काठमाडौं । सरकारले सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउदै आएको टुटल पठाओलाई कार्वाही गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
ट्याक्सी व्यवसायीले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार यातायात व्यवस्था विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती सूचना जारी गरेको हो ।
टुटल र पठाओ नाम उल्लेख नगरे पनि कार्वाहीको दायरामा टुटल र पठाओ नै पर्ने निश्चित छ । कानुन त टुटल र पठाओले निजी सवारी साधन मोटरसाइकलमा यात्रु बोक्ने काम गरेका छन् ।
प्रधानमन्त्री ओलीको आदेशमा रोकिएको थियो
२०७५ माघमा विभागले यस्तै शैलिमा टुटल र पठाओलाई कारवाही गर्ने योजना स्वरुप ट्राफिक प्रहरी मार्फत टुटल चालकलाई कार्वाही समेत सुरु गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । यातायात मन्त्री बसन्त नेम्वाङले पनि टुटल र पठाओलाई नरोक्न निर्देशन दिएका थिए ।
टुटल किन भयो लोकप्रिय ?
सार्वजनिक सावारी व्यवस्थित नहुँदा छिटो गन्तब्यमा पुग्नका लागि सर्वसाधारण ट्याक्सि प्रयोग गर्छन् । सामान्यतया ट्याक्सिमा यात्रा गर्नेहरुले यात्रा गरिसकेपछि मिटरमा उठेजति भाडा तिर्नुपर्ने हुन्छ । तर, काठमाडौंमा मिटर चलाएर हिँड्ने ट्याक्सिको संख्या असाध्यै न्युन त ।
प्राय ट्याक्सिले मिटरमा जान नमान्ने र ट्याक्सि बाहेक अन्य विकल्प नभएको वेला टुटलले सेवा सुरु गरेको थियो । टुटल र पठाओमा यात्रा गर्नेहरु यसकारण पनि खुसी छन् भाडाको विषयमा कहिल्यै कसैसंग बार्गेनिङ गर्नु पर्दैन ।






