जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग बन्द गराउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने पोर्ताहामा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बीच झडप भएको छ । सो क्रममा एक जना प्रहरी सहित ५ जना जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् । जनमत पार्टीका कार्यकर्तामाथी प्रहरीले गोली चलाएको छ ।

घाईते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा गोली लागेकाले दुबै जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाईतेलाई उपचारका लागि नजिकै रहेको वीरेन्द्रबजार स्वास्थ्य चौकीमा लगिएको थियो जहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । अहिले स्थिति सामान्य रहेको उनले जानकारी दिए ।






