मुम्बई । भारतमा क्रिकेटसम्बन्धी फिल्म सर्वाधिक हेर्ने विश्वास गरिए पनि यसपटक त्यो विश्वास असफल भएको छ । बलिउड फिल्म ८३ ले सोचेअनुसारको व्यापार गर्न सकेको छैन । फिल्म राम्रो भएर पनि किन चाहेअनुसारको व्यापार गर्न सकेन भनेर यसका निर्माण पक्ष अहिले चिन्तित छन् । अहिलेको व्यापार हेर्दा फिल्मलाई १ सय करोडभन्दा माथि घाटा हुने देखिएको छ ।
यो फिल्मले दैनिक २० देखि २५ करोडको व्यापार गर्ने आशा गरिएको थियो । तर, यो फिल्मले तीन दिनमा ४५ करोडको मात्र व्यापार गरेको छ ।
यसअघि रिलिज भएको फिल्ममध्ये सूर्यवंशीले भारतीय बक्स अफिसमा तीन दिनमा ७७ करोडको व्यापार गरेको थियो । भारतमा क्रिकेटको अत्याधिक क्रेज भएका कारण यो फिल्मले राम्रो व्यापार गर्ने विश्वास गरिएको थियो । यो फिल्मले सबैभन्दा बढी भने १७ करोडको व्यापार आइतबार गरेको थियो । क्रिसमस भएका कारण आइतबार व्यापार राम्रो भएको हो । फिल्म ८३ को व्यापारमा सोमबार ३० प्रतिशतले कमी आएको छ ।
अभिनेता रणवीर कपुरले यो फिल्ममा कपिल देवको भूमिका निर्वाह गरेका छन् । फिल्मले २ सय करोडभन्दा माथिको व्यापार भारतमा गर्ने विश्वास गरिएको थियो । पहिलो सातामा १ सय ५० करोड व्यापार गर्ने आशा गरिएको यो फिल्ममा पहिलो साता ७० करोडको हाराहारीमा व्यापार गर्ने देखिएको छ । अर्को साताबाट बलिउडकै सबैभन्दा महँगो फिल्म आरआरआर रिलिज हुने भएकाले यो फिल्मको व्यापार दोस्रो साता निकै घट्ने देखिएको छ ।






