काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं रुपैयाँ चलखेल गरी आफूअनुकल र आफूले सेटिङ गरेका कलेजलाई मात्रै सम्बन्धन दिने गरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नोटिस’मा राखेको बताएको भए पनि उनीमाथि कुनै कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले ‘सदस्य सचिव काफ्लेको विषयमा सञ्चारमाध्यममा निरन्तर रूपमा प्रकाशित भइरहेको समाचारलाई आफूहरूले नोटिसमा राखेको’ बताएको भए पनि हालसम्म कारबाही प्रक्रिया अघि नबढ्दा उनको मनोबल थप बढ्दै गइरहेको छ ।
सम्पत्ति शुद्धीकरणले पनि छानबिन गर्नुपर्ने आवाज
अख्तियार प्रवक्ता रिसालले १९ मंसिर (५ डिसेम्बर)मा राजधानीसँग काफ्लेको विषयमा अख्तियारले छिट्टै निर्णय लिने बताएका थिए । तर, उनको यो भनाइपछि पनि काफ्ले आफ्नो सेटिङबाट टसका मस भएका छैनन् । बरु उनी आफ्नो स्वार्थ पूरा गर्न थप सक्रियताका साथ लागेका छन् । यसै सिलसिलामा आफ्नो सेटिङलाई निरन्तरता दिन उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेट्नकै निम्ति दुबई पुगेको खुलासा भएको छ ।
युनेस्कोको सभामा भाग लिन फ्रान्स पुगेका सीटीईभीटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेललाई भेटेर आफ्नो स्वार्थ पूरा गर्न खोजे पनि मन्त्रीसँग भेट्ने प्रयास भने असफल भएको स्रोतको दाबी छ । यद्यपि, उनले च्यानलमार्फत आफ्ना कुरा भने मन्त्रीसम्म पु¥याएको स्रोतको भनाइ छ ।
परिषद्का सदस्य सचिव काफ्ले भारतको गोवा घुम्न जाने बहानामा दुबई पुगेका थिए । केही कलेज सञ्चालकको सेटिङमा काफ्ले सीमित व्यक्तिका साथ दुबई पुगेका थिए । उच्च स्रोतका अनुसार काफ्लेसहितको टोली नर्सिङ कलेजको भर्नाको विषयमा शिक्षामन्त्री पौडेलसँग भेटेर कुरा गर्न दुबई पुगेका थिए । काफ्लेसहितको टोली १४ डिसेम्बरमा दुबई पुगेर २३ तारिखमा फर्किएको थियो ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति गरेका काफ्लेले पछिल्लो समय पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ललाई साथमा लिएर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन् ।
पीसीएल नर्सिमा भर्ना नपाएर हजारौं विद्यार्थीको बिचल्ली भएको अवस्थामा सदस्य सचिव काफ्ले भने आर्थिक चलखेलमै लागिरहेका छन् । मन्त्री पौडेलले भने नयाँ विषय थप, भर्नालगायत सबै विषयमा जानकारी दिएर मात्र अघि बढ्न भनेको स्रोतको जनाएको छ ।
सदस्यसचिव काफ्लेमाथि परिषद् कर्मचारी खेम पोखरेलको सल्लाहमा आर्थिकलगायत अन्य सेटिङ गर्ने गरेको अरोप लाग्दै आएको छ । सदस्यसचिवको पछिल्लो गतिविधि पछि कर्मचारी दिक्क भएका छन् । यतिसम्म कि सदस्यसचिव काफ्लेले संस्थाको बदनाम गर्न खोजेको भन्दै आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।
निजी कलेजका सञ्चालक भनेर चिनिएका उपाध्यक्ष खगेन्द्र अधिकारीले केही कलेजलाई भर्ना खोल्न रोक लगाउनुपर्छ भनेपछि मन्त्रीको तारोमा परेका उनले समेत भर्ना रोकेको विषयमा बोल्न सकेका छैनन् ।
पछिल्लो समय सदस्य सचिव काफ्लेले आफ्नै जोडबलमा बनाइएका दोस्रो कार्यकालका कानुनी सल्लाहकार मुक्ति प्रधानसँग सबै किसिमका सल्लाह र सुझाव लिने गरेका छन् । पछिल्लो समय रोकिएका कलेजलाई सेटिङमा सम्बन्धन दिने तयारीमा सदस्य सचिवलगायतको टिम लागेको स्रोतको दाबी छ ।
सदस्य सचिव काफ्लेले आफूलै सबैतिर मिलाइसकेको बताउँदै आएका छन् । सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि सरकारी मिडिया गोरखापत्रमा खण्डन गरेका सदस्यसचिव काफ्ले र उनीसँग जोडिएका कर्मचारीले स्रोत खोज्न दबाब दिन थालेका थिए ।
सदस्य सचिव काफ्लेले खुलेआम गैरकानुनी धन्दा चलाइरहेकाले सम्पत्ति शुद्धीकरणले पनि छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।






