कोरोना संक्रमण दर तीब्र बन्दै, युवाहरू सबैभन्दा बढी प्रभावित


धनगढी । पछिल्ला केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर दिनप्रतिदिन तीब्र बन्दै गएको छ । नौ दिनअघिसम्म न्युन संक्रमण दर रहेकोमा त्यसपछिका दिनमा निरन्तर बृद्धि भइरहेको तथ्यांकहरूले देखाएको छ ।

प्रदेशमा युवाहरूमा सबैभन्दा बढी संक्रमण दर रहेको देखिएको छ । प्रदेशमा कोरोना संक्रमणको कुल संख्यामा २० देखि ३९ वर्ष उमेर समुहमा संक्रमण दर ५६ प्रतिशत रहेको छ ।

बुधबार प्रदेशमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार एक हजार ६०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १९१ जनामा पुष्टि भएको छ भने पीसीआर विधिबाट १२७ जनाको परीक्षण गरिएकोमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमणमा मात्रै बृद्धि आएको छैन, संक्रमण दरमा पनि ह्वात्तै बृद्धि भइरहेको छ । प्रदेशमा बुधबार कोरोना संक्रमण दर करिब १५ प्रतिशत पुगेको छ । मंगलबार संक्रमण दर ११ प्रतिशत रहेको थियो । नौ दिनअघिसम्म प्रदेशमा संक्रमण दर दुईतीन प्रतिशत मात्रै रहेकोमा त्यसपछिका दिनमा तीब्र बनेको थियो ।

प्रदेशमा पछिल्लो नौ दिनको अवधिमा संक्रमितको संख्या एक हजार २०३ पुगिसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको अभिलेख अनुसार यो अवधिमा प्रदेशभरी एन्टिजेन विधिबाट १२ हजार ६०३ जनाको स्वाब परीक्षण गरिएकोमा ९४५ जनामा पुष्टि भएको छ । त्यस्तै, पीसीआर विधिबाट ७५८ जनाको परीक्षण गरिएकोमा २५८ जनामा संक्रमण पुष्टि भएको छ ।

यससंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरूको संख्या ४९ हजार ४७६ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट सबैभन्दा बढी २० देखि ३९ वर्ष उमेर समुहका व्यक्ति प्रभावित भएको देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको अभिलेख अनुसार प्रदेशमा संक्रमितमध्ये २० देखि ३९ वर्ष उमेर समुहको संख्या ५६ प्रतिशत रहेको छ ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ३८ हजार ५७३ जनामा २० देखि ३० वर्ष उमेर समुहका संक्रमितको संख्या २१ हजार ७८८ रहेको छ । सो संख्यामा २० देखि २९ वर्ष उमेर समुहका संक्रमितको संख्या ११ हजार ९६२ (३१ प्रतिशत) रहेको छ ।
त्यस्तै, ३० देखि ३९ वर्ष समुहका संक्रमितको संख्या ९८२६ (२५.४७ प्रतिशत) रहेको छ । त्यस्तै, ४० देखि ४९ वर्ष उमेर समुहका संक्रमितको संख्या १४.८५ प्रतिशत (पाँच हजार ७२९) रहेको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा कोरोना संक्रमितमध्ये ५० देखि ५९ वर्ष उमेर समुहका संक्रमितको संख्या तीन हजार ५६० (९.२३ प्रतिशत) र १० देखि १९ वर्ष उमेर समुहका संक्रमितको संख्या तीन हजार ३७६ (८.७५ प्रतिशत) रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र १९१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

बुधबार एक हजार ७३५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका १६८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ६१, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०४ झुलाघाट नाकाबाट फर्केका एक जना र पुलघाट नाका दार्चुलामा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ । प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले संक्रमण समुदायमा फैलिने खतरा बढेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम