आईजेएसओमा सहभागिता जनाउँदै नेपालका ६ विद्यार्थी, ७० देशका ३५० विद्यार्थी प्रतिस्पर्धामा

काठमाडौं । इन्टरनेसनल जुनियर साइन्स ओलम्पियाड (आइजेएसओ) मा यो वर्ष नेपालका ६ विद्यार्थी सहभागी भएका छन् । दुबईमा सोमबारबाट सुरु भएको यो कार्यक्रम हाइब्रिड मोडलबाट सञ्चालन भइरहेको छ । कोरोना कहरका कारण यो वर्ष हाइब्रिड मोडलबाट कार्यक्रम सञ्चालन गरिएको हो ।

यो प्रतियोगितामा यो वर्ष अमेरिका, चीन, भारत, बंगलादेश, नेपालसहित ७० देशका ३ सय ५० विद्यार्थी र ९ सय ५० प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट सहभागी भएका ६ विद्यार्थीमा अदिति श्रेष्ठ, हिमानी आचार्य र कृति यादव (काठमाडौं), झरना बडुवाल (सुर्खेत), संस्कार ढकाल (भक्तपुर) र विवेक पौडेल (तनहुँ) छन् ।

यी ६ जना विद्यार्थी सुरुमा नेपालभरिबाट प्रादेशिक रुपमा प्रतिस्पर्धामा खरो रुपमा उत्रिएपछि केन्द्रीय छनौट प्रतिस्पर्धा मार्फत छानिएका थिए । करिब एक वर्षको कठिन प्रतिस्पर्धाबाट उनीहरु छानिन सफल भएका थिए ।

विज्ञान शिक्षक समाज, नेपाल (एसटीएएन) को अगुवाइ र स्टेम फाउन्डेसनको सहकार्यमा विज्ञान प्रतिभा पहिचान कार्यक्रमको रुपमा विद्यार्थी छनौट गरिएको थियो । यसमा स्कुल तहका १६ वर्षसम्मका विद्यार्थी सहभागी हुन पाउने नियम राखिएको छ ।

यो प्रतियोगितामा यस वर्ष विश्वभरिका प्रतिस्पर्धी विद्यार्थीहरुले आफ्नै देशको बेस स्टेसनमा बसी वैकल्पिक माध्यमबाट जोडिएर बहुवैकल्पिक प्रश्न, सैद्धान्तिक र प्रयोगात्मक गरी तीन चरणको परीक्षामा प्रतिस्पर्धा गर्ने छन् र विजयीलाइ पदक प्रदान गरिने छ ।
दुबईमा उद्घाटन र अन्य कार्यक्रम भइरहेको यो कार्यक्रममा नेपालको प्रतिनिधित्व एसटीएएनका सचिव मनोज आचार्यले गरेका छन् । नेपाल संयोजकका रुपमा एसटीएएनका प्रवक्ता डम्बरुप्रसाद पोखरेल रहेका छन् ।

अन्तर्राष्ट्रिय रुपमा दुबईमा उद्घाटन भएको यो कार्यक्रम नेपाल च्याप्टरअन्तर्गत भने एलआरआई स्कुलमा भएको थियो । नास्टका वैज्ञानिक डा. सुरेशकुमार ढुंगेलको प्रमुख आतिथ्यतामा नेपालमा भएको उद्घाटन कार्यक्रममा ढुंगेल र एलआरआई स्कुलका प्रिन्सिपल डा. देवकान्त जोशीले विद्यार्थीहरुलाई पदक जितेर नेपालको नाम उच्च राख्न भन्दै हौसला प्रदान गरेका थिए । उनीहरुले आइजेएसओमा छनौट हुनु नै गर्वको विषय भएको भन्दै विद्यार्थीहरुलाई प्रतिस्पर्धामा खरो रुपमा उत्रेर आफू र आफ्नो देशको नाम राख्न हौसला प्रदान गरेका थिए ।

सो कार्यक्रमको संयोजन तथा सञ्चालन एसटीएएनका प्रवक्ता डम्बरुप्रसाद पोखरेलले गरेका थिए । उनले आफूहरुले अन्तर्राष्ट्रियस्तरका कार्यक्रम सञ्चालन गरिरहँदा पनि राज्यको ध्यान यसतर्फ जान नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए । आगामी दिनमा राज्यले यसतर्फ विशेष ध्यान दिने अपेक्षा उनले गरेका थिए ।

सो कार्यक्रमको सभापतित्व एसटीएएनका अध्यक्ष खिलकुमार प्रधान, स्वागत मन्तव्य केन्द्रीय सदस्य इन्द्रलोचन चौधरीले गरेका थिए । प्रधान र चौधरी दुबैले मन्तव्यका क्रममा स्वर्ण पदक ल्याएर देशको नाम उच्च राख्न विद्यार्थीहरुलाई हौंस्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 864 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्वदेश फर्किए कतारका अमिर थानी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी