काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि अध्यागमन विभागले अति आवश्यक काम नपरी विदेश भ्रमणममा नजान सचेत गराएको छ । विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै अति आवश्यकीय कामबाहेकमा कोरोनाको नयाँ भेरियन्टको जोखिम भएका मुलुकमा नजान भनेको हो ।
‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ,’ विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी ट्राभल एडभाइजरीमा भनिएको छ ।
नेपाल सरकारले ओमिक्रोनको संक्रमण सुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाउँदै आइरहेको छ ।
ती मुलुकबाहेकबाट आउने विदेशी नागरिक ९गैरआवासीय नेपालीसमेत०ले विदेशबाट ८ असोजमा जारी भएको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ का प्रावधानका आधारमा मात्रै नेपाल प्रवेश पाउनेछन् ।
त्यसका लागि खोपको मात्रा पूरा गरेको र पीसीआर नेगेटिभ भएको हुनुपर्नेछ भने त्यस्ता कागजात पुगेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा सुविधासहित प्रवेश अनुमति पाउँछन् ।
यसैगरी, नेपाली नागरिकका हकमा भने पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएका नेपाली नागरिक, कूटनीतिक वा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने विभागले भनेको छ ।
तर, पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकले नेपाल प्रवेश बिन्दुमा एन्टिजेट अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाइनेछ । परीक्षण रिर्पोट नेगेटिभ आएकालाई भने १० दिन घरमै क्वारेन्टिन बस्नेगरी प्रवेशको अनुमति दिइने विभागले सूचनामा भनेको छ ।
यसैगरी, खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्टवाहक वा आवासीय भिसा पाएका विदेशीले नेपाल प्रवेश बिन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेजारीमा होम आइसोलेसनमा पठाइनेछ । नेगेटिभ आएकालाई भने होम क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिइने सूचनामा उल्लेख छ ।