्ण व्यवहारबाट उन्मुक्ति पाउन सक्दछौँ, यसका लागि हाम्रो सामाजिक परिवेशमा सुधार हुनु जरूरी छ । यस प्रकारको समाज सुधारकका रूपमा उपस्थिति दिन सक्ने व्यक्ति र त्यसलाई स्वीकार गर्ने समाजकै अभाव छ, यस परिवेशमा छुवाछुतविरुद्ध सैद्धान्तिक अभिव्यक्ति दिएर खासै प्रयोजन रहँदैन ।
व्यवहारमा स्वीकार गर्न नसक्दा विभेदपूर्ण व्यवहारको अन्त्य गर्न सम्भव हुँदैन । हाम्रा राजनीतिक नेता हामीमा रहेको कमी कमजोरीसँग परिचित छन्, त्यसैले हामीलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दछन् प्रयोजन सकिए पश्चात् परित्याग गर्दछन् । यस यथार्थताको पहिचान हामीहरूले गर्न सक्नु पर्दछ । हामीलाई हाम्रा नेताले यस प्रकार प्रयोग गरेकोमा उनीहरूलाई दोषारोपण गर्नु भन्दा पनि यो अवसर हामीले नै उनीहरूलाई स्वतस्फूर्त रूपमा प्रदान गरेका हौं । निर्वाचन खर्चिलो भयो, निर्वाचनमा मत खरिद गरेर सत्तामा पुगेका अत्यन्त भ्रष्ट भएकाले निर्वाचन प्रणालीमा नै पुनरावलोकन हुनुपर्ने दाबी नागरिकले गरिराखेको देखिन्छ, हामी आफ्नै क्षणिक स्वार्थमा बेचिएको पक्षलाई विस्मरण गर्दछौं । पवित्र मतको महत्वबोध हामीमा भएन । आफ्ना अनियमित कार्यको संरक्षण गरिदिने राजनीतिज्ञप्रति हामी आकर्षित भई मतपत्रको सही प्रयोग गर्न नसकेको अवस्था छ ।
आफूबाहेक सबैलाई भ्रष्ट देख्ने हामी आफंै भ्रष्ट भएको तर्फ ध्यान दिनुपर्दछ, हामीले भ्रष्टाचारलाई दैनिकी बनाउँदै यस विकृतिको विरोध गरिराखेको अवस्था त छैन । आफूलाई फाइदा हुने अवस्थामा हामी स्वयं भ्रष्ट बनेको अवस्था छ । व्यापारी, उद्योगपति र कर्मचारीका बीचमा देखिने मित्रवत् व्यवहार, ठेकेदार र इन्जिनियरका बीचको लेनदेन, राजनीतिज्ञ र उद्योगी व्यापारीका बीचको गठबन्धन आदि भ्रष्टाचारका स्रोत हुन् । दहेज प्रथाबाट आजित भई दाम्पत्य जीवन मात्र होइन, जीवनलीला नै जोखिममा परेका महिलाले आफ्ना पति र घर परिवारविरुद्ध न्याय प्राप्तिका लागि तयार भएको अवस्था समेत उल्लेखनीय देखिँदैन । त्यसैले राजनीतिज्ञ पनि हामी जस्तै हुन् हाम्रै व्यवहार कार्यशैली सीप, कला कौशल सिकेर सत्तामा पुगेका हुन्, समाजले ठीक पथप्रदर्शन गर्न सक्दा यस प्रकारका सामाजिक विसंगति नियन्त्रण हुन सक्दछ । अधिकांश नागरिक भ्रष्ट छौं, देशले अवलम्बन गरी आएको लोकतान्त्रिक पद्धतिमा इमानदार र नैतिकवान् व्यक्ति अपवादका रूपमा समेत नेतृत्वमा पाउन कठिन भएको छ ।
लोकतान्त्रिक प्रणालीको नेतृत्व गर्ने कुपात्रका कारण यो असफल र आलोचित बन्दै गएको छ
एक इमानदार नेता सर्व जन हितायमा र धनी एवं गरीबकबीचको दूरीलाई कम गर्न समर्पित रहन्छ, कानुन कार्यान्वयन गर्ने निकायमा भ्रष्टाचार नियन्त्रण गर्न लागिपर्दछ । राष्ट्र राष्ट्रियता र राष्ट्रवासीको समृद्धिका लागि चिन्तन गर्दछ, सार्वजनिक निकायलाई पारदर्शी बनाउन तल्लीन रहन्छ, स्वार्थलोलुप भ्रष्ट माफियालगायतका अपराधीलाई राजनीति गर्ने ढोका सधैंका लागि बन्द गर्न प्रयास गर्दछ, देशको रूपान्तरणका लागि दीर्घकालीन सोचका साथ काम गर्दछ, सार्वजनिक सेवालाई सहज सरल र गुणस्तरीय बनाउन भगीरथ प्रयास गर्दछ, परिणामस्वरूप हाम्रो समाजमा उसको कार्यशैली इमानदारिता र देश एवं जनताप्रतिको निष्ठाभाव व्यवहारमा परिणत हुँदै गर्दा जिम्मेवारीबाट वन्चित हुनुपर्दछ, लामो समयदेखि सच्चा जनप्रेमी राजनीतिक नेतृत्व देशले प्राप्त गर्न सकेको छैन ।
त्यसैले लोकतन्त्रका लामालामा वक्तव्र्यबाजी नगरी व्यवहारमा देशका लागि केही राम्रा कार्यको थालनी गर्ने इमानदार नेताको शासन जरूरी देखिएको छ । तर, जनताको पक्षमा कार्य गर्ने नेता आफंैमा लोकतन्त्रवादी हुने भएकाले हाम्रो परिवेशमा यस प्रकारको नेतृत्व प्राप्त गर्ने सन्दर्भ उत्तिकै चुनौतीपूर्ण रहेको छ । खोजिपस्दा यस प्रकारको नेतृत्व देशले प्राप्त गर्न सक्दछ, तर प्रदूषित भ्रष्ट र स्वार्थीको बाहुल्यता भएको प्रायः माफियाबाट नियन्त्रित समाजले यस प्रकारको आदर्श र समग्र समाजका लागि समर्पित हुने व्यक्तिलाई नेतृत्वमा पुग्न र निरन्तरता प्रदान गर्न दिँदैन । एक इमानदार नेताले पनि भ्रष्टाचारलाई समूल समाप्त गर्न सक्दैन तर कडा कारबाहीबाट हतोत्साही गर्न सक्दछ । कारबाही गर्दा मृत्युदण्डको व्यवस्था भएका देशभन्दा सामाजिक दबाबबाट नागरिकले क्रियाशीलता प्रदर्शन गर्दा भ्रष्टाचारजन्य अपराध घट्दै गएका र समाज एवं शासकीय शैलीमा सुधार भएको उदाहरण विश्व परिवेशमा पाउन सकिन्छ, उदाहरणका रूपमा चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिने गरिए पनि त्यहाँ भ्रष्टाचार खासै नियन्त्रण हुन भने सकेको छैन ।
बरु राजनीतिक प्रतिशोध लिने हथ्कण्डाका रूपमा यो दण्डलाई लिने गरिएको आरोप पनि चीनमाथि छ । डेनमार्क सामाजमा आएको सुधारबाट भ्रष्टाचार नियन्त्रण गर्न सफल हुँदै आएको छ, भ्लामिदिर पुटिन, सिल्भिया बार्लुस्कोनी, ह्युगो चाभेज सबैले भ्रष्टाचार नियन्त्रण गर्ने नारालाई शक्तिमा पुग्ने माध्यम बनाए । तर, पनि परिणाम सकारात्मक आउन सकेन । हंककंगमा नागरिक दबाब र सचेतनाकै कारण सामाजिक विकृतिमा उल्लेखनीय सुधार भएको छ । वर्तमान समयमा नागरिकमा आएको चेतना, सञ्चारमाध्यमको प्रभावकारिता, राष्ट्रिय चिन्तनका साथ सेवाभावले राजनीतिमा लागेकाको क्रियाशीलताका कारण अधिकारको दुरुपयोग र भ्रष्टाचारजन्य व्यवहारलाई सर्वत्र भत्र्सना गर्न थालिएको छ, यसले सामाजिक विकृतिको सुधारमा उल्लेखनीय सहयोग पुगी असल शासन कायम गर्न योगदान दिने स्थित छ । त्यसैले सबै प्रकारका विकृतिको नियन्त्रण गर्दै, देशलाई सुशासन र समृद्धिको दिशामा अभिमुख बनाउन समाजमा सबै प्रकारका सकारात्मक रूपान्तरण हुनु अत्यावश्यक छ । एकवर्गले अर्को वर्गको आलोचना गरेर समस्याको समाधान सम्भव हुँदैन, किनकि हामी सबै जुनसुकै पेसावलम्बी भए पनि हाम्रो उत्पत्ति र विकास यही समाजमा भएको छ । त्यसैले सामाजिक रूपान्तरणका दिशामा हामी सबै प्रतिबद्ध नहुँदासम्म यस प्रकारका विकृति र विसंगतिमा मौलिक रूपमा सुधारको अपेक्षा गर्नु अस्वाभाविक हुने छ ।






