एमाले १०औं महाधिवेशनः उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन ।

हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्ताबेज प्रस्तुत नहुने बताए ।

‘यो महाधिवेशनमा कुनै दस्तावेज पेस हुनेछैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटनपश्चात् बन्द सत्र सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढनेछ’ अधिकारीले भने ।

महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । प्रथम विधान महाधिवेशनमा सबै दस्ताबेजमाथि छलफल भएको र सो विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेको उनले बताए । अब नेतृत्व चयनमै महाधिवेशन केन्द्रित हुने अधिकारीले बताए । यद्यपि अध्यक्षको तर्फबाट एउटा सानो आकारको राजनीतिक प्रतिवेदन आउन सक्ने उनले बताए ।

बढ्यो महाधिवेशन प्रतिनिधि संख्या
महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सदस्यले प्रतिनिधि संख्या बढाउन सुझाव दिएपछि स्थायी कमिटी बैठकले गरेको निर्णयमा संशोधन गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या बढाउने निर्णय गरेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने बताए ।

यसअघि बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । विभिन्न मापदण्डका आधारमा यी प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ ।

एकै दिन महाधिवेशन प्रतिनिधि निर्वाचन
यसैबीच २७ कात्तिकमा देशैभरि एकैचोटि महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय एमालेले गरेको छ । २७ कात्तिकमा देशैभरि एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय बैठकले गरेको सचिव ज्ञवालीले बताए ।

एमाले सचिव ज्ञवालीले स्थायी कमिटीको बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार महाधिवेशनमा प्रतिनिधि सभहभागी हुने बताए । केन्द्रीय कमिटीको अर्को बैठक चितवनमा महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने निर्णय गरिएको छ ।

बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ छन् । यसअघि नै नेता रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ ।

१०औं महाधिवेशनमा १० देखि १२ मंसिरमा चितवनमा हुने निर्णय यसअघि नै भइसकेको छ ।

इलेक्ट्रोनिक मेसिनबाट मतदान
एमालेले १०औं महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको निर्वाचनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले त्यसको प्रयोग गर्दै शुक्रबार नै परीक्षण गरेको सचिव ज्ञवालीले बताए । यसका लागि निर्वाचन आयोगले आवश्यक सहयोग गर्ने भएको छ ।

यसअघिका निर्वाचनमा मतदान पत्र कागजी हुन्थ्यो । तर, पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोग गर्दै एमालेले १०औं महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गरी मतदान प्रक्रिया सम्पन्न गर्ने भएको छ ।

‘महाधिवेशनमा हामीले सकभर सर्वसम्मत पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन गर्नेछांै । यदि त्यसो हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाद्वारा हामीले निर्वाचनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गर्नेछौं’ ज्ञवालीले भने ।

पार्टीमा चिठीको क्षेप्यास्त्र प्रहार भयो
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा चिठीको क्षेप्यास्त्र प्रहार भइरहेको टिप्पणी गरे । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्रको कुनै आवश्यकता नभएको बताए ।

उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै अध्यक्ष ओलीले त्यस्ता चिठीहरूको जवाफ दिन आवश्यक नरहेको बताए । यस्ता चिठीको यहाँ के काम ? भन्दै उल्टै ओलीले प्रश्न गरे ।

बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (एमाले उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र ?, यस्ता चिठीको जवाफ दिइराख्न आवश्यक नै छैन ।’

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार आक्रामक रूपमा प्रस्तुत भएका अध्यक्ष ओलीले आफ्ना असहमति वा कुनै कुरा भए पार्टी बैठकमै राख्नुपर्ने बताए ।

ओली र रावलबीच चर्काचर्की
यसैबीच, बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । बैठकमा १० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर ओली र रावलबीच चर्काचर्की भएको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओली र रावलबीच चर्काचर्की भएपछि अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले शान्त बनाएका थिए ।

बैठकमा उपाध्यक्ष रावलले पूर्वसहमतिअनुसार १० बुँदे कार्यान्वयन नभएको गुनासो गर्दैगर्दा बीचमै ओलीले रोकेका थिए । रावलले प्रश्न उठाउँदै गर्दा ओलीले हस्तक्षेप गर्दै १० बुँदे सहमतिको औचित्य सकिसकेको जवाफ दिएका थिए ।

रावलको कुरा पूरा नहँुदै बीचमै रोकेका अध्यक्ष ओलीले भने, ‘तपाईंले सक्नुभएन राजीनामा दिनुभयो त म के गरौं ? अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपादेयता पनि सकियो । किन कार्यदल चाहियो ? तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’

पार्टीभित्र कुनै समस्या देखिएमा अब सो समस्या’bout पार्टी बैठकमै छलफल हुने उनले बताए । अब कुनै कार्यदलको अहिले आवश्यकता पनि नभएको बताउँदै अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीमै छलफल गर्न निर्देशनसमेत दिए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

दुई केन्द्रीय सदस्यले लिए शपथ
केन्द्रीय कमिटीमा मनोनीत भएका दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनीत कुन्दन कुशवाहा र महमद समिरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले उनीहरूलाई शपथ खुवाउँदै गर्दा उपाध्यक्ष रावलले आपति जनाएका छन् । यसअघि बसेको स्थायी कमिटी बैठकले एमालेबाट असन्तुष्ट भनिएका नेता प्रभु साहनिकटका कुश्वाहा र समिरलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठकमा समेत उपाध्यक्ष रावलले मनोमानी रूपमा सदस्य नथप्न भन्दै आपति जनाएका थिए ।

कुश्वाहा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट माओवादी केन्द्रको उम्मेदवारका रूपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । त्यसैगरी, समीर माओवादी केन्द्रको सिफारिसमा प्रदेश २ को समानुपातिक सांसद थिए । दुवै नेता साहसँगै लागेपछि पार्टीले सांसद पदबाट कारबाही गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो