धनगढी । नेकपा एमाले कैलालीको अधिबेशनमा अध्यक्ष केपी शर्मा ओली समूह बिभाजित भएको छ । नेकपा एमालेका सुदूर पश्चिम ईञ्चार्ज लेखराज भट्ट र सह ईञ्चार्ज कर्ण थापा अध्यक्षका उम्मेदवार रतन थापाका पक्षमा देखिएका छन् । नेकपा एमालेका नेता भीम रावल पक्षधरहरुले भने अध्यक्षका अर्का उम्मेदवार रणबहादुर चन्दलाई समर्थन गरेका छन् ।
रोचक कुरा त के भने भीम रावलको चर्को बिरोधीका रुपमा चिनिने डेजी पाण्डेयलाई समेत रावल पक्षधरहरुले साथ दिएका छन् । रतन थापा बिरुद्धको मोर्चामा भीम रावल पक्षधर प्रतिनिधि सभा सदस्य झपट रावल र केपी ओली पक्षधर नारद मुनी राना र केन्द्रीय सदस्य लिला भण्डारी, कमला वली, दीपक देवकोटा एकै ठाउँमा उभिएका छन् । केन्द्रीय सदस्य रानाले आफूहरु केपी ओलीको भावना अनुसार रतन थापाको अराजकता बिरुद्ध उभिएको बताए ।
अध्यक्षसहित १५० पदका लागि ३२९ जना चुनावी मैदानमा
ईञ्चार्ज भट्ट पक्षधहरुले अध्यक्ष केपी शर्मा ओलीको नीति र नेतृत्व बिरुद्ध भीम रावल पक्षधरहरुले चन्दलाई अघि सारेको आरोप लगाएका छन् । हामी केपी ओलीको नीति र नेतृत्वको रक्षाका लागि प्रतिबद्ध छौ, रानाले भने, हामी केपी ओलीको बिपक्षमा नभएर रतन थापाका बिपक्षमा उभिएका हौ ।
केपी ओली पक्षधरहरुबीच बर्चस्व लडाई भईरहदा पूर्व एमालेहरुले पूर्व एमालेहरु एक ठाउँमा उभिनु पर्ने भन्दै आईतवार अधिबेशन स्थलमा नारावाजी समेत गरेका थिए । उनीहरुको मनशाय माओवादीलाई एक्ल्याउनु पर्ने थियो । सोही क्रममा मतदान प्रकृया तत्काल शुरु गर्नुपर्ने माग राख्दै आईतवार अधिबेशनस्थलमा बिरोध प्रदर्शनमा उत्रिएका चन्द पक्षधहरुले थापाका बिरुद्ध समेत नारावाजी गरेका थिए ।
५९० मत खस्याे
यसैबीच लामो रस्साकसी पछि सोमबार नयाँ नेतृत्वका लागि मतदान भएको छ । छ सय १० प्रतिनिधि रहेकोमा ५९० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । सोमबारै मतपेटीका जिल्ला पार्टी कार्यालयमा सुरक्षित राखिएको र आज मंगलबार बिहानदेखि मतगणना गरिने बताइएको छ ।
अध्यक्ष सहित १५० पदका लागि ३ सय २९ जना चुनावी मैदानीमा उत्रेका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचिवमा दानबहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुल्ला तर्फ १२ महिना निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ । ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५÷५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।
दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ । १ पदमा महिला निर्विरोध भएका छन् ।
मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन् । दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ । अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ ।