काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारण सभाले अधिकृत पुँजी १ अर्ब पु-याउने प्रस्ताव पारित गरेको छ ।
सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँँको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि पुँजी ५६ करोड ७६ लाख रुपैयाँँ पुग्ने छ । बोनस सेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले पुजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचअन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न बढाइएको पुँजी प्रयोग गर्नेछ ।
कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरूको कारोवार शुल्क अत्यधिक रूपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको ४ महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
त्यसैगरी, कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढि हो । बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरू निर्विरोध चयन गरेको छ ।
विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ सञ्चालक चयन भएका हुन् । सञ्चालक समितिमा ६ जना पुगेका छन् ।