गीत संगीतमा छायो यो वर्षको देउसी–भैलो

काठमाडौं । यो वर्षको तिहार नजिकिँदै छ । तर, नेपाली गायक गायिकालाई भने केही दिन अघिबाटै तिहारको भ्याइनभ्याइ छ । यो वर्षको तिहारलाई लक्षित गरेर केही कलाकारले तिहार तथा देउसी–भैलो गीत बजारमा ल्याइसकेका छन् । केही कलाकारले तिहार गीतको भिडियो ल्याउने तयारी गरिरहेका छन् । केही कलाकार भने अझै तिहार गीत भिडियो छायांकनकै चटारोमा छन् ।

यसैक्रममा विगतझैं यसपटक पनि गायक पशुपति शर्माले तिहार गीत बजारमा ल्याएका छन् । अघिल्लो वर्षको आफ्नो देउसी–भैलो गीतलाई रुचाएपछि त्यो दोस्रो संस्करणको रूपमा यसपटक फेरि देउसी–भैलो गीत बजारमा ल्याएको उनले बताएका छन् ।

यसपटक यो गीतमा गायक पशुपति शर्मालाई गायिका शान्तिश्री परियार र सुप्रिम मल्ल ठकुरीले साथ दिएका छन् । मोडल अञ्जली अधिकारीसँगै विभिन्न कलाकारसँग यो गीतको भिडियोमा पशुपति आफैं पनि देउसी भट्याउँदै प्रस्तुत भएका छन् । यसपटक आफूले आफ्नो संस्कृतिलाई बचाउन यो गीतबाट महत्व दिएको उनले बताएका छन् । एक सातामै ७ लाखभन्दा बढी भ्युज पाएको आफ्नो गीतलाई दर्शकले सोचेभन्दा राम्रो रुचाएको यी गायकले बताएका छन् ।

गायक बद्री पंगेनीले यसपटक दुईवटा तिहार गीत ल्याएका छन् । बद्रीको एउटा गीत चार दिनअघि रिलिज भएको हो । उनले चार दिनअघि परदेशी दाइको तिहार गीत दर्शकमाझ ल्याएका हुन् । यो गीतमा तिहारको सुन्दरतासँगै देउसी र भैलोको महिमा गाइएको छ । गीतमा गायक पंगैनी देउसी भट्याउँदै प्रस्तुत भएका छन् । आफूले तिहारको मौलिक पनालाई नै यसपटक पनि यो गीतमा महŒव दिएको यी गायकको कथन छ । विदेशमा रहेका नेपालीहरू तिहारमा घर आउन नसक्दाको अवस्थामा चेलीहरूको पीडालाई यो गीतमा प्रस्तुत गरिएको गायक पंगेनीले बताए । यो गीतमा बद्री पँगेनीसँगै शिला आलेको स्वर रहेको छ । गीतमा बद्रीलाई अभिनयमा अञ्जली अधिकारी, लोमश शर्मालगायत विभिन्न कलाकारले साथ दिएका छन् । यो गीतको भिडियोले करिब १ लाख भ्युज पाएको छ ।

बद्रीको अर्को गीत देउसी भैलो एक साताअघि बजारमा आएको हो । यो गीतमा देउसी भैलीसँगै नृत्यलाई महŒव दिइएको छ । यसलाई देउसीभन्दा पनि तिहार गीतको रूपमा उनले लिएका छन् । तिहारमा लाहुरे घर आउँदा मनमा उमंग छाएको कुरा यो गीतमा उल्लेख गरिएको छ । यो गीतमा बद्रीलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन् । यो गीतले एक सातामा जम्मा ६५ हजार मात्र भ्युज पाएको छ ।

यस्तै, गायक राजु परियार र गायिका दिलमाया सुनारले पनि नृत्य प्रधान देउसी भैलो गीत एक साताअघि बजारमा ल्याएका छन् । यो गीतमा देउसीसँगै नृत्यलाई महŒव दिइएको छ । नाच्न गाउनलाई कोरोनाले नछेक्ने सन्देश आफूूहरूले यसमा दिएको गायक राजुको कथन छ । यो गीतको भिडियोले १ सातामा करिब ४ लाख दर्शकको भ्युज पाएको छ । यो गीतमा पनि देउसीको परम्परागत शैलीलाई नै महŒव दिएको छ । राजुको भनाइमा पनि देउसी भैलोको परम्परालाई अघि बढाउन यो गीतको भिडियो ल्याइएको हो ।

यस्तै, गायक अलिफ खान र गायिका शर्मिला गुरुङले पनि यो वर्षको तिहारलाई लक्षित गरेर तिहार गीत बजारमा ल्याएका छन् । स्टुडियोमा छायांकन गरिएको यो गीतलाई दोहोरी शैलीमा प्रस्तुत गरिएको छ । देउसीको पारम्पारिक भाका समेटिएको यो गीतले पनि एक सातामा ३ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

यस्तै, विगतका वर्षमा तिहार गीत ल्याएर विवादमा परेका गायक तथा मोडल दुर्गेश थापाले बिहीबार मात्र यो वर्षको तिहारका लागि नयाँ गीत ल्याएका छन् । अरूको तुलनामा दुर्गेशको गीत आधुनिक पप शैलीको छ । देउसी भैलो रमाइलो बोलको उनको यो गीतमा तिहारमा जसरी नाच्दा पनि हुने कुरालाई उनले महत्व दिएका छन् । यो गीतको भिडियोमा युवा र युवतीबीचको गायन प्रतिस्पर्धा प्रस्तुत गरिएको छ । आफूले यो गीत युवा वर्गलाई लक्षित गरेर ल्याएको दुर्गेशको कथन छ ।

यी मात्र हैन, अरू थुप्रै गायक गायिकाहरूले यो वर्षलाई लक्षित गरेर तिहार गीत ल्याएका छन् । यो एक सातामा तीन दर्जनभन्दा बढी तिहार गीत बजारमा आइसकेका छन् । अझै आगामी एक सातासम्म यो वर्षका लागि तिहार गीत आउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 921 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम