भक्तपुर । विप्लव समर्थित नेकपालाई प्रतिवन्ध लगाएको एक वर्ष पुरा भएको दिन नै पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराइएको छ । मध्यपुरठिमी नगरपालिका वडा नम्वर १ मनोहरा नजिक रहेको बाँस्कोटाको घरमा बुधबार बिहान आठ बजे एक्कासी ठुलो आवाजका साथमा विस्फोट भएको थियो ।
बास्कोटाको बन्दै गरेको घरमा ठुलो आवाजका साथ विस्फोट भएपस्चात उनको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । साथै छर छिमेकका घरका सिसा समेत फुटेका थिए । बालकोटमा अवस्थित प्रधानमन्त्रीको घरमा बस्दै आएका बास्कोटाको बन्दै गरेको घरलाई लक्षित गर्दै विप्लव समूहले विस्फोट गराएपछि मनोहराबासी त्रसित भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएको विषयलाई लिदै कुकर बम विस्फोट गराएको विप्लव समूहले पर्चा मार्फत जनाएको छ ।
विस्फोटमा संलग्न एक जना पक्राउ
पूर्व सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाको घरमा विस्फोट गराएको शंकामा प्रहरीले एक जना पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले हाल सम्म विस्फोटमा संलग्न रहेको आशंकामा प्रतिबन्धित नेकपा समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेको जानकरी दिएका छन् ।
उनलाई बम विष्फोट भएको नजिकै ठाउँबाट पक्राउ गरेको प्रधानले जानकारी दिएका छन् ।
गुरुङ यसअघि विभिन्न विष्फोटक घटनामा संलग्न रहेको प्रहरीको दावी छ । प्रक्राउ परेका गुरुङ’bout छानबिन भइरहेको प्रहरीले बताएको छ ।उनका अनुसार विस्फोट भएको स्थानमा फेला परेका सामग्रीहरुबाट उक्त विस्फोट रिमोट बाट गराएको हुन् सक्ने जानकारी दिएका छन् ।
सरकारको प्रवत्ता हुँदा पदको दुरुपयोग भन्दै कारवाही : विप्लव समूह
मनोहरामा बन्दै गरेको पूर्व सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको घरमा विस्फोट गराउनुको मुख्य कारण उनले पदको दुरुपयोग गरेको विप्लप समूहले आरोप लगाएको छ । घटनास्थलमा बिप्लव समूहको पर्चामा उक्त कुरा उल्लेख भएको थियो । घटनास्थलमा भेटिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले करबाही किन नगर्ने भनि उल्लेख गरिएको छ । पर्चामा दशवटा बुँदा समेटिएका छन् ।
विप्लव समूहले बाँस्कोटाले सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गर्दै उनलाई कारवाही गरिएको जनाईएको छ साथै, नेकपा विप्लप समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बाँस्कोटा बनेको भन्दै विष्फोट गराएको जनाएको छ ।
साथै उक्त पर्चामा आफ्नो औकात भुलेर कान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँडेखालको दादागिरी मच्चाएकाले किन कारवाही नगर्ने भनिएको छ ।
बास्कोटाविरुद्ध लगाएका १० आरोप यस्ता छन्
सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा (७० करोड) घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले ।
१९ अर्बको फोर(जी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले।
१० अर्बको अप्टिकल फाइवर विस्तारमा करोडौँ कुम्लाएर देशलाई कंगाल बनाउने भूमिका खेलेकाले ।
मोवाइल डिभाइस् र स्कुलमा इन्टरनेट सेवा(सुविधाको नाममा करोडौं हिनामिना गरेकाले ।
सरकारको प्रवत्ता पदको दुरुपयोग गरी देशभरको ठुला परियोजनाबाट अरबौं घोटाला गरेकाले ।
नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फाँसिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयवल्सशैलीमा निक्रिष्ट, उदण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले
आफ्नो औकात भुलेर कान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँडेखालको दादागिरी मच्चाएकाले।
देशलाई अहिलेको जर्जर र संकटग्रस्त अवस्थामा र्पुयाउने नामुद दलाल भ्रष्ट मध्ये एक भएकाले भन्दै आफूहरुले विस्फोट गराएको पर्चा मार्फत उनीहरुले बताएका छन् ।
भक्तपुरमा सुरक्षा चुनौती बढ्यो
भक्तपुर सानो जिल्ला भएसँगै भक्तपुरमा पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, तथा विभिन्न सरकारी पदमा रहेका कर्मचारी एवं विभिन्न पार्टीका राजनीतिज्ञहरुको बासस्थान हो । भक्तपुरमा हालै मात्र राजिनामा दिएर बसेका पूर्व सूचना तथा संचार मन्त्रीको घरमा विस्फोट भए सँगै भक्तपुरको सुरक्षा चुनौती बढेको देखिन्छ ।
विभिन्न पार्टीका दर्जन भन्दा बढि प्रतिनिधिसभा सदस्य एवं प्रदेश सभा सदस्यहरुको समेत बासस्थान रहेको भक्तपुरमा बाहलाबाला प्रतिनिधिसभा सदस्य एवं पूर्व सरकारका प्रवत्ताको घरमा समेत विस्फोट हुनुले स्थानीय भने त्रसित भएका छन् ।
भक्तपुरमा प्रतिवन्धित विप्लप समूहको सक्रियता बढे सँगै यहाँको सुरक्षा चुनौती पनि बढेको हो । विप्लव समूहले यो भन्दा पहिला किर्ते गरि जग्गा हडपेको भन्दै दुवाकोटमा जग्गा कव्जा नै गरेको थियो ।
अनुसन्धानमै छौं प्रहरी
गोकुल बास्कोटाको घरमा भएको विस्फोटमा संलग्न एक जना पक्राउ गरेको जनाउँदै प्रहरीले भने आफूहरु अनुसन्धानको नै प्रक्रियामा रहेको जानकारी दिएको छ ।









