पानी छुने र नछुने विभेदका कारण कुवा र धारोमा झैंझगडा नहोस् भनेर अछाम जिल्लाका केही गाउँहरूमा जातका आधारमा फरकफरक धाराहरू बनाइएका छन् । एउटा धारामा उच्च जातिका भनिने मानिसले पानी भर्छन् भने अर्को धारामा दलित भनिने जातिले पानी भरेर खान्छन् । तिनीहरू भुलेर पनि एकअर्काको धारामा पानी भर्न पुग्दैनन् । तर, जातका आधारमा बनाइएका ती धाराको मुहान भने एउटै छ, साझा छ । पानी पँधेरो पनि यसरी नै बनाइएको छ । झट्ट हेर्दा समाजमा व्याप्त रहेको जातीय विभेदका कारण पानी लिँदा हुने झगडा र लफडालाई यसले केही दूरीमा टाढा बनाएको र झगडा हुने कारणबाट सकभर मानिसलाई बिमुख गराउन खोजिएको जस्तो देखिन्छ पनि । तर, यसले जातीय पहिचानका आधारमा समाजमा व्याप्त रहेको विभेदलाई साँघुरो बनाउँदै अन्त्य गर्नेतिर होइन । बरु त्यसलाई पृथकीकरण गर्ने र झनै संस्थागत गर्नेतिर मुखरित गर्दै लगेको छ । यो जातीय समस्या र छुवाछुत प्रथाको अन्त्य गर्नेतिरको सकारात्मक पहल वा कदम पनि होइन । बरु स्पष्ट रूपमा जातीय पहिचानका आधारमा विभाजन ल्याइएको मात्र हो । यस्तो खाले प्राविधिक सोच र काम गराइले जातीय विभेदको अन्त्य हुँदैन र अन्त्य गर्न सघाउ पनि पु-याउँदैन ।
खानेपानी अपुग भएपछि गाउँमा खानेपानी ल्याए पनि जातका आधारमा धारा अलगअलग गरिएकाले ‘माथिल्लो’ जातको धारामा पानी आइरहने र ‘तल्लो’ जातकाले प्रयोग गर्ने धारामा पानी नआउने बनाइन पनि सक्छ । ट्यांकी दुवै धाराको साझा भएपछि त्यहाँ पक्कै पनि धारामा पानी लगाउन ‘तल्लो’ जातका मानिसलाई जान अनुमति छैन होला । यसले धारामा भिन्न गराइएको झगडाको बीउ अलिमाथि रहेको पानी ट्यांकीसम्म सारेको मात्र छ । झगडा सदाका लागि हल गरेको छैन । अर्कोतिर स्थानीय साधनस्रोतको अभावले स्थानीय जनतामा लडाइँ झगडा र द्वन्द्व निम्त्याउने गर्छ । अछाममा पनि खानेपानीको अभावसँगै यो समस्या निम्तिएकोमा कुनै आशंका छैन । तर, पनि समाज मिलेपछि मात्र हल हुन सक्ने यो समस्यामा अछामी समाज पानी उपयोगको विषयमा फाटेको छ– दलित र गैरदलित भएर । यसको उदाहरण बनिरहेको छ अछामस्थित बागभिडी टोल । यो टोलमा एउटै गाउँमा बस्दै आएका कुँवर, विक र आउजी पानीको धाराको कारण विभाजित छन्, जहाँ जातीय विभेदले काम गरिरहेको छ । सो टोलमा कुँवरका लागि एउटा धारो र विक तथा आउजीका लागि अर्को धारोको व्यवस्था गरिएको छ ।
यस्तोखाले विभेद अछाममा मात्र होइन, सिंगो नेपाली समाजमा व्याप्त छ । समाजमा रहेको जातीय विभेद आज मात्र उब्जिएको विभेद होइन । यो परापूर्व कालदेखि जातीय प्रथामा आधारित भएर आएको छ । जातीय विभेद सामाजिक र सांस्कृतिक विभेदका रूपमा अभिव्यक्त हुँदै आएकाले यसले सामाजिक र सांस्कृतिक रूपमा नै यसको अन्त्यका लागि प्रयास गरिनुपर्ने कुरातर्फ हामीलाई डो¥याउँछ । यहाँ पानीको कुरा आफैंमा सार्वजनिक स्थल, पाटी, पौवा, भोज, भतेरसहित सिंगो सामाजिक विभेदसँग जोडिएको छ । त्यसैले पानी धाराको मात्र होइन, सिंगो सामाजिक विभेदको अन्त्यका लागि पहल गर !