मनाङ शीर्षस्थानमा

काठमाडौं । फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित निकाल्दै उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङ आर्मीलाई तथा एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे ।

अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ । आर्मीको ८ तथा एक खेल कम खेलेको अपराजित सातदोबाटो र मच्छिन्द्रको ७ अंक छ । आठौं मिनेटमा फ्रेन्ड्सले सुवर्ण अवसर पाए पनि सदुपयोग गर्न नसक्दा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । पुजन उपरकोटीको ब्याक पासलाई मनाङका गोलरक्षक विशाल सुनारले समातेपछि पाएको इनडाइरेक्ट फ्रिकिकमा नाथालिन जुडे गार्सियाको प्रहारलाई सरोज योन्जन लामाले ब्लक गर्दै मनाङको संकट टारे । २१औं मिनेटमा एडेलाजा सोमिडेको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिएपछि मनाङ अग्रता लिनबाट चुक्यो ।

३९औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको सिक्स यार्डको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पन्च गर्दै बचाउँदा मनाङले खेलमा अग्रता लिन सकेन । ४१औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले दिनेश राजवंशी हुँदै पुजन उपरकोटीको लामो क्रसलाई कप्तान अन्जन विष्टले दिएको क्रसलाई अनमार्क रहेका अफिजले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेका थिए ।

त्यसअघि ५४औं मिनेटमा अन्जन विष्टले वान भर्सेस वानको वानको अवस्थामा गरेको प्रहार सिधै फ्रेन्ड्सका गोलरक्षक राहुलको हातमा पुग्यो । ७२औं मिनेटमा अफिजको प्रहारलाई गोलरक्षक राहुलले डाइभ दिँदै बचाए । ७३औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।

पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गरेका थिए । ७७औं मिनेटमा अनिल महर्जनको क्रसमा रोनेल एनथोनी पउलको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा फ्रेन्ड्स अग्रता कम गर्नबाट चुक्यो । पराजित फ्रेन्ड्स ४ खेलबाट २ अंक जोडेर १२औं स्थानमा झरेको छ । समान २ अंक नै रहे पनि फ्रेन्ड्स गोलअन्तरमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबसँग पछि परेको छ ।

आर्मीको दोस्रो जित
फरवार्ड जर्जप्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठको गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले लिगमा दोस्रो जित निकालेको छ । आर्मीले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गर्दै दोस्रो स्थानमा उक्लिएको छ । १९औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए ।

सन्तोष तामाङले मिलाइदिएको पासमा टंक बस्नेतले गरेको क्रसलाई हेडमार्फत जाली चुमाएका हुन् । ३६औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । गोलरक्षक अर्पण कार्कीले हतारिएर रिलिज गरेको बललाई गौतम श्रेष्ठले नियन्त्रणमा लिँदै दिएको क्रसलाई अनमार्क रहेका जगजितले वान टचमा सुन्दर गोल गर्न सफल भएका थिए ।

यो सिजन आर्मीबाट लिग खेलिरहेका जगजितले आर्मीका चौथो खेल खेल्दा लागि पहिलो गोल गरेका हुन् । ४९औं मिनेटमा विवेक बस्नेतको क्रसमा जर्जप्रिन्स कार्कीको हेडर क्रसबारमा लागेर बाहिरिँदा आर्मीले अग्रता बढाउन सकेन । खेलको अन्त्यतिर च्यासलले बल पोसेसन राख्दै दबाब बढाए पनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।

जितसँगै आर्मीले शीर्षस्थानको मनाङलाई पछ्याउँदै दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट ८ अंक पुगेको छ । शीर्षस्थानको मनाङको ४ खेलबाट १० अंक छ । एक खेल कम खेलेको सातदोबाटो ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो हार बेहोरेको च्यासल ४ अंक जोडेर नवौं स्थानमा यथावत् रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम