इलाम । १ सय ७१ वर्षपछि इलाममा दुर्लभ चरा भेटिएको छ । इलामको सूर्याेदय नगरपालिका–१ गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको हो ।
वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले तस्बिर खिचेपछि नेपालमा १ सय ७१ वर्षपछि सो चरा भेटिएको खुल्न आएको हो । गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाइमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलको भनाइ छ । उनले भने, ‘मैले पनि पाँच÷पाँच वर्षदेखि खोजिरहेको थिएँ, बल्ल सफलता मिलेको छ ।’
धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता नदेखिएपछि चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ । चरा भेटिएको सिमढाप भारतीय सीमाबाट करिब १२ किलोमिटरमा पर्छ । भारत लाटपन्चरमा फाट्टफुट्ट मात्र देखिने यो चरा हत्तपत्त कसैले देख्नै नसकेको खरेलले जनाए ।
नेपालमा ८ सय ८६ प्रकारका चरा पाइने गरेकामा देवेनले नै भेट्टाएको जंगली परेवा (ग्रिन इम्पाइरिकल प्रिजन) थपिएर यसको संख्या ८ सय ८७ पुगेको थियो । खरेलले जंगली परेवा झापाको मेचीनगर–७ मा फेला पारेको जनाइएको छ ।
‘विश्वमै दुर्लभ भइसकेको धनेस चरा नेपालको पूर्वी भागमा पाइने सम्भावना चाहिँ छ तर सन् १९०० को शताब्दीदेखि नै यो चरा नेपालमा देखिएको थिएन,’ खरेलले भने, ‘यो चरा विश्वबाटै हराएर जाने चराको सूचीमा छ, नेपालमा भेटियो भने यो निकै महत्वपूर्ण रहेको छ ।’






