काठमाडौं । चीनबाट नेपाल फर्किने नेपाली नागरिकलाई राख्ने व्यवस्था मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुलाई बोलाएर उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार ठाउँमा राख्ने व्यवस्था मिलाइने भएको छ । बैठक राखी उक्त चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । उनीहरुलाई नेपाल फिर्ता ल्याउने तयारी पूरा भइसकेको सरकारले बताउँदै आएको छ । तर फिर्ता ल्याएपछि कुन ठाउँमा राख्ने भन्ने तय भइसकेको थिएन ।