बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको सोमबार अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको टोली सहायता कक्षबाट प्रदान भईरहेका सेवाका ’boutमा अनुगमन गरेका हुन् । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा केही दिन अघि मात्रै झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो ।
सोमबार देखि नाका खुलेदेखि बन्द हुँदा सम्म स्वास्थ्यकर्मीहरुले सहायता कक्षमा सेवा दिने हिसाबले खटाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सीमा नाकाको हेल्थ डेस्कलाई प्रभावकारी बनाउन नगरपालिकाको स्वास्थ्य शाखा मार्फत स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको र नाकामा आवतजावत हुने बेला सम्म स्वास्थ्यकर्मीले सेवा दिने व्यवस्था मिलाइएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।
नाकामा स्थापना गरिएको सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरको सहयताले भारतबाट फर्किने नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । स्वास्थ्य सहायता कक्षमार्फत अहिले सम्म ४३० जनाको स्वास्थ्य परीक्षण गरिसकिएको दशरथचन्द नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दुर्गादत्त जोशीले बताए । झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउन पहल भईरहेको उनले बताए ।
भारतबाट नेपाल फर्किने नागरिकलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै नेपाल भित्रिन उनले आग्रह गरे ।
विश्वभर कोरोनाको जोखिम बढीरहेकाले पूर्वतयारी स्वरुप सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेको नगरपालिकाले जनाएको छ ।






