आज होली : रङ, प्रेम र सत्यको पर्व

हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई मार्न अग्निनजिक जाँदा आफंै जलेर नष्ट भएकाले असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा फागु पर्व (होली) मनाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको नेपालमा यो पर्वको रौनक मेची–पश्चिम महाकालीसम्म हुन्छ ।

नेपालको पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन र तराईमा भोलिपल्ट होली मनाइन्छ । काठमाडौं, पोखरा, जनकपुर, वीरगन्ज, धरान, चितवन, विराटनगर, धनगढीलगायत ठाउँमा फागु विशेष किसिमले मनाइन्छ ।

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइन्छ ।
रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गराउँदै एकआपसमा अबिर छ्यापेर फागुको शुभारम्भ गरिन्छ । त्यसबेला स्थानीय तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिन्छन् । असत्यमाथि सत्यको विजय हुने मान्यतासाथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पु¥याई दहन गर्ने परम्परा छ ।

होलिका दहन
फाल्गुण शुक्ल पूर्णिमाको साइतमा चीरलाई ढालेर तान्दै तान्दै टुँडिखेलको मध्य भागमा पु¥याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुको निकै घुइँचो लाग्ने गर्छ ।

चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा घरघर लैजाने चलन पनि छ । यसैगरी, ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य (चक्रमणशीलको मूर्ति) लाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौपटक ओहोरदोहोर गराउने परम्परा छ ।

नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भनिन्छ । त्यसो गर्नुअघि बाजागाजासहित होली खेल्दै जात्रा गरेर मूर्तिलाइ ठमेलमा नगर परिक्रमा गराइन्छ । ठमेलबाट ज्याँठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पु-याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पु-याउने परम्परा छ ।

चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैंले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठुल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर, केही वर्षयता ‘ठ्यासफु’का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।

व्यापारीको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ बाह स्वदेश फक्र्रने क्रममा सँगै आएका सबै व्यापारी मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेल्न थालेपछि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ ।

ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिने वातावरणमा आठ दिनसम्म एकआपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने फागुमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतीले यस पर्वलाई आफूले मन पराएकासँग लामो समयदेखि अव्यक्त मायाप्रीतिलाई नाचगानका माध्यमबाट प्रकट गर्ने अवसरका रूपमा पनि लिने गर्छन् ।

यौन शिक्षा दिने पर्व होली
परापूर्वकालमा मानव सभ्यता विकास गर्ने क्रममा विभिन्न संस्कार बसाल्ने क्रममा भक्तपुरमा होलीको उत्सव विशेष रूपमा मनाउने गरिएको बुझाइ भक्तपुरवासीको छ । होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको मान्यता छ ।

पुरुष जननेन्द्रीयका प्रतीक काठको लिंग र स्त्री जननेन्द्रियका प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएपछि भक्तपुरमा होली पर्व सुरु हुन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चारको माध्यम नभएको परापूर्व कालमा देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ ।

शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझून् र यसलाई अश्लील र छाडा सिकाइ भन्ने भान नपरोस् भनेर भीमसेन र द्रोपदीको समागमका रूपमा यौन शिक्षा दिइएको बुझ्न सकिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भीमसेनको मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होली सुरु गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको काठको ठूलो लिंग (स्थानीय भाषामा लग)लाई टोलटोलमा घुमाएर पूजा गरिन्छ । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाइको हुन्छ ।

कतै कृष्णसँग र कतै प्रह््लादसँग सम्बन्धित होली भक्तपुरमा भने भीमसेन र द्रोपदीसँग सम्बन्धित छ । फागुन शुक्ल अष्टमीका दिन लिंग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ । यसले गहिरो सम्बन्ध गाँस्ने भने
अर्थ बुझाउँछ । लिंगको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । लिंग र योनीको समागम गराउँदा कपास खस्ने गरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किन्छन् ।

यहाँ कपासलाई वीर्यको प्रतीकका रूपमा लिइन्छ । कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता छ । होलीको एक साता अघिदेखि स्थानीय द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने
विश्वास छ ।

भीमसेन गुठीका गाइजुहरू (जो विगतमा गाइने थिए) भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला, अर्थात्, भीमसेनको लिंगदेखि मोह जाग्यो कि भाग्नुपर्ने गरी हेर्न आएको होे कि भनेर भजनकीर्तन गर्छन् ।
भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक बी । अर्थात्, अबिरको होलीले रिसायौ कि युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ भनेर भाका हाल्ने गरिन्छ ।

पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई यही भाका हाल्छन् र गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । केटीले मन पराए अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाट अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।

पूर्णिमाका दिन भीमसेनको लिंग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने विश्वास गरिन्छ । यही विश्वासका आधारमा लिंग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । यसले समागमपछि यौनांग धुनुपर्छ भने सन्देश दिएको छ । पूर्णिमाको साँझ लिंग धोएपछि भक्तपुरमा होलीको विधिवत् अन्त्य हुन्छ ।

विशेषगरी, वसन्त पञ्चमीदेखि फागु पूर्णिमासम्म विवाहको लगन हुन्छ । यसअवधिमा नवविवाहितालाई समागम गर्ने तरिका सिकाइ यौन उमंग जगाउने र यौनांग सफा राख्नुपर्ने शिक्षा संस्कृतिमार्फत दिएको पाइन्छ ।

फाल्गुण शुक्ल पूणिर्माका दिन रङको होली खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गर्ने प्रचलन पनि छ । त्यसबेला बाटोमा रहेका देवीदेवतालाई तेलमा मुछेको अबिरको डल्लाले छर्केर साँझ परेपछि दत्तात्रय मन्दिर पु‍¥याउने प्रचलन छ ।

होलिया मेला, मय्जू मस्युला
अबिर भचाः नः, तये मज्युला
‘होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नुहुन्न र’ भन्ने गीत नेवारी समाजमा फागुपर्वमा गाइने सर्वाधिक लोकप्रिय गीत हो । त्यसैगरी, झ्या दकंः तुँकं मा व हे ल्यासे जित म, व ल्यासे मदेकः जा हे मनया ।
अर्थात्, झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने गीतले पनि होली महिला लक्षित चाड भएको पुष्टि हुन्छ । विशेषगरी, यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यंग्य गर्ने चाड फागु भक्तपुरमा भने फरक किसिमले मनाइन्छ ।

फागु पर्वलाई नेवारी समुदायमा महिला लक्षित पर्वका रूपमा लिने गरिएको छ । होलीका परम्परागत लोकभाका र गीतसंगीत पनि महिला र यौनसँग सम्बन्धित छन् ।

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन तथा फूल फुल्न थाल्ने मनोरम वातावरणले मानिसको मन मस्तिष्कमा एक खालको तरङ पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनका अनुसार १७औं शताब्दीदेखि यस्तो चलन चलेको हो ।

कृषिमा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त संगीत गुन्जने गरेको उनको भनाइ छ ।

विभिन्न देशमा होली
नेपाली र हिन्दू धर्मावलम्बी पुगेका हरेक देशमा फागु मनाइन्छ । अमेरिकामा रहेका नेपालीले गत सातादेखि नै आफ्नो समयअनुकूलमा होली मनाउन थालिसकेका छन् ।

होली अन्य देशमा विभिन्न नामले मनाइन्छ । थाइल्यान्डमा ‘संक्राङ’ नाममा होली मनाइन्छ भने म्यान्मामा धिजङ पर्वका रूपमा यो प्रसिद्ध छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया लगायत देशमा पनि आ–आफ्नै प्रकारले यो पर्व मनाइन्छ । पाकिस्तान, भुटान, बंगलादेश, गयाना, बेलायत, मौरिसस, फिजी, दक्षिण अफ्रिका, अमेरिकालगायत देशमा पनि धुमधामसँग होली मनाइन्छ ।

होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि चिनिन्छ । भगवान् श्रीकृष्णको व्रजभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पन्जाब, मध्य प्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा मोबाइर्ले प्रतियोगिता तथा उत्तर प्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ ।

धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो । किंवदन्तीअनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीलाई जिस्काएका थिए । प्रतिकारमा बर्सनाका महिलाले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम रहेको प्रसंग पाइन्छ । बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ एसियाभर लोकप्रिय छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी