आशलाग्दो राजनीतिक पुस्तान्तरण

युवा देशका कर्णधार हुन्, उनीहरूको जागरुकता बेगर मुलुकको विकास र समृद्धि शीर्षस्थ नेताको बोलीमा मात्र सीमित रहन्छ । पुरानो पुस्ता राजनीतिक छक्का पञ्जामा पारंगत छ तर देशको विकास र जनताको हितका निम्ति पारंगत छैन भन्ने कुरा लोकतन्त्रको १३ वर्षे कार्यकालले नै प्रमाणित गरिदिएको छ । विकास र समृद्धि नारामा होइन, अनुभूतिमा हुनुपर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुकलाई गतिशील बनाउँछन् भन्ने जनताको आशा नेपाली कांग्रेसको हालको महाधिवेशनले सम्बोधन गर्ने संकेत दिए पनि नेकपा एमालेको पछिल्लो महाधिवेशन परिणामले भने निराशामा परिणत गराएको देखियो । महाधिवेशनले अवकाशको मुखमा पुगेको नेतालाई शक्ति प्रदान गरेको छ भने शारीरिक रूपका सक्षम युवालाई कमजोर बनाएको छ । नेपाली जनता अझै पनि यथास्थितिवादी राजनीति रुचाउँछन् भन्ने यो दृष्टान्त पनि हो ।

मुलुकको प्रायःजसो सबै क्षेत्रमा युवाकै उल्लेख्य सहभागिता छ । आआफ्नो क्षेत्रमा युवाहरूले उल्लेख्य उपलब्धि पनि हासिल नगरेका होइनन् । पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नताले आशाको दियो जलाएको छ । मुलुक ढाकेको राजनीति कालो बादल हटाई उज्यालो बनाउने दायित्व आफ्नै हो भन्ने युवा नेताले बुझिसकेका छन् । तर, युवाहरूको राजनीतिक संलग्नता पनि केबल आशामै रहँदै आएको छ । कार्यारूपमा परिणत हुन सकेको छैन । राष्ट्रियस्तरका सबै राजनीतिक दलमा युवाको सहभागिता उल्लेख्य छ । यसमध्येका अधिकांश युवा राजनीतिज्ञ आश लाग्दा छन् । तर, उनीहरूले आफूमा भएको क्षमता कार्यरूपमा परिणत गराउने अवसर पाएका छैनन् । यसको दोष युवालाई होइन हाम्रो परम्परागत सोचमा आधारित राजनीतिक प्रवृत्तिलाई नै दिनुपर्छ ।

मुलुकमा लोकतन्त्र स्थापित भए पनि लोकतान्त्रिक व्यवहार स्थापित हुन सकेको छैन । राजनीतिक अगुवाहरूकै गैरलोकतान्त्रिक व्यवहारको नकारात्मक असरबाट अझै समाज माथि उठ्न सकेको छैन । कार्यशैली र व्यवहारै गलत हुँदा जो सत्तामा पुगे पनि सत्ता परिवर्तनले जनतामा उत्साह ल्याउन सकेको छैन । नेताको संकुचित मानसिकताले व्यक्तिकै हक अधिकार कुण्ठित गराइरहेको छ । युवा राजनीतिज्ञ पनि शीर्षस्थ नेताको प्रभावमै रुमलिँदै आएको कारण उनीहरूको उदय हुन सकेको छैन । अहिलेका युवा राजनीतिज्ञ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिका जानकार नभएका होइनन् । यिनै जानकार युवाले शताब्दी पहिलेकै राजनीतिक सिद्धान्त अँगाल्दै आएका नेतालाई नै पछ्याई रहने कि समयसापेक्ष नवीन राजनीतिक सिद्धान्त प्रतिपादन गर्ने ? यो युवा राजनीतिज्ञले सोच्ने संवेदनशील विषय हो ।

कार्यशैली सुधार्न नसक्ने नाम चलेका नेता नै अहिले जनताको घृणाको पात्र बन्न थालेका छन्

शताब्दीऔं अगाडि सफल बनेको राजनीतिक सिद्धान्त अहिले पनि सफलै हुन्छ भन्ने हुँदैन । सामाजिक परिवर्तन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा जनताको चाहना मुताबिकको परिवर्तित राज्य सञ्चालन नीति अहिलेको मुख्य आवश्यकता हो भन्ने कुरा युवा राजनीतिज्ञले बुझ्नुपर्छ । परम्परागत मान्यता त्याग्न नसक्नु, सिद्धान्तलाई भन्दा व्यक्तिको व्यवहार र स्वेच्छाचारितामै परिचालित हुनु तथा स्वतन्त्र रूपमा आफ्नै खुट्टामा उभिने साहस नगर्नु युवाको कमजोरी हो । यति मात्र होइन शीर्षस्थ नेताले युवा राजनीतिज्ञलाई पछिल्लो समयमा औजार बनाउँदै ल्याएका छन् । युवाको सिर्जनशील प्रतिभा र वैचारिक स्वतन्त्रता नै कुण्ठित पारी शीर्षस्थ नेताले आफ्नै पछि लाग्न बाध्य बनाएका छन् । युवा मानसिकता पनि शीर्षस्थ नेताविरुद्ध देखिँदैन । यसो हुनुको कारण पनि प्राप्त भएको सम्मान र प्रतिष्ठामै असर पुग्ला कि भन्ने युवा दृष्टिकोण नै हो । अन्यथा युवाले आफ्नै नवीनतम सिद्धान्त प्रतिपादन गरी अगाडि बढे शीर्षस्थ नेताले रोक्न सक्दैनन् । शीर्षस्थ नेतालाई नीतिगत रूपमै युवाले चुनौती दिन सक्छन् ।

अहिलेका युवा राजनीतिज्ञको अवस्था कस्तो छ ? भन्ने कुरा बुझ्न दलहरूको हालै सम्पन्न भएकै महाधिवेशनको दृष्टान्तले पुष्टि गर्छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशन, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन र नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा राजनीतिज्ञको अवस्था कस्तो रह्यो भन्ने कुरा सर्वसाधारणले नै महसुस गरिसकेका छन् । यसमध्ये नेपाली कांग्रेसका केही आशलाग्दा युवा नेता संकुचित मानसिकताका शीर्षस्थ नेताको बन्धन तोडी आफ्नो हैसियत र क्षमता प्रदर्शित गराउन सफल बने त्यो सबैका निम्ति प्रेरणादायी छ । कांग्रेसको पछिल्लो महाधिवेशनले पुस्तान्तरणको आभास दिलाएको छ । अन्य पार्टीमा भने पुस्तान्तरण कल्पनामा सीमित छ । नेकपा एमालेको हकमा सिंगो पार्टीपंक्ति नै एकल हैकमवादमा सञ्चालित हुँदै आएकाले युवा स्वतन्त्रता पार्टी अध्यक्षकै खल्तीमा पुगेको प्रमाणित भएको छ । राप्रपाको महाधिवेशनले पनि केही आशा जगाएको छ ।

वास्तवमा पार्टीभित्रका विकृति र विसंगति हटाई स्वच्छ पारदर्शी एवं तन्दुरुस्त बनाउने शल्यचिकित्सक भनेकै महाधिवेशन हो । दल आफैंमा अस्वस्थ हुँदैन । संक्रमण ग्रसित नेताले नै दललाई अस्वस्थ बनाउँदै ल्याएका हुन् । विकृत मानसिकताका व्यक्ति हटाई स्वस्थ, स्वच्छ र क्षमतावान् व्यक्तिलाई पार्टीमा जिम्मेवारी प्रदान गर्ने दायित्व महाधिवेशनकै हो । संकुचित एवं यथास्थितिवादी संकीर्ण नेतालाई जिम्मेवारीबाट मुक्त गराई युवालाई अगाडि बढाउने हो भने देशमा परिवर्तनको अनुभूति हुन सक्छ । भनाइ एक व्यवहार अर्को गर्ने शीर्षस्थ नेताहरू यथावस्थामा प्रतिष्ठापित भइरहेसम्म मुलुकमा अनुभूतिजन्य परिवर्तन आउँदैन । अहिले यही भइरहेको छ ।

युवा राजनीतिज्ञ शीर्षस्थ नेताकै लाचार छाया बनिदिँदा उल्टै संकीर्ण नेतालाई उत्साह प्रदान भएको छ । उनीहरूको दुर्गन्ध युवाले ढाकछोप गरिरहेका छन् । यो पृष्ठभूमिमा नेता आफू अझै शक्तिशाली भएको ठान्दै छन् । लोकतन्त्रको आधारभूत तत्व मानिने वैचारिक विभेदउपर बहस, चर्चा परिचर्चा तथा पारस्परिक विचार विमर्शबाट ठोस निर्णयमा पुगी कार्यान्वयन गराउने दायित्व नेतृत्व तहमै सीमित भए लोकतन्त्र नाम मात्रमा सीमित रहन्छ । लोकतन्त्रमा जोसुकैले पनि आफ्नो विचार राख्न पाउनुपर्छ । व्यक्त गरेको कुराकै आधारमा व्यक्ति हेय बन्दैन । व्यक्तिको विचार दलको सिद्धान्तविपरीतै भए पनि त्यसलाई अझ गम्भीरताका साथ लिनुपर्छ । किनकि, एउटै व्यक्तिको विचार पनि सबैका निम्ति अनुसरण लायक हुन सक्छ भन्ने कुरा सबैले महसुस गरी निर्णयमा पुग्ने प्रचलन नै सर्वोत्तम लोकतान्त्रिक प्रक्रिया हो । फरक दृष्टिकोणबीचकै मन्थनले पार्टीलाई रूपान्तरित गर्दै ल्याइए मात्र राजनीति समसामयिक हुन्छ भन्ने कुरामा शीर्षस्थ नेताहरू गम्भीर बन्न जरुरी छ ।

युवा नेताहरू अझै पनि आफ्नो विद्यमान अवस्था नेतृत्वकै निगाहमा आधारित हो भन्ने मानसिकता राख्छन् । बिरलै युवाले मात्र आफू सक्षम भएकै कारण यो ठाउँमा आइपुगे ठानेका छन् । तर, विशेष क्षमता र राजनीतिक योगदान बेगर कसैले पनि माथिल्लो स्थान प्राप्त गर्न र चर्चित बन्न सक्दैन भन्ने कुरा सबैले नबुझेका छैनन् । यसैले युवाले आत्मनिर्भर बनी रचनात्मक कार्यमा निरन्तर समर्पित बनेर आफ्नो पद र प्रतिष्ठाको सम्मान गराउँदै अगाडि बढे शीर्षस्थान नेताको पछि लागिरहनुपर्दैन । पछिल्लो समयमा युवाहरू केही सक्रिय भए पनि शीर्षस्थ नेताको पकडबाट पूर्ण रूपमा बाहिरिन सकेका छैनन् । ज्येष्ठलाई सम्मान गर्नुपर्छ उनीहरूको योगदानको कदर गर्नुपर्छ र उनीहरूबाट प्रेरणा लिएरै आफैं सशक्त ढंगले अगाडि बढे युवाले विद्यमान राजनीतिक विकृति निर्मूल गरी देश विकास गर्न सक्छन् ।

हाम्रो राजनीति स्वार्थमा केन्द्रित भएको र स्वार्थ पनि सामूहिक हितमा होइन आफ्नै व्यक्तिगत हित लक्षित छ भन्ने कुरा सबैले बुझेका छन् । अहिलेको राजनीति सेवाभन्दा आर्जनको पेसा बन्दै आएको छ । शीर्षस्थ नेताले पनि यही प्रवृत्तिलाई प्रश्रय दिँदै आएका छन् । त्यसैले सर्वप्रथम त युवा राजनीतिकर्मीले शीर्षस्थ नेताकै संकुचित मानसिकताको नक्कल नगरी आफ्नै स्वच्छ व्यवहार प्रदर्शित गरे, व्यक्तिगत होइन आमनागरिककै स्वार्थमा समर्पित बने । राजनीतिलाई आर्जनको पेसा होइन सेवा ठाने तथा इमानदारिताका साथ कार्य गरी अगाडि बढ्ने हो भने युवाको अगुवाइमा देश गतिशील बन्छ । यसका निम्ति युवा राजनीतिज्ञले आमसर्वसाधारण युवाकै विश्वास जित्न भने अनिवार्य छ ।

राजनीतिमा आबद्ध व्यक्ति को कस्तो छ ? कसको दृष्टिकोण ठीक कसको बेठीक, कुन व्यक्तिको कार्यशैली र व्यवहार उचित छ ? सार्वजनिक हित र भलाइका निम्ति कसले उल्लेख्य कार्य गर्छ भन्ने कुरा अहिलेका सम्पूर्ण युवा सुमदायले नै मूल्यांकन गर्दै आएका छन् । युवाको दृष्टिकोणले आमनागरिककै दृष्टिकोण समेट्ने भएकाले सर्वसाधारण युवालाई प्रभावित नबनाई कुनै पनि युवा नेतृत्वले आफ्नो राजनीतिक भविष्य स्थिर र दीर्घकालीन बनाउन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । युवाले चाहे नहुने केही छैन । अहिलेका कर्मशील लाखौं युवा मुलुककै संकुचित राजनीतिकै कारण बिदेसिएका छन् । मुलुकको राजनीति स्वार्थको परिधिबाट माथि उठी व्यावहारिक रूपमै विकास र समृद्धिमा केन्द्रित हुने हो भने युवाले बिदेसिनुपर्दैन ।

पुस्तान्तरणको दोष युवालाई होइन, हाम्रो परम्परागत सोचमा आधारित राजनीतिक प्रवृत्तिलाई दिनुपर्छ

कृषिप्रधान देश मानिँदै आएको हाम्रो मुलुक अहिले खाद्यान्नकै निम्ति परनिर्भर बन्नुपरेको छ । भएका उद्योग कलकारखाना व्यवस्थित नगरिँदा बन्द हुँदै आएका छन् । नयाँ उद्योग कलकारखाना खोली रोजगारीको सुविधा प्रदान गराउने कार्यमा राष्ट्रिय राजनीति केन्द्रित हुन सकेको छैन । विकास निर्माणका कार्यमा क्षमतावान् इमानदार व्यक्तिले भन्दा कमिसन खोर, दुई नम्बरीया व्यक्तिकै बोलबाला रहँदै आएको छ । राजनीतिक नेताहरूले नै त्यस्तो व्यक्तिलाई जिम्मेवारी दिएर लाभ लिँदै छन् । राजनीतिक आश्रयका कारिन्दाको मनोबल यति बढेको छ कि उनीहरू आफूलाई कानुनभन्दा माथिको ठान्छन् । निर्धारित समयमा पूरा गर्नुपर्ने निर्माण कार्य वर्षांैसम्म अलपत्र पारी बजेटको दोहन गरिरहेका छन् । यस्ता व्यक्तिलाई नै नेताले उल्टै सम्मान गर्छन् । त्यही कार्य गर्न सक्ने युवा जनशक्ति बेरोजगार बनिरहेको छ । रोजगारी प्रदान गर्न नेताले ध्यान दिएका छैनन् । यस प्रकारको लाभमुखी राजनीति युवा राजनीतिक शक्तिले मुलुकबाटै निर्मूल गर्नुपर्छ ।

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । नामले चर्चित बनेको व्यक्तिको कार्यशैली उत्कृष्ट हुन्छ भन्ने हुँदैन । नामसँग जोडेर होइन कार्यशैली र इमानदारिता हेरेर व्यक्तिलाई जिम्मेवारी प्रदान गर्न युवा राजनीतिज्ञ जतिकै सर्वसाधारण नागरिक पनि सचेत बन्नुपर्छ । पछिल्लो समयमा नाम चलेकै व्यक्ति पनि नकारात्मक कार्यशैलीको कारण आलोचित बन्न पुगेको दृष्टान्त हामीसँग छ । युवा राजनीतिकर्मीले त त्यस्तो व्यक्तिको सहकार्यको सारथी बन्दै आउँदा त्यसको नकारात्मक असर भोग्नुपरेको अनुभूति गर्दै छन् । गलत कार्यशैलीले व्यक्तिलाई नै पछाडि धकेल्ने हुँदा त्यस्तो व्यक्तिले मुलुकलाई अगाडि बढाउँदैन भन्ने कुरामा हामी विश्वस्त हुनुपर्छ । तर, यही अवस्थामा सुधार ल्याउनु युवाहरूकै व्यवहार र कार्यशैली अनुकरणीय हुनुपर्छ । उत्तम व्यवहार र उत्तम कार्यशैली त व्यक्तिमा निहित विशिष्ट गुण हो जसले सबैलाई आफूप्रति आकर्षित गराउँछ भन्ने कुरालाई युवाले भुल्नुहुँदैन ।

मुलुकको राष्ट्रिय राजनीति स्वच्छ बनाई देश र जनताको सेवामा समर्पित गराउन युवा राजनीतिज्ञले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा प्रवृत्तिलाई भन्दा जनअपेक्षालाई कदर गर्ने हो । प्रवृत्तिमा सुधार नभए जनअपेक्षा पूरा हुन सक्दैन । प्रवृत्ति हम्मेसी परिवर्तन हुन सक्दैन तर जनअपेक्षा हरेक क्षणक्षणमा परिवर्तन हुन सक्छ । लोकप्रिय राजनीतिज्ञ बनी मुलुकमा सुधार ल्याउन युवाले परिवर्तित जनदृष्टिकोणलाई सम्बोधन गर्न सक्नुपर्छ । यसको कार्यान्वयनका लागि उत्कृष्ट आचरण र व्यवहार त आधारभूत तत्व नै मानिन्छ । कार्यशैली सुधार्न नसक्ने नाम चलेका नेता नै अहिले जनताको घृणाको पात्र बन्न थालेका छन् । यसको कारण पनि आमनागरिकमा विस्तारित भएको राजनीतिक चेतना नै हो । कार्यशैलीको कारण सत्तासीन पदाधिकारी नै जनताको नजरमा नेता ठानिँदैनन् । युवाले यही जनमानसिकतालाई परिवर्तन गर्न सक्नुपर्छ ।

नेताले लगाउँदै आएको ‘नयाँ नेपाल, समृद्ध नेपाल र सुखी नेपाली’ नारा नेताकै मानसिकताका कारण नारामै सीमित हुँदै आएको छ । यसलाई व्यवहारमा उत्तारी मुलुकमा अनुभूतिजन्य परिवर्तन ल्याउन युवा राजनीतिज्ञको अगुवाइमा राज्य सञ्चालित हुन अपरिहार्य छ ।

तपाइको प्रतिक्रिया
(Visited 622 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती