चिसोबढेसँगै ह्वात्तै बढ्यो विद्युत् माग

काठमाडौं । विद्युत् खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमान्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो ।

आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिए जति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको प्राधिकरणले जनाएको छ ।

औसतमा करिब ३ सय मेगावाटको वृद्धि

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ । प्राधिकरणको अनुसार कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।

यसअघि गत २७ मंंसिरमा प्रणालीमा विद्युत्को उच्च माग १ हजार ५ सय ३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १ हजार २ सय १७ मेगावाटको तुलनामा ३ सय २२ मेगावाट बढी हो । यस आधारमा विद्युत्को पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ ।

गत २७ मंसिरको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युत्गृहबाट ५ सय ४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत्गृहबाट ५ सय २९ मेगावाट, निजी क्षेत्रका विद्युत्गृहबाट ४ सय २५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गत वर्ष २ सय ९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३ सय ८२ मेगावाट पुगेको छ ।

ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत् खपत २ करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताए ।

‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ । औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘विद्युत्को माग अहिलेकै रूपमा वृद्धि भयो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा २ हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’

घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

कुरी-कुरी