महिलाहरू स्तन वा काखीमा गाँठो देखापरेपछि मात्रै चिकित्सकसँग परामर्श लिने चलन छ
विश्वमा बढिरहेको नसर्ने रोगमध्येको प्रमुख क्यान्सरबाट विश्वमा १३ प्रतिशत बढी मृत्यृ हुन्छ भने दक्षिण एसियामा १३ लाख र नेपालमा १५ देखि २० हजारको मृत्यु हुन्छ । एक जटिल जनस्वास्थ्य समस्याका रूपमा देखापरेको क्यान्सरबाट ७० प्रतिशत अर्थात् मृत्युको तेस्रो कारक विकासशील तथा कम आय भएका देशहरूमा र विकसित देशमा मृत्युको दोस्रो कारकका रूपमा रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा हुने हरेक छ । मृत्यु क्यान्सरको कारणले हुन्छ ।
नेपालमा हरसमयमा १ लाख बढी क्यान्सर पीडित छन्, वार्षिक ४० हजार बिरामी थपिन्छन् । यसमा आधाभन्दा बढी महिला पर्दछन् । नेपालमा प्रत्येक दुई घर बिराएर तथा हरेक १० जनामा एक जना क्यान्सर रोगी हुन सक्ने अनुमान छ । भयावहतालाई मध्यनजर गर्दै सचेतना जगाउन हरेक वर्ष विश्व क्यान्सर दिवस, स्तन क्यान्सर सप्ताह तथा जनचेतना महिना पनि मनाइन्छ तर संख्यामा कमी आउन सकेको छैन ।
७५ हजार बढी क्यान्सरका रोगी हरसमयमा नेपालमा भएको अनुमान छ । एकातिर यस्तो भयावह स्थिति छ भने अर्कोतिर क्यान्सर बनाउन सक्ने कारण विगत १० वर्षमा १५ सय गुणाले उत्पादन तथा प्रचारप्रसारमा वृद्धि भएको तथ्यांकले हामी स्वास्थ्यप्रति सचेत जनता र राष्ट्रलाई नै चिन्तित बनाएको छ ।
विश्वमा हरेक आठ महिलामध्ये एक महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको छ
स्तन क्यान्सर
विश्वमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी हरेक आठ महिलामध्ये एक महिला र हरेक १३ मिनेटमा १ जनाको मृत्युवरण गराउने स्तन क्यान्सर हो । स्तन क्यान्सरमा १ प्रतिशत पुरुषमा पाइन्छ । विकसित देशमा आठ महिलामा एक तथा एसियाली महिलामा हरेक २२ मा १ जनामा स्तन क्यान्सर पत्ता लाग्ने गरेको छ । नेपालमा ७ हजार बढीमा स्तन क्यान्सर छ ।
के हो त स्तन क्यान्सर ?
स्तनमा भएका कोष–कोषिकाहरूमा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तनक्यान्सर भनिन्छ । आजको वर्तमान विश्वमा सबैभन्दा बढी अनुसन्धान भइराखेको क्यान्सर पनि स्तन क्यान्सर नै हो । स्तन क्यान्सर फैलनु तथा ढिलो निदान हुनुमा महिला बढी पीडित हुने तर जाँच गर्ने पुरुष डाक्टर हुने भएकाले महिला लजाएर घरमै बस्दा, उपचार नगराउँदा क्यान्सर नै बन्ने, क्यान्सर झन् फैलने र मृत्यु हुने मौका रहन्छ । त्यसैमा विगत दुई वर्षदेखिको कोभिड महामारीले निदान र उपचार पहुँचमा कमी आएको छ ।
लक्षण तथा चिह्नहरू
महिलाको दुवै स्तन समान नभई आकार, लेबल र बनोटमा फरक देखा पर्नु, स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने लाम्चो आकारको गिर्खा आउनु, स्तन सुन्निएर कडा भई दुख्न थाल्नु र स्तनको मुन्टाबाट रगत, पिप अथवा फोहोर पदार्थ आउनु र ब्रा भिजिरहेका हुनु स्तन क्यान्सरको लक्षण हुन सक्छ । त्यस्तै स्तनको मुन्टा सिधा बाहिरपट्टि नफर्की दायाँबायाँ बा घुमेर भित्रपट्टि फर्कनु, स्तनको छालामा रंग अथवा नरमपनामा केही परिवर्तन साह्रो देखा पर्नु, मुन्टो सुन्तलाको बोक्राको जस्तो प्वालप्वाल पर्नु, स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु, स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखापर्नु पनि स्तन क्यान्सरको लक्षण हो ।
उपरोक्त लक्षण तथा चिह्न ढिलो भएको खण्डमा स्तनमा सानातिना दाना देखापरी पछि घाउ नै बन्न जान्छन् । समयमै उपचार नभए हड्डी, कलेजो, डिम्बासय, स्नायुप्रणाली र फोक्सोमा समेत क्यान्सर फैलिई त्यसको पनि क्यान्सर हुन सक्छ ।
जोखिम तथा सम्भाव्य तत्वहरूमा प्रौढ महिला, आमा, सानीआमा, दिदीबहिनी, आमापट्टिको हजुरआमा वा छोरीजस्ता पारिवारिक स्तन क्यान्सरको इतिहास, चाँडै महिनावारी सुरु हुने तथा ढिलो महिनावारी सुक्ने महिला, विवाह नगरेका महिला तथा विवाह त गरेका तर बच्चा नै नपाएका वा जन्माउने क्षमता नभएका पर्छन् । त्यस्तै ३० वर्षभन्दा पछि पहिलो बच्चा जन्माएका, बच्चालाई स्तनपान नगराउने महिला, धेरै वर्षसम्म परिवार नियोजनको चक्की, गर्भ तुहिने औषधि, डिइस तथा विभिन्न हर्मोनको उपयोग, सानो उमेरमा अनावश्यक विकिरणको प्रयोग धेरै गरेका, अत्यधिक बोसो भएको खाद्य पदार्थको सेवन गर्ने पनि स्तन क्यान्सरको जोखिममा पर्छन् । नियमित रक्सी तथा चुरोटको सेवन गर्ने, व्यायाम नगर्ने तथा ज्यादै मोटी मधुमेही, स्तनमा पहिलेदेखि नै गाँठागुठी वा पुराना समस्या भएका र पहिला एउटा स्तनमा क्यान्सर भइसकेका व्यक्तिमा स्तन क्यान्सरको जोखिम रहन्छ ।
तर १५ देखि २५ वर्ष उमेरका महिलाको स्तनमा हुने नदुख्ने गाँठो खासमा स्तनको मुसा भनिने फाइब्रोएडिनोमा हो । जसमा ९० प्रतिशतमा क्यान्सरको जोखिम हँुदैन र निको पार्ने कुनै औषधि पनि छैन । औंलाले परीक्षण गर्दा चिप्लिएर एक ठाउँबाट अर्काे ठाउँमा सर्छ ।
नियमित स्वास्थ्य परीक्षण
स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको पन्जा लगाएको हातबाट स्तनको नियमित परीक्षण गराउनुपर्छ ’cause १ सेमिभन्दा सानो ट्युर आफ्नो हातले छामेर पत्ता लाग्दैन । २० देखि ४० वर्षकाले हरेक तीन वर्षमा र ४० वर्ष माथिकाले हरेक एक वर्षमा विशेषज्ञसँग स्तन परीक्षण गराउनुपर्छ ।
म्यामोग्राफी परीक्षण
म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण हो । परीक्षणबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष उमेर पुगिसकेकाले मेमोग्राफी दुई वर्षमा एकपटक गराउनुपर्छ । म्यामोग्राफीले ८५ प्रतिशत र ५ मिलिमिटर अर्थात् चामलको दानाजत्रो ट्युमर पत्ता लगाउँछ । जसमा स्तन जोगाउन सकिने र बिनाकेमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन्छ । त्यस्तै, आफ्नो स्तनको आफैंले परीक्षण, स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्ला छन् कि छैनन् भनी थाहा पाउन महिलाले स्तनको आफैंले परीक्षण गरी पत्ता लगाउन सक्छन् ।
निदान
स्तनमा भएका गिर्खाको कोष–कोषिका मसिनो सुईले झिकेर—एफएनएसी, प्रयोगशालामा अध्ययन गरी क्यान्सर निदान गर्न यो परीक्षण गरिन्छ । स्तनको प्रभावित भागबाट सानो मासुको टुक्रा निकाली प्रयोगशालामा परीक्षण वायोप्सी गरी स्तन क्यान्सरको निदान गरिन्छ ।
उपचार
बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा विभिन्न उपचार विधि प्रयोग गरिन्छ । सुरुकै अवस्थामा पत्ता लाग्यो र उपचार गरियो भने ९० प्रतिशत निर्मूल वा क्यान्सरको खतराबाट मुक्त हुन्छन् । पहिलो, दोस्रो र तेस्रो अवस्थाको स्तन क्यान्सरको उपचार लक्ष्य क्यान्सर निको पार्ने र दोहोरिन नदिने हुन्छ भने चौथो अवस्थाको स्तन क्यान्सरमा उपचारको लक्ष्य लाक्षणिक र आयु लम्ब्याउने खालको हुन्छ । आत्मबल र इच्छाशक्ति भए स्तन क्यान्सरबाट पनि मुक्त हुन सकिन्छ ।
रोकथाम
रोकथामका सामान्य उपायहरूमा बोसोयुक्त खानेकुरा नखाने, मद्यपान र सुर्ती सेवन नगर्ने, मोटोपन घटाउने, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी, रेसादार खाना खाने, सधैं शारीरिक रूपमा तन्दुरुस्त रहने, इस्ट्रोजन हर्मोन, कीटनाशक औषधि ज्यादा प्रयोग नगर्ने, पारिवारिक आनुवंशिक इतिहास भएकाले नियमित मेमोग्राफी, उच्च सतर्कता अपनाउने र स्तन क्यान्सर’bout चेतनामूलक जानकारी उपलब्ध गर्ने गराउने गर्न जरुरी हुन्छ ।
अन्तमा, स्तन क्यान्सर भएका महिलाहरूको संख्या बढ्दै छ र अहिले पनि प्रायः महिला स्तन वा काखीमा गाँठो देखापरेपछि मात्रै चिकित्सकसँग परामर्श वा उपचारका लागि आउने भएकाले क्यान्सरबाट हुने जटिलता र मृत्युदर पनि बढ्दो छ । तसर्थ, रोकथाम गर्न खानपान, जीवनशैलीमा सजग होऔं र सुरुकै अवस्थामा पत्ता लगाउन स्वयं स्तन परीक्षण, नियमित स्वास्थ्य परीक्षण र म्यामोग्राफी गर्न जागरुक होऔं ।






