काठमाडौं । गायक रोशन अधिकारीले आफ्नो नयाँ गीत रित्तो रित्तो मेरो जीवन…को भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो आधुनिक गीतलाई द्विग्गज धौरालीले लेखेका हुन् ।
गीतको भिडियोलाई मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । डिभाइन म्युजिकबाट रिलिज गरिएको भिडियोमा अभिनेत्री पूजा शर्मासँग गायक रोशन आफैंले मोडलिङ गरिसकेका छन् । यस अघि चारवटा भिडियोमा मोडलिङ गरिसकेका उनले आफ्नो अभिनयलाई दर्शकले सकरात्मक प्रतिक्रिया दिएपछि यसमा पनि मोडलिङ गरेको बताए । उनको यो भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
केही वर्षयता अमेरिकामा बसेर व्यवसाय गर्दै आएका उनले नेपाल आएको बेला आफ्नो स्वरमा गीत रेकर्ड गराएर श्रोतामाझ ल्याउने गरेका छन् । यतिबेला नयाँ नेपाली चलचित्रको निर्माण तयारीमा जुटिरहेका रोसन गायकबाट चाँडै नायक बन्ने तयारीमा छन् ।






