निर्जीवन बिमा कम्पनीले तीन महिनामै उठाए झन्डै १० अर्ब रुपैयाँ प्रिमियम

काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८-८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ८८ प्रतिशतले बढी हो ।

यी बिमा कम्पनीहरूले गत आव २०७७÷७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बिमाशुल्क संकलन गरेका थिए ।

शिखर इन्स्योरेन्स पहिलो स्थानमा

नियामक निकाय बिमा समितिका अनुसार हाल सञ्चालित विभिन्न २० बिमा कम्पनीहरूले गत असोजसम्ममा ७ लाख ३० हजार ९ सय ९७ वटा बिमालेख बिक्री गरी कुल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम रकम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । सो कम्पनीले तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ । यो अवधिमा यस कम्पनीले ६७ हजार ९७ वटा बिमालेख बिक्री गरिसकेको बिमा समितिले जनाएको छ ।

समितिका अनुसार सो अवधीमा सबैभन्दा बढी संख्यामा बिमालेख बिक्री गर्ने कम्पनीहरूमा नेको इन्स्योरेन्स अघि रहेको छ । सो इन्स्योरेन्सले तीन महिनाको अवधिभित्र कुल ८१ हजार ५५६ वटा बिमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो कम्पनी बिमाशुल्कको आधारमा भने विगतका वर्षहरूमा झैं तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, सबैभन्दा बढी बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । सो इन्स्योरेन्सले ६६ हजार ९ सय ४० वटा बिमालेख जारी गरी कुल ९० करोड ६७ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बिमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनवटा इन्स्योरेन्स कम्पनीहरूले क्रमशः ६३ हजार वटा, ५४ हजार वटा र ३८ हजारवटा बिमालेख बिक्री गरिसकेका छन् ।

यस अवधिमा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बिमा कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा रहेको देखिएको छ । यी दुईवटा बिमा कम्पनीले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बिमा कम्पनी केही अघि रहेको छ भने सबैभन्दा बढी बिमालेख बिक्री गर्नेमा युनाइटेड इन्स्योरेन्स निकैले अगाडि पर्न सफल भएको समितिले जनाएको छ ।

यसैगरी, ४० करोडभन्दा बढी प्रिमियम रकम उठाउने बिमा कम्पनीहरूमा हिमालयन जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईवटा बिमा कम्पनीले सो अवधिमा क्रमशः ४२ करोड ४६ लाख रुपैयाँ र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको समितिले जनाएको छ । समितिका अनुसार न्यूनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सातवटा निर्जीवन बिमा कम्पनी रहेका छन् ।

जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल तथा नेपाल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सले क्रमशः ३६ करोड ३७ लाख रुपैयाँ र ३६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसैगरी, ३४ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल इन्स्योरेन्सलाई काउन्टर दिँदै एभरेस्ट इन्स्योरेन्स कम्पनीले ३४ करोड २ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी, ३० करोड रुपैयाभन्दा कम बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा तीनवटा कम्पनी नेशनल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा न्यून अर्थात् २२ करोड ३७ लाख रुपैयाँ बराबरको मात्र प्रिमियम उठाएको समितिले जनाएको छ ।

समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले लामो समय भोग्नुपरेको कोरोना महामारिको कहर बिस्तारै कम हुँदै मुलुकको आर्थिक गतिविधि चलायमान भएसँगै हाल निर्जीवन बिमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा यतिधेरै बिमाशुल्क तथा प्रिमियम संकलन गर्न सफल भएको बताए । उनले यो अवधिमा संकलन भएको प्रिमियम रकम अपेक्षा गरिएको भन्दा राम्रो नै भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा खाता एमालेले खोल्यो