रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीन वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यममा जनाइएको छ ।
उनीहरूलाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले उल्लेख गरेका छन् । पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्य देशका प्रभावशाली व्यक्तित्व भएको जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।
सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए ।
सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले शासन गर्दै आएका थिए । गिरफ्तार गरिएका तीन जना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ छन् ।
मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिक मन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्ड मास्क लगाएर कालो पोसाकमा आएका र उनीहरूका घर खानतलासी गरेका द वाल स्ट्रिट जर्नलले जनाएको छ । साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६ मा आर्थिक र सामाजिक सुधारका कार्यक्रम घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको थियो । तर, उनी इस्तानबुलस्थित साउदी दूतावासमा भएको साउदी पत्रकार जमाल खसोग्जीको हत्याकाण्ड लगायत मुछिएका छन् ।
पछिल्लो समयमा राजपरिवारका वरिष्ठ सदस्यलाई पक्राउ गरिएको घटनालाई साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आफ्नो शक्ति एकत्रित पार्ने प्रयत्नका रूपमा हेरिएको छ ।
राजकुमार अहमद बिन अब्दुल अजिज देशका संस्थापक राजा अब्दुल अजिजका जीवित एक मात्र सन्तान र सत्तासीन परिवारका पाका सदस्यमा प्रिय पात्र थिए ।
अर्का वरिष्ठ राजकुमार मोहम्मद बिन नायेफ अकस्मात् तीन वर्षअगाडि नहटाउँदासम्म राजगद्दीका उत्तराधिकारी थिए । त्यसअघि आन्तरिक मन्त्रीका रूपमा अल–कायदा लडाकूलाई सन् २००० ताका परास्त पारेको श्रेय पाएका थिए ।
अहिलेसम्म अमेरिकी सञ्चारमाध्यममा छापिएका यी समाचारको खण्डन गरिएको छैन । तर, साउदी अरेबियामा राजदरबारका मामिला प्राप्य गोप्य राख्ने प्रयत्न गरिन्छ । पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ ।
विदेशी तीर्थयात्रुलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ भने धेरै महŒवपूर्ण वार्षिक हज होला कि नहोला भन्ने प्रश्न उठेको छ । गत बिहीबार इस्लाम धर्मावलम्बीको पवित्र सहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो ।