देउवालाई निधिको चुनौती, पौडेललाई आफ्नैबाट असहयोग

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको रेसमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन समूहबाट देउवालाई एक्लो उम्मेदवार हुनबाट निधिले छेक्ने सम्भावना छ । श्रेष्ठ भने उम्मेदवारी दिने अवस्थामा नपुग्ने धेरैको आँकलन छ ।

इतर समूहमा पौडेललाई महामन्त्री कोइरालाले साथ दिए पनि नेता सिंह र कोइरालाले टेरेका छैनन् ।

इतर समूहमा सहमतिको प्रयासमा जुट्दै आएका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने मंगलबार देखिको प्रयास सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

‘पार्टीभित्रको सुधारवादी आन्दोलनमा साथीहरूबाट सहयोग हुनेभन्दा असहयोग हुने अवस्था बन्दै आयो, साझा उम्मेदवार बनाउन तीन दिनदेखिको प्रयास सफल हुन सकेको छैन । देशभरका नेताकार्यकर्ताको भावनालाई नबुझ्ने हो भने पार्टीलाई नै घात हुन्छ,’ नेता केसीले राजधानीसँग भने ।

नेता सिंहले भने आफू उम्मेदवारी दर्ताको तयारीमा रहेको भन्दै नेताहरूलाई अब सहमतिको सम्भावना सकिएको जवाफ दिइसकेका छन् ।

‘उहाँले सहमति भए मेरै नाममा गरौं, नभए हुन्न भन्नुभयो, आफ्नो नाममा सहमति नभए अरूलाई मान्दिनँ भन्ने उहाँको प्रस्ट भनाइ छ,’ सिंहसँगको छलफल’bout जानकारी दिँदै एक नेताले भने ।

नेता शेखर कोइरालाले भने सहमति बन्ने अवस्था आए आफू ब्याक हुन तयार रहेको संकेत गर्दै आइरहेका छन् । तर, सिंहलाई भने नछाड्ने उनको आशय छ ।

निर्णायक सिटौला
१३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ ।

कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो ।

प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।

यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ ।

‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा पनि निर्णायक रह्यो, अहिले पनि उहाँलाई मिलाएर अघि बढ्दा संस्थापन पक्ष पहिलो चरणको निर्वाचनमा नै जीतनजिक छ, यस कारण पनि उहाँलाई मिलाएर अघि बढ्न हामीले सभापतिजीलाई सुझाएका छौं,’ देउवा समूहका एक नेताले भने ।

बिहीबार बिहानै नेता सिटौलासँग छलफलका लागि संस्थापन इतर समूहका नेता रमेश लेखक उनको निवास पुगेका थिए । यसैगरी, बुधबार मात्रै वरिष्ठ नेता पौडेलसमेत सिटौलाको निवासमा सहयोग माग्दै पुगेका थिए ।

कांग्रेस विधानअनुसार पहिलो चरणमा नै सभापति बन्न निर्वाचनमार्फत ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

कांग्रेसको १३औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा देउवा, पौडेल र सिटौला भिडेका थिए । दोस्रो चरणमा भने देउवालाई सिटौलाको समर्थन थियो । त्यसबखत पहिलो चरणमा देउवाले १५ सय ६४, पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत ल्याएका थिए ।

दोस्रो चरणको प्रतिस्पर्धामा भने सिटौलाको सहयोगबाट देउवाले १८ सय २२ मत ल्याएर सभापतिमा निर्वाचित बन्दा पौडेलले १२ सय ९६ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं