बाकसमा फर्किन रीता, शव नेपाल पठाउने प्रक्रिया जटिल

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा इराकमा रहेकी गोरखाकी एक नेपाली महिलाको शव लामो प्रयासपछि नेपाल पठाइएको छ। गोरखाको धावा–३ तान्द्राङ घर भई विगत करिब दश वर्षदेखि इराकको कुर्दिस्तान क्षेत्र अन्तर्गत सुलेमानीमा कार्यरत रिता भुजेल मृत अवस्थामा भेटिएपछि उनको शव स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले पहल गरेको जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार भुजेल गत मार्च महिनाको अन्तिम साता आफू बस्दै आएको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि शवको पहिचान, कानुनी प्रक्रिया, सम्बन्धित निकायसँग समन्वय तथा नेपाल पठाउने कार्यमा लामो समय लागेको उनले बताए।

अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका समस्या र मृत्यु पश्चात् शव व्यवस्थापनको विषय अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै बेवारिसे अवस्थामा रहेका शवहरूको व्यवस्थापनमा विभिन्न चुनौती सामना गर्नुपरेको बताए। उनका अनुसार धेरैजसो अवस्थामा मृतकका परिवार, रोजगारदाता कम्पनी तथा सम्बन्धित निकायबीच समन्वय गर्न कठिन हुने गरेको छ।

उनले भने, “शव नेपाल पठाउने प्रक्रिया निकै जटिल छ। कतिपय अवस्थामा आर्थिक क्षतिपूर्ति पाउने शवहरू चुपचाप नेपाल पुगिसक्छन्, तर यहाँ महिनौंसम्म अलपत्र परेका बेवारिसे शवहरूको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ। यस्ता शवहरूको व्यवस्थापनका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौं।”

श्रेष्ठले आफू र आफ्नो संस्थामाथि विभिन्न आरोप लगाउने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले शव व्यवस्थापन तथा उद्धारका काममा पारदर्शी ढंगले काम गर्दै आएको दाबी गर्दै भने, “आजसम्म मैले कुनै पनि काम व्यक्तिगत रूपमा गरेको छैन। सबै सरोकारवालालाई समेटेर, बैठक र छलफलमार्फत निर्णय गरेर मात्र काम गरिएको छ। शव पठाउनेदेखि उद्धारका कामसम्ममा हामीले सक्दो सहयोग गरेका छौं।”

उनले केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत निराधार आरोप लगाउँदै आएको गुनासो गर्दै वास्तविक समस्या समाधानभन्दा पनि आलोचना गर्ने प्रवृत्तिले काम गर्न कठिन बनाएको बताए। “महिनौंसम्म अलपत्र रहेका शवहरूलाई व्यवस्थापन गर्न कसैले चासो नदिने, तर काम गर्न थालेपछि अनेक लाञ्छना लगाउने प्रवृत्ति बढेको छ,” श्रेष्ठले भने, “यदि कसैसँग प्रमाण छ भने सार्वजनिक गर्नुपर्छ, तर आधारहीन आरोप लगाएर पीडित परिवार र सहयोगमा जुटेका व्यक्तिहरूको मनोबल गिराउने काम हुनुहुँदैन।”

उनले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली चेलीबेटीहरूको उद्धार तथा सहयोगका लागि आफू निरन्तर सक्रिय रहेको बताउँदै त्यसकै कारण व्यक्तिगत रिसइबी साँध्ने प्रयास भएको आरोप समेत लगाए।

रिता भुजेलको शव स्वदेश फर्किएसँगै परिवारले अन्तिम संस्कार गर्ने तयारी गरेको छ। उनको मृत्युको कारण’bout विस्तृत जानकारी सार्वजनिक नभए पनि घटनाले पुनः एकपटक वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा, संरक्षण र मृत्यु पश्चात् शव व्यवस्थापनको विषयलाई गम्भीर रूपमा उठाएको छ।

वैदेशिक रोजगारीले हजारौं नेपाली परिवारको आर्थिक अवस्था सुधार गरेको भए पनि विदेशमा मृत्यु हुने नेपाली श्रमिकहरूको शव स्वदेश फर्काउने प्रक्रिया अझै जटिल र पीडादायी बन्दै गएको छ। रिता भुजेलको घटनाले पनि विदेशमा अलपत्र पर्ने नेपालीहरूको समस्या समाधानका लागि सरकार, कूटनीतिक नियोग तथा सम्बन्धित निकायहरूबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको सन्देश दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

ताप्लेजुङमा अलैँची महोत्सव हुने